१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विखण्डनकारीलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले विखण्डनकारीले खुल्लेआम आम सभा गर्दासमेत सरकारको मौनता आश्चर्यजनक भएको भन्दै आपत्ति जनाएको छ।

जनकपुरमा स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतले असोज ३ गते गरेको आमसभा प्रति सरकारले मौनता साँधेको भन्दै आपत्ति जनाएको हो। ‘विखण्डनकारी समूहबाट दिनदहाडै र खुलेआम राष्ट्रिय एकता र अखण्डतामा आँच पुग्ने गतिविधि भइरहँदा नजिक रहेका सुरक्षा निकाय मुकदर्शक र निस्क्रिय रहनु दुःखद छ, साथै हालसम्म पनि सरकारको मौनता आश्चर्यजनक रहेको छ,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संविधान प्रति राप्रपाको पनि असन्तुष्टी रहेको स्मरण गराउँदै संशोधनको प्रक्रियामार्फत त्यसलाई सम्बोधन गर्न सकिने राप्रपाको भनाइ छ। ‘सबैलाई सर्वविदतै छ, संविधान प्रति राप्रपाको पनि असहमति छ, संविधान गतिशील दस्तावेज हो, परिवर्तन गर्न नसकिने धर्म ग्रन्थ होइन, आफना मागहरु संविधान संशोधन गरेर समावेश गर्न सकिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तर असहमतिको नाममा राष्ट्रको विखण्डनको पक्षमा जनमत बनाउनु, विखण्डनकारी गतिविधि गर्र्नु किमार्थ स्वीकार्य हुन सक्दैन। यस्ता क्रियाकलापमा संलग्न हुनेलाई हदैसम्म कारबाही गरिनुपर्छ भन्नेमा राप्रपा दृढ रहेको छ।’

राष्ट्रिय अखण्डतामाथि भएको गम्भीर प्रहारको घटनामा सरकारको मौनतालाई सरकार लाचार, निरिह, असक्षम र असफल हुँदै गएको प्रष्ट भएको राप्रपाको आरोप छ।

प्रकाशित: ५ आश्विन २०७५ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App