२६ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कानुन मिचेर सडक कर असुली

लहान–भगवानपुर–ठाढी सडकअन्तर्गत ठाढीमा राखेको पटके कर संकलन केन्द्र। तस्बिर : मिथिलेश/नागरिक

ठाढी (सिरहा) - स्थानीय सरकारले आफैंले निर्माण गरेका सडकबाहेक अन्य सडकको कर लिन नपाउने व्यवस्था छ। तर भगवानपुर गाउँपालिकाले सडक विभागअन्तर्गत निर्माण भएको सडकमा समेत कर असुल्दै आएको पाइएको छ। लहान–भगवानपुर–ठाढी सडकअन्तर्गत ठाढीमा तगारो राखेर गाउँपालिकाले कर असुल्दै आएको छ। कर असुल्न गाउँपालिकाले दुईजना कर्मचारी नियुक्त गरेको छ। गाउँपालिकाले जगदीश यादव र देवशरण यादवलाई कर उठाउनकै लागि दैनिक ज्यालादारीमा नियुक्त गरेको गाउँपालिका अध्यक्ष बेचन यादवले बताए।

गत वर्ष जेठको दोस्रो साता गाउँ कार्यपालिकाको निर्णयअनुसार लहान–भगवानपुर–ठाढी सडकमा पटके कर उठाउन सुरु गरिएको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासले बताए। ‘कार्यपालिकाले गरेको निर्णय हामीले कार्यान्वयन गर्ने गराउने हो’, दासले भने, ‘यो सडक गाउँपालिकाको नभएको जानकारी हुँदाहुँदै कर्मचारी नियुक्त गरेर पटके कर उठाउने निर्णय भयो।’ त्यो बेला डेढ महिनाका लागि मात्र गाउँपालिकाले कर उठाउने सहमति भएको थियो। दासले भने, ‘असारबाट ठेक्का आह्वान गरेर कर उठाउने आन्तरिक सहमति भएको थियो। म सरुवा भएर गएपछि आएका प्रमुख प्रशासकीय अधिकृतलाई यसबारे अझ बढी थाहा होला’, उनले भने।

सिरहाको भगवानपुर गाउँपालिकाले सडक विभागअन्तर्गत निर्माण भएको सडकमा समेत कानुनविपरीत कर असुल्दै आएको छ।

भगवानपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार यादवले गाउँ कार्यपालिकाको निर्णयअनुसार कर उठाउँदै आएको जिकिर गरे । स्थानीय तहले निर्माण गरेको, मर्मत गर्दै आएको सडकमा कर उठाउन पाउने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले नै दिएको यादवले बताए । तर यसबाहेकको सडकमा कर उठाउन नमिल्ने उनले स्विकारे । ‘सडक विभागअन्तर्गतको सडकमा सवारी कर उठाउनु नियमले मिल्ने कुरा होइन’, उनले भने, ‘तर गाउँ कार्यपालिकाले गरेको निर्णयअनुसार यस सडकमा भइरहेको पटके कर संकलन काम कानुनी नभए पनि मैले रोक्न मिल्दैन । गाउँ कार्यपालिकाले गरेको निर्णय पुनः कार्यपालिकाबाटै अर्को निर्णय गरेर रोक्नुपर्छ।’

गाउँपालिका अध्यक्ष बेचन यादवले पनि यो सडकमा कर उठाउने काम गैरकानुनी भएको स्विकारे । उनले भने, ‘अब यहाँबाट कर उठाउने केन्द्र हटाइहाल्छौं । सडक विभाग मातहतको सडकमा कर उठाउनु गलत भयो ।’ जेठको दोस्रो सातादेखि यस सडकमा सवारी कर असुल्दै आएको उनले बताए।

निजी तथा भाडाका मिनीबस, बस, ट्रकको ५० रुपैयाँ, सिटी रिक्सा, टाँगाको १० रुपैयाँ, विदेशमा दर्ता सवारीसाधन मोटरकार, जिप भ्यान कारको २५ रुपैयाँ, ट्रक, लरी, बस ,कन्टेनर, डोजर आदिमा प्रतिपटक १ सय २५ रुपैयाँ कर निर्धारण गरिएको छ । २०७४ सालमा जिल्ला समन्वय समितिले लहान–भगवानपुर–ठाढी सडकमा पटके कर असुली ठेक्का लगाएको थियो।

यसअघि सडक विभागअन्तर्गतको यस सडकमा जिल्ला समन्वय समितिले ठेक्का लगाएपछि सिरहा इटहर्वा–७ का बसधनी विशेश्वरप्रसाद यादवले अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालत जनकपुर–राजविराज इजलासमा गैरकानुनी कर असुली रोकी पाऊँ भनेर यादवले दर्ता गराएर परमादेश माग गरेका थिए । इजलासले २०७४ वैशाख ३ गत्ते विपक्षीका नाममा निषेधाज्ञा परमादेश जारी गर्दै कर उठाउने कार्य नगर्न नगराउन आदेश जारी गरेको थियो।

प्रकाशित: २६ कार्तिक २०७५ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App