१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्न जटिल’

उल्टाखाम (कञ्चनपुर) - निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ। ‘हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ’, उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले भने, ‘प्रहरीले दोषी बचाउन नियतवश प्रमाण नष्ट गरेको हो कि भुलवश भन्नेमा हामी निष्कर्षमा पुग्न सकेका छैनौं।’ अब बनेको अनुसन्धान समितिले त्यो कुरा पत्ता लगाउने उनको भनाइ छ।

घटनास्थलमा फिंगर प्रिन्ट, फुट प्रिन्ट, रौं, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संकलन भएको छैन। प्रहरीले नियतवश सबै प्रमाण नष्ट गरेको भएमा भेजिनल स्वाबको नमुना पनि विश्वसनीय नहुनेमा छानबिन समितिभित्रै सदस्यले आवाज उठाएका छन्। ‘त्यति बेलाकाधानमा खटिएको प्रहरी टोलीले सबै प्रमाण नष्ट गरेकाले डिएनएका लागि संकलन गरिएको भनिएको भेजिनल स्वाबको नमुनामा विश्वास गर्ने ठाउँ छैन’, एक सदस्यले भने, ‘त्यो नमुना कसरी र कहाँबाट ल्याइयो भन्ने थाहा छैन।’ छ इन्च पानी जमेको ठाउँमा घोप्टो पारेर शव फालिएको थियो । ‘त्यो शवको भेजिनामा पानी पसेर स्पर्म पखालिएन भनेर कसरी विश्वास गर्ने’,उनले भने। धेरै कुरा जेलिएकाले निर्मलाको हत्या शक्तिशाली व्यक्तिले गरेर योजनाबद्ध ढंगले सबै प्रमाण नष्ट गरेको उनले बताए।

केही दिनअघि छानबिन समितिबाट राजीनामा दिएका वीरेन्द्र केसीले पनि डिएनए परीक्षण नमुना संकलनको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए। ‘डिनए परीक्षणका लागि कसरी नमुना संकलन गरियो भन्ने कुरा नै विश्वसनीय छैन’, उनले त्यति बेला भनेका थिए। छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। प्रतिवेदनमा आफूले भनेको कुरा समेट्ने सर्तमा राजीनामा फिर्ता लिएको उनले बताएका थिए। केसी स्वास्थ्यको प्राविधिक क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति हुन्। विज्ञहरु पनि पानीमा घोप्टो पारी राखिएको अवस्थामा स्पर्म पखालिने सम्भावना बढी हुने बताउँछन्। ‘पानीमा घोप्टो राखेको अवस्थामा भेजिनामा पानी पसेमा स्पर्म पखालिन्छ’, स्त्रीरोग विशेषज्ञ गणेश सिंह भन्छन्, ‘२४ घण्टापछि लिएको भेजिनल स्वाबमा पनि शुक्रकीट मरिसकेको हुन्छ।’ पाठेघरको मुखमा वा भेजिनामा रहेको तरल पदार्थलाई भेजिनल स्वाब भनिन्छ। पानीले नपखालेमा यौन सम्पर्क गर्ने व्यक्तिको स्पर्म त्यसमा भेटिने उनी बताउँछन्। २४ घण्टा ढिलो पोस्टमार्टम गर्दा पनि त्यो नष्ट हुने सम्भावना रहने उनी बताउँछन्।

प्रहरीले साउन ११ गते साँझ करिब ६ बजेतिर निर्मलाको शव पोस्टमार्टम गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। उच्चस्तरीय छानबिन समितिका एक सदस्यले प्रहरीले भुलवश नभई नियतवश नै सबै प्रमाण नष्ट गरेको बताएका छन्। ‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्ने सम्भावना कम छ’, उनले भने।

घटनास्थलबाट करिब २ किलोमिटर दूरीमा नेपाली सेनाको ब्यारेक छ। छानबिन समितिका एक सदस्यले सेनामाथि पनि अनुसन्धान गरिनुपर्ने सुझाव दिइएको बताएका छन्। समितिका संयोजक मैनाली भने सेनामाथि तोकेर भन्दा पनि फराकिलो दायरामा अनुसन्धान गर्नुपर्ने भनेर प्रतिवेदनमा सुझाव दिइएको बताउँछन्। ‘सबै सम्भावनालाई ध्यान दिई फराकिलो दायरामा अनुसन्धान गरिनुपर्छ भनेका छौं’, उनले भने।

तालिमप्राप्त व्यक्तिबाट हत्या
निर्मलाको हत्या तालिमप्राप्त व्यक्तिबाट भएको खुलेको छ। पोस्टमार्टम रिपोर्टले देखाएअनुसार निर्मलाको घाँटी कर्ड न्याकेर हत्या गरिएको देखिएको हो। घाँटीको कर्ड न्याक्ने कुरा तालिम प्राप्त व्यक्तिबाहेक अन्यले गर्न नसक्ने एक प्रहरी अधिकारी बताउँछन्। ‘युद्ध मैदान होस् या दुस्मनको घेरामा पर्दा, आफू बच्नका लागि दुस्मनको घाँटी थिचेर उसको कर्ड न्याकी मार्ने युद्धकला तालिमप्राप्त व्यक्तिलाई मात्रै सिकाइएको हुन्छ,’ ती अधिकारीले भने, ‘यो घटनाको प्रकृति हेर्दा तालिमप्राप्त व्यक्तिबाटै हत्या भएको जस्तो देखिन्छ।’ घाँटीको कर्ड न्याक्नु सहज नहुने उनको तर्क छ। ‘तालिममा सिकेको व्यक्तिले नै हो घाँटीको कर्ड न्याक्न सक्ने,’ उनले भने।

सेनामाथि अनुसन्धान भएको छैन
निर्मलाको बलात्कारपछि घाँटीको कर्ड न्याकेर हत्या गरिएको पोस्टमार्टम रिपोर्टले देखाएपछि प्रहरीसँगै अहिले आशंका नेपाली सेनातर्फ सोझिएको छ। घाँटीको कर्ड कुनै पनि तालिमप्राप्त व्यक्तिले मात्रै न्याक्न सक्ने बताइरहँदा कतै निर्मलाको प्रहरी या नेपाली सेनाले त गरेको हैन भन्ने आशंका जनमानसमा बढेको छ। निर्मलाको शव भेटिएको स्थलनजिकै नेपाली सेनाको ब्यारेक छ। बाहिर जेजस्तो आशंका भए पनि घटनाले नेपाली सेनातर्फको संकेत नदेखाउँदा अहिलेसम्म सेनामाथि अनुसन्धान नभएको अनुसन्धान अधिकृत तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण ओझा बताउँछन्। ‘नेपाली सेनामाथि छानबिन र अनुसन्धान गर्नुपर्ने त्यस्तो केही क्लु भेटिएको छैन,’ उनले भने, ‘त्यत्तिकै सेनामाथि अनुसन्धान हुँदैन।’ घटनाको केही ‘क्लु’ सेनातर्फ सोझिए अनुसन्धान थालिने उनले बताए। सेनामाथि नै अनुसन्धान गर्नुपर्ने आवश्यक देखिए अनुसन्धानको दायरामा ल्याउने पनि उनले बताए। कञ्चनपुरका एस पी कुवेर कडायतले माथिबाट केही आदेश आएमा सेनामाथि पनि अनुसन्धान गर्न सकिने बताए।

सिसी क्यामेराको फुटेज रिकभरका लागि ब्याकअप पठाइयो
महेन्द्रनगर बजारमा राखिएका सिसी क्यामेरामा रेकर्ड भएका सामग्री नभेटिएपछि फुटेज रिकभरका लागि ब्याकअप काठमाडौं पठाइएको छ। निर्मलाको हत्या भएको दिन साउन १० गतेको सिसी क्यामेराको फुटेज रिकभरका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सिसी टिभीको ब्याकअप फरेन्सीमा पठाएको हो। ‘घटनाको दिनको क्यामेराको फुटेज नभेटिएकाले रिकभरका लागि हामीले फरेन्सीमा पठाएका छौंँ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी ओझाले भने। ओपेरा होटेल र त्यस आसपासको क्यामेराबाट रेकर्ड भएको फुटेज रिकभरका लागि फरेन्सीमा पठाएको बताइएको छ।

साउन १० गते एसपी डिल्ली बिष्टका छोरा किरण बिष्टको जन्मदिन परेको थियो । सोही दिन किरणसहित तीनजना केटा र तीनजना केटीले ओपेरा होटेलमा फोटोसुट गरेका थिए । तीनजना केटीमध्ये आफ्नी छोरी निर्मला पनि भएको हुनसक्ने भन्दै निर्मलाका बुवा यज्ञराज पन्तले बताइरहँदा सिसी क्यामेराको फुटेज हेरिएको थियो। त्यो समयको फुटेज रेकर्ड डिलिट भइसकेकाले ओपेरा होटेल र आसपास क्षेत्रको क्यामेराबाट रेकर्ड भएको फुटेज रिकभर गर्न फरेन्सीमा पठाइएको डिएसपी ओझा बताउँछन्। ‘सिसी क्यामेराबाट रेकर्ड गरिएको सामग्री अटो डिलिटका लागि केही समय तोकिएको हुन्छ,’ उनले भने, ‘समय सीमा नाघेपछि फुटेज अटो डिलिट पनि हुन्छ।’ उनले केही क्यामेराको फुटेज १० दिन त केहीको १५ दिनसम्म सञ्चित रहने व्यवस्था मिलाइएका कारण निर्मला हत्याकाण्डको समयमा भएका फुटेज अटो डिलिट भएको हुन सक्ने बताए।

प्रकाशित: २ आश्विन २०७५ ००:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App