११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

पानी जहाजले समृद्धि आउँदैन : महामन्त्री कोइराला

स्याङ्जा– नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा पानी जहाज ल्याएर समृद्धि नआउने दाबी गरेका छन्। मंगलबार स्याङ्जाको चापाकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘पानी जहाज ल्याउने कुरा सपना हो। सपनासँग समृद्धि हुँदैन।’ पानी जहाजले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्याइरहेको उनले जिकिर गरे। पानी जहाज ल्याउन लाग्ने बजेटले समृद्ध नेपाल बनाउने खालका योजनामा खर्च गर्न उनले सुझाव दिए। ‘बरु रेलको सम्भावना होला’, उनले भने, ‘रेलले समृद्ध नेपाल बनाउन धेरै मद्दत पुग्नेछ।’ 

नेपालको जल, जंगल, जमिन र जवानीलाई भरपुर रुपमा उपयोग र प्रयोग गर्न सरकारलाई उनले सुझाव दिए। नेपालको समृद्धि पर्यटनबाट मात्र सम्भव रहेको दाबी गर्दै उनले भने, ‘चीन र भारतको शरणमा परेर समृद्धि आउँदैन। यहाँको सम्भावनाको पहिचान गरी संरक्षण, सम्वर्द्धन  र लगानी गर्नुपर्छ।’ तर, समृद्ध नेपालको भिजन र मिसन नेपाली काँग्रेससँग मात्र भएकोले वर्तमान सरकारले केही गर्न नसक्ने उनको भनाई छ। 

कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली काँग्रेसको भविष्य उज्जवल छ। एकढिक्का भएर अगाडि बढ्नुस्।’ अगामी निर्वाचनमा नेपाली काँग्रेस पहिलो शक्ति हुने दाबी गर्दै उनले आफूले काँग्रेसभित्र परिवर्तनको आँधीबेहरी ल्याउने बताए। ‘मलाई साथ दिनुस्,’ उनले थपे, ‘म परिवर्तन गरेर देखाउँछु। मसँग सामथ्र्य र हिम्मत छ।’ पार्टी भित्रको गुट उपगुटलाई समुल अन्त्य गर्ने अभियानमा आफु लागेको जानकारी समेत उनले गराए। 

ओली सरकार भ्रष्ट पथमा : धनराज गुरुङ

नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले ओली सरकार भ्रष्ट पथमा लम्किरहेको आरोप लगाए। ‘वाइड बडी खरिदमा साँढे छ अर्ब घोटाला भएको छ,’ उनले भने, ‘यही नै ओली सरकारको ज्वलन्त उदाहरण हो।’ नेपाली जनताले तिरेको करबाट ओलीले साँढे दुई करोडको बुलेट फ्रुफ गाडी किनेको समेत आरोप लगाए। 

देश चलाएका नेता र चलाइसकेका नेताहरुको शासन राणा शासनको भन्दा कुनै फरक नभएको उनले बताए। ‘राणा शासनमा बनेको अलिसन महल र अहिलेका नेताको महल कुनै फरक छैन,’ उनले भने, ‘लोभीपापी नेता हुँदासम्म देश समृद्ध बन्दैन।’

समाज बदल्न हिँडेका नेताहरु पहिला आफु बदल्न पर्ने उनले बताए। दुई पटक प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई आजीवन आश्रममा बसेको स्मरण गर्दै उनले थपे, ‘कम्युनिस्ट सर्वहरा वर्गका पार्टी होइनन्। अधिनायकवादका पार्टी हुन्।’

प्रकाशित: २३ आश्विन २०७५ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App