बीरगन्ज– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार दुई तिहाईको दम्भमा अधिनायकवाद लाद्न षडयन्त्रमा लागेको आरोप लगाएका छन्। यसका कारण लोकतन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै नेपालमा शिर उठाउन खोजिरहेको अधिनायकवादलाई रोक्न जरुरी रहेको उनले टिप्पणी गरे।
पर्साको दक्षिण पश्चिम सिमावर्ती गाउँ आसवारीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारको मुखियाले चाहेर पनि रोक्न नसक्ने गरी अहिले भ्रष्टाचार चरम सीमामा पुगेको बताए। चौतर्फी भ्रष्टाचार मौलाएको भन्दै उनले चिन्ता जनाए। ‘भ्रष्टाचार बढेको छ, जनता अहिले दोहोरो–तेहरो करको मार छन्। सरकारलाई जनताको समस्यासंग मतलब देखिएको छैन्’, नेता पौडेलले भने, ‘दुईतिहाइ भएर पनि सरकार अहिले असफल साबित भइसकेको छ।’
मधेस केन्द्रीत दलहरुले मधेशका जनतालाई धोका दिएको उनको आरोप छ। ‘मधेश आन्दोलन चलिरहँदा, सहिद हुनेलाई ५० लाख दिन्छौं भन्ने उपेन्द्र र राजेन्द्रहरु कहाँ छन्? मधेसका जनतासंग गरेको त्यो करार अहिले सतामा पुगेपछि बिर्सिन पाइँदैन’, उनले जोडे, ‘प्रदेशमा आफ्नै सरकार छ उनीहरुको केन्द्रमा साझेदार छन्, अब के ले रोकेको छ मधेसी जनतासंग गरेको वाचा पुरा गर्नलाई?’ लोकतन्त्रलाई जोगाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्ने काम काँग्रेसले मात्र गर्नसक्ने उनले दावी गरे।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रमेश रिजालले जनतालाई भ्रममा पारेर मधेस केन्द्रीत दल राजपा र फोरमले काँग्रेसलाई यहाँ क्षणिक रुपमा कमजोर बनाए पनि जनता अब असलियत हेरिसेकपछि त्यो अवस्था अन्त्य भएको बताए।
अर्का केन्द्रीय सदस्य अजय चौरसियाले लोकतन्त्रको रक्षा, समृद्धि र विकास काँग्रेसले मात्र दिनसक्ने प्रमाणित भइसकेको दाबी गरे। पछिल्लो निर्वाचनमा पर्सामा काँग्रेसको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीका जिल्ला सभापति दुई दिनअघि एक हप्ताका लागि स्वनिलम्बित भएका अजय द्विवेदीले सबैले आत्मसमिक्षा गर्न जरुरी रहेको बताए।
काँग्रेस नेता सुरेन्द्रप्रसाद चौधरीले ‘भेडा बोकाहरु जति ठुलो भए पनि दाई गर्नका लागि गोरु नै चाहिने’ भनी ब्यङ्ग गर्दै मधेश केन्द्रीत क्षेत्रीय दलले मधेसी जनताका मुद्दा समाधान गर्न नसक्ने र काँग्रेस यसको लागि सदैव तयार रहेको बताए। नेता जनार्दन सिंह क्षेत्री र बशिष्ठ नाराण कुर्मीले सभालाई सम्बोधन गरेका थिए। राजपाका जिल्ला सचिव धर्मेन्द्र पटेल, बिश्व हिन्दु परिषद नेपालका नेता पुरुषोत्तम दुबे लगायत पार्टी प्रवेश गरेका थिए।
प्रकाशित: ३० कार्तिक २०७५ ११:४६ शुक्रबार