रोल्पा- थवाङ १ दुलिडाँडाका ३४ वर्षीय उमेश बुढा कालामगर चारैतिर युद्धको राप दन्किरहँदा मुक्तिकालागि भन्दै २०५८ सालमा त्यतै होमिए। १० कक्षा पढ्दै गरेका कालामगर राजनीतिक परिवारको सदस्य भएकै कारण १६ बर्षको उमेरमा माओवादी सेनामा पसेका थिए। बाल संगठन, विद्यार्थी संगठनका विभिन्न जिम्मेवारीमा रहे पनि २०५८ चैतमा भूमिगत भए। भूमिगत भएसंगै आन्तरीक रुपमा विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी तालिम लिए पछि उनि माओवादी लडाकुका 'डाक्टर' बने।
दर्जनौ साना ठूला भिडन्तमा प्रत्यक्ष होमिएका उनले शान्ति प्रकृया पछि भने यात्राको गोरेटो फेरे। ‘शान्ति प्रकृयाको केहि समय पछि २०६५ सालमा एसएलसी गरे। त्यसपछि प्लस टु सकाए। एक छोरा र एक छोरीका पिता उनि भन्छन ‘जीवन कस्टकर हुदै गएपछि रेडियोग्राफी पढे। कोर्ष सकिएकै साल लोकसेवा आयोग दिएको नाम निस्कियो।’ जिल्ला अस्पताल रोल्पामा रेडियोग्राफरका रुपमा रहेका उमेशसंग बिगत भुलेर अगाडि बढ्नुको बिकल्प छैन। युद्धताका प्लाटुन कमाण्डर हुँदै पार्टीको जिल्ला सदस्यसम्म पुगेका उनि बाँकी जीवन स्वास्थ्य सेवाबाटै स्थानीयलाई सहयोग गर्ने पक्षमा छन्।
अनमिनको लडाकु प्रमाणिकरणका समयमा पार्टीले वाईसिएलको जिम्मेवारीमा राखेका कारण अरुले पाए जस्तै स्वच्छिक अबकासको रकम नपाएका उनि अझै पनि जनताको ब्यबस्था नआएको निष्कर्शमा छन्। ‘राजनीतिले परिवर्तन नगर्ने निश्चित जस्तै देखियो। अनि जागिर सुरु नगरि नहुने भयो। भविष्यको चिन्ताले राजनीति छाडेर यता लागीयो,’ उनले भने। विगतले पटक पटक झस्काउने गरेको बताउने कालामगर पुराना कथा स्मरणमा ताजै रहेको बताउँछन्। ‘लडाईमा लाश छाडेर त धेरै पटक हिडियो तर कहिले काँहि घाईतेलाई नै छाडेर हिड्नुपर्दाको पीडाले आज पनि नमिठो लाग्छ। असफल भिडन्तमा त्यसो हुने गर्दथ्यो,' उनी भन्छन्।
सानै उमेरमा बम बारुदसँगै हुर्केका कालामगर आफ्नै जीवनसंग अचम्मीत छन्। ‘कुनै बेला उदयपुरबाट थवाङ ४६ दिनसम्म हिडेर पुगिएको थियो। जीवन सुख दु:खको संगम हो। तर सुखले जीवन छोए पनि दु:ख यादमा बसिरहदो रैछ,’ विगत सम्झन्छन् उनी। माओवादी सेना बनेर हिडिरहदा स्वास्थ्य बिभागको जिम्मेवारी पाए पछि बिभिन्न प्रकृतीका उपचार गरेका उनि भन्छन ‘अहिले सम्झना गर्दा अचम्म लाग्छ। गर्नै नसकिने र गर्ने नमिल्ने काम पनि गरिएछ। जबरजस्त धेरैका हात खुट्ट काटेर फालियो। नकाटौं उ निस्चित मर्छ बरु काटेमा बाँच्छ कि भन्ने आशले त्यसो गरिएको थियो। अहिले फर्केर हेर्दा कसरी गरियो होला भनेर अचम्म लाग्छ।’ उनि थप्छन ‘माथि हेलिकप्टरले हामीलाई खोज्ने तल जति सक्यो छिटो घाईतेलाई उपचार गर्नु पर्ने बाध्यता।’
पछिल्लो समय आफ्नो दिनचर्यासंग सन्तुष्ट उनि अभाबमा हुर्किएका कारण अरुको समस्यामा दुख्ने गरेको बताउँछन्। जुम्ला आक्रमण गर्न जाँदा १४ जना साथीहरुले हिउँमा परेर ज्यान गुमाएको पीडा र अहिले जीउँदै मर्नुको पीडा भोगिरहेका समकालीन लडाकुको जीवनस्तर संग नजिक रहेका उनको मनमा पीडा छ। ‘हाम्रै साथीहरु कोहि विदेशमा दु:ख गरिरहेका छन्। कोहि गाउँमा जाँड खाएर मस्त छन्। आज पनि कतिपय साथीहरु गोली र छर्रा शरिरमा बोकेर एक्सरे गर्न आउँछन्। नमिठो लाग्छ’, जिल्ला अस्पतालको एक्सरे फाँटमा नियमित भेटिने उनि भन्छन् ‘यतिबेला मेरो जीवन र दैनिकीसंग सन्तुष्ट छु। फरक हिसाबले भएपनि जिल्लाबासीको सेवा गरिरहेको छु। हिजोका सपना सम्झिदा सन्तोष लाग्दैन पीडा हुन्छ तर बर्तमान ठिकै छ।'
उमेश कालामगर जस्तै सँयौ लडाकु रहेको रोल्पामा केहिले आफ्नै पौरखले जीवन निर्बाह गरिरहेका छन्। १४ बर्षको उमेरमा परिवर्तनको लालसा बोकेर बन्दुक बोकेकी ३१ वर्षिया खुमा पुन 'यात्री' यतिबेला ब्यबसायी बनेकी छिन्। ९ कक्षामा पढ्दा पढ्दै भूमिगत भएकी उनि २०५८ सालमा बिधिबत माओवादी लडाकु बनेकी थिईन। २०६२ सालमा रोल्पा कोटगाउँ भिडन्तमा ढाडमा गोली लागेकी खुमा भाग्यले बाँचिन्। ‘उहिले लागेको गालीले आज पनि सताउँछ। गोली लागेको ठाउँमा गर्मीमा पोल्छ जाडोमा दुख्छ,’ आफ्नो पीडा भन्छिन्।
ठूला साना दर्जनौ भिडन्तमा लडेकी खुमासंग आज पनि झस्काउने धेरै घटना ताजै छन्। तर पनि उनको कसैसंग केहि गुनासो छैन। 'सचेतता पूर्वक लडियो र आज देश यो अबस्थामा आएको छ। गाउँमा अधिकार सहितको सरकार छ। जनताले राहत पाएका छन्,’ उनको भनाई छ।
सदरमुकाम नजिकै होटल र किराना ब्यापारी उनका श्रीमान् बिक्रम घर्ती 'सन्दर्भ' पनि पूर्व लडाकु हुन्। शान्ति प्रकृया पछि लामो समय माओवादी प्रमाणिकरणका लागि पाँचौ डिभिजनमा बसेका उनिहरु स्वेच्छिक अवकासमा आउँदा पाएको रकमले ब्यबसाय सुरु गरेको बताउँछन्। जंकोट माडिचौरकी खुमासंग अपेक्षा पनि खासै केहि छैन। ‘कसैसंग केहि अपेक्षा पनि छैन। देशमा विकास होस्। नेताले जनगुनासो नआउने गरि काम गरुन,’ उनी देशबारे चिन्ता गर्छिन्।
कलमसँग पिरती गाँसेका पूर्वलडाकु
रोल्पा पाछावाङका नबिन लोचन मगर गाउने, बजाउने रहर गर्दा गर्दै २०५७ सालमा १४ वर्षकै उमेरमा तत्कालीन माओवादी जनयुद्धको कलाकार हुँदै सिपाही बने। लहै लहैमा कलाकार बन्ने सुरले जङ्गल छिरेका नवीन १ वर्ष पछि २०५८ सालमा जनसेनातिर छिरे। म्याग्दीको वेनी, अर्घाखाँचीको सन्धिखर्क, रुकुमको खारा आक्रमण तथा तानसेन (पाल्पा) घटनामा प्रत्यक्ष लडेका उनीसँग साना तिना दर्जनौ लडाइ लडेको अनुभव छ।
नवीनका लागि भिडन्तहरुमध्ये असाध्यै मन दुःखेको लडाइ हो खारा आक्रमण। खारामा तत्कालीन साही सेनाको व्यारेकमा बिहान उज्यालो हुँदासम्म लडेको उनको टोली सबैभन्दा अन्तिममा निस्केको थियो। ‘कति मरे कति त्यहाँ त। अहिले सम्झँदा पनि कहाली लाग्छ,’ उनले त्यो भिडन्तको याद गरे।
‘त्यो समय मान्छे मार्ने मर्ने कुराले खासै महत्व राख्दैनथ्यो। हामी आफैलाई गाड्ने गैटी, वेल्चा अनि आफ्नो घाइते शरीर बोक्न स्टेचर समेत बोकेर हिँड्थ्यौ। कति बेला के हुने हो थाहै हुँदैनथ्यो,’ लडाइको प्रकृति सुनाए उनले। उ बेलाका घटना अहिले त एकादेशको कथा जस्तो लाग्छ नवीनलाई। माओवादी नेतृत्वलाई ठाउँ ठाउँमा सुरक्षा दिएको। फुन्टिबाङ बैठकमा थवाङ मै लालीगुराँसको रुखमा पोष्ट बनाएर बसेका घटनाको झझल्को आइरहन्छ उनलाई।
इमान्दार र बफादार भएका कारण छोटै समयमा ‘कम्पनी कमाण्डर’ सम्म पुगेका नवीन पाँचौ डिभिजनमा आधा दशक बढि बसे। शान्ति स्थापना भएपछि एसएलसी हुँदै दश जोड दुई सकाएका उनी ‘भविष्यको टुङ्गो विनाको क्यानटोनमेन्ट वसाइ निरस भएको’ सुनाउँछन्। गीत गाउन जानेका। कविता लेख्न त झन् असाध्यै सिपालु छन्। नवीनले २०६९ सालदेखि स्थानीय सनस्टार साप्ताहिकमा ‘कार्यकारी सम्पादक’को भूमिका निभाइ रहेका छन्। स्थानीय रुपमा ‘स्तरीय पत्रिका’मा परिचित सनस्टार साप्ताहिक बाहेक नयाँ पत्रिकामा समेत लेख्छन्।
स्थानीय साहित्यिक संस्थाहरुमा समेत आवद्ध उनी पछिल्लो समय पत्रकारिताबाट जीवन जीउन कठिन भएको सुनाउँछन्। ‘तर पनि पेशामा सन्तुष्ट छु। युद्धका बेला बन्दुक महत्वपूर्ण लाग्थ्यो। पावरफुल देखिन्थ्यो। तर यथार्थतामा कलम नै महत्वपूर्ण रहेछ। अहिले त कलमसँग पिरति नै बस्यो,’ उनले भने।
प्रकाशित: २९ मंसिर २०७५ १२:१३ शनिबार