१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सर्लाही झडप घटना : छानविन समितिले सोधपुछ थाल्यो

बोहर्वा गाउँमा जम्मा भएका सुरक्षाकर्मी। तस्बिर : टंक क्षेत्री

सर्लाही- जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार दुईपक्षबीच झडपका क्रममा  गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता स्थानीय रामविलास महतोको मृत्यु भएको लगायत घटनाको अनुसन्धान तथा छानविन गर्न गठित केन्द्रीय टोलीले सम्बन्धित पक्षहरुसँग सोधपुछ सहित काम सूरु गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर कोइरालाको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले विहिबारबाट काम सूरु गरेको हो। ‘हाँमीले झडप भएको दिन बिहानैदेखि घटनास्थलमा खटिएका सुरक्षाकर्मीसँग सोधपुछ गरिरहेका छौं’, विहिबार दिउँसो नागरिकसँग समिति संयोजक एसएसपी कोइरालाले भने, ‘स्थानीयबासी, घटनाका पीडित, घाईते, सुरक्षा अधिकृत सहित सरोकारवाला सबैपक्षसँग भेटेर सोधपुछ गर्नेछौं।’

विहिबार बिहान सदरमुकाम मलंगवाबाट छानविन टोली घटनास्थल नजिकैको इलाका प्रहरी कार्यालय गढैया डुमरियामा पुगेर मुकाम खडा गरेको छ। सोही ईलाका प्रहरी कार्यालयमा कार्यरत एवं प्रहरी चौकी खैर्वाका सुरक्षाकर्मीहरुसँग सोधपुछ गर्ने काम भईरहेको समितिका संयोजक कोइरालाले जानकारी दिए। घटनास्थल हेर्ने, पीडित पक्षसँग भेटेर विस्तृतमा कुराकानी गर्ने, सुरक्षाकर्मी एव कर्मचारीसँग सोधपुछ गर्ने सहित अनुसन्धान र छानविनका विविध पाटाहरु केलाउनु पर्ने भएकाले काम सम्पन्न गर्न केही दिन लाग्ने कोइरालाले नागरिकसँग भने।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) निरन्जन भट्टको टोली पनि घटनाबारे सुक्ष्म अनुसन्धानका लागि जिल्ला आईसकेको छ।

गत सोमबार कार्यालय जाँदै गर्दा बाटोमा एक समूहको कुटपीटबाट रामनगर गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष रामनरेश महतो गम्भिर घाईते भएका छन्। खुट्टा भाँच्चिएको तथा टाउकोमा गहिरो चोट लागेका वडाअध्यक्षको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

त्यस्तै मंगलबार बिहानै वडाअध्यक्ष रामनरेशको गाउँ बोहर्बामा दुईपक्षबीच झडप हुँदा उनका काका रामविलास महतोको गोली लागि मृत्यु भएको थियो भने गोलीको छर्रा लागेर ७ जना घाईते भएका छन्। घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। वडाअध्यक्ष सहित घाईते एवं स्थानीयले भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता शिवपुजन रायको योजनामा सोही पार्टीका कार्यकर्ता बहुल रहेको समूहले सांघातिक आक्रमण गरेको दाबी गर्दै आएका छन्।

नेकपा नेता शिवपुजन रायले भने उक्त घटनामा  कुनै संलग्नता नरहेको र निराधार आरोप लगाईएको दाबी गरिरहेका छन् । स्थानीय प्रहरी प्रशासनले वडाअध्यक्षमाथि आक्रमण भएको ४ दिन वित्दा समेत दोषि घटनामा संलग्न दोषिलाई नियन्त्रणमा लिन सकेको छैन भने घटना के कारणले भएको थियो भन्ने समेत बताउन सकेको छैन।

प्रकाशित: १५ कार्तिक २०७५ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App