काठमाडौँ– नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुषमा स्वराजबीच आज भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।
रायसिना संवादको चौथो संस्करणमा भागलिने सिलसिलामा भारत भ्रमणमा रहेका मन्त्री ज्ञवाली र उनका भारतीय समकक्षीबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविधि पक्षमा विचारविमर्श भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
‘दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सहयोगअन्तर्गत नेपालमा जारी विकास–निर्माणका आयोजनाको समीक्षा गर्नुका साथै ती परियोजनामा भएको प्रगतिप्रति सन्तुष्टि जनाएको उल्लेख छ। ‘ती आयोजना निर्धारित समयमा नै पूरा गर्न निर्वाधरुपमा गतिदिनुपर्नेमा जोड दिइएको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले हालै दुवै देशबाट उच्चस्तरमा भएका भ्रमणको स्मरण गर्दै समानता, पारस्परिक विश्वास, सम्मान र आपसी लाभमा आधारित शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई अझ मजबुत तुल्याएकामा त्यसको प्रशंसा गरेका छन्।
भारतको बाह्य मामिला मन्त्रालयको सहकार्यमा अब्जबर रिसर्च फाउण्डेशनले रायसिना संवादको चौथो संस्करण आयोजना गरेको हो । मन्त्री ज्ञवाली उक्त संवादमा मुख्य वक्ताका रुपमा सहभागी हुन आज बिहान नयाँदिल्ली गएका थिए। रासस
प्रकाशित: २६ पुस २०७५ १२:३२ बिहीबार