१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

५१ दिन बित्यो, अनुसन्धान नतिजा अझै शून्य

काठमाडौं - निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५१ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसक्दा प्रहरी संगठनको अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको अनुसन्धान गरिरहेको छ भने प्रहरी प्रधान कार्यालयले दिनको तीनदेखि चार पटकसम्म जानकारी लिन थालेको छ । दिलीप बिष्टको डिएनए परीक्षणको रिपोर्ट आएपछि प्रहरी अनुसन्धान शून्यमा झरेको छ। अभियुक्त नै पुष्टि नभईकन तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्ली बिष्टले दिलीपलाई अभियुक्तका रुपमा प्रस्तुत गरेका थिए। यसबाट प्रहरी संगठनकै बदनाम भएपछि उनलाई निलम्बन गरिएको छ । उनको स्थानमा पुगेका एसपी कुवेर कठायतले नयाँ शिराबाट अनुसन्धान सुरु गरे तर उनले पनि अभियुक्त पहिचान गर्न सकेका छैनन्। केन्द्रीय अनुसन्धान ब्युरोबाट पछिल्लोपटक खटाइएका प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली पनि काठमाडौं फर्किसकेका छन्।

निर्मलाको भेजिनल स्वाबको रिपोर्ट हेरेपछि अनुसन्धानमा संलग्न अधिकारी एकजनाले मात्र बलात्कार गरेको निष्कर्षमा पुगेका छन् तर त्यो को हो भन्ने विषयमा उनीहरु अन्योलमा देखिन्छन्। ‘सामूहिक बलात्कार भएको भए त्यस बेला भेटिएको भेजिनल स्वाबमा दुईतीनवटा प्याटर्न देखिन्छन तर यसमा एउटा मात्रै प्याटर्न देखिएको छ त्यसकारण पनि सामूहिक बलात्कार होइन’, अनुसन्धानमा संलग्न अधिकारीले भने । उनका अनुसार आन्दोलनकारीको मागअनुसार पनि एसपी बिष्ट, उनका छोरा किरण र भूपेन्द्र बिष्टका छोरा अर्थात् भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्टको डिएनए परीक्षण गर्न लागिएको छ। त्यसका अतिरिक्त प्रहरीको अनुसन्धान घेरामा निर्मलालाई नजिकबाट चिन्ने वा निर्मलाले नजिकबाट चिनेका मानिस पनि परेका छन् । ‘घटनास्थलमा देखिएको क्राइम सिनलाई हेर्ने हो भने हतारमा बलात्कार गरेको देखिन्छ। माथिको कपडा खोलिएको छैन, तलको कपडामात्रै खोलिएको छ। रक्तश्राव भएको अवस्था छ। एक व्यक्तिले बलात्कार गरेपछि हत्या गरेको हुन सक्छ’, प्रहरी स्रोतले भन्यो, ‘अधिकांश यस्ता घटना नजिकका चिनेजानेकै मान्छेबाट पनि हुने गरेका छन्। अनुसन्धानको पाटो त्यता पनि मोडिन सक्छ।’

पछिल्लो समयमा प्रहरीको अनुसन्धान घेरामा निर्मलालाई नजिकबाट चिन्ने वा निर्मलाले नजिकबाट चिनेका मानिस पनि परेका छन्।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले अनुसन्धान जारी रहेको बताए। ‘प्रहरीको अनुसन्धान टुंगिएको छैन। कञ्चनपुर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी यो विषयमा गम्भीर भएको लागेको छ। केही केही अनुसन्धान एकैपटक वा एकै समयमा टुंगिँदैन। त्यसकारण समय लाग्न सक्छ। भर्खरै हामीले प्रहरीकै पनि डिएनए परीक्षणका लागि पठाएका छौं’, उनले भने। कञ्चनपुरका एसपी कुवेर कठायतका अनुसार पोस्टमार्टम रिपोर्टमा घाँटीको भोकल कर्ड भाँचिएर निर्मलाको मृत्यु भएको देखिन्छ। एकातिर चारवटा औंला र अर्कोतिर बुढी औंलाको डाम देखिएकाले उनलाई घाँटीमा चोट पु-याएर हत्या गरिएको विषयमा प्रहरी निश्चित बनेको छ।

आइजिपी नै अलमलमा
कञ्चनपुर घटनाको विषयमा प्रहरी संगठनको अनुसन्धानमा प्रश्नचिह्न उठेपछि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल नै अलमलमा परेका छन्। आइजिपीसँग रिपोट लिएर त्यसकै आधारमा गृहमन्त्री र प्रधामन्त्रीको धारणा सार्वजनिक भएको थियो । तर त्यसलाई प्रहरी संगठनले पुष्टि गर्न नसक्दा आइजिपी खनाल अलमलमा परेका हुन्। यस विषयमा छानबिन गर्न आइजिपी खनालले आन्तरिक समितिसमेत बनाएका छन्। प्रहरीको अनुसन्धानमा कमीकमजोरी देखिए उनीहरुलाई कारबाही गर्न आन्तरिक छानबिन समिति बनाएको हो।

कहाँ चुक्यो प्रहरी
घटनामा संलग्न रहेको आशंका गरिएका बम दिदीबहिनीसँग प्रहरीको ठूलै सम्बन्ध रहेकोे स्थानीयको शंका थियो । तर उनीहरु पर्याप्त प्रमाण नभएकाले अदालतबाट छुटिसकेका छन्। हत्यारा लुकाउन वा बचाउन प्रहरी र अन्य कुनै राजनीतिक दलका नेताको हात रहेको केही स्थानीयको दाबी छ । हत्यारा समाउन प्रहरीले नसक्नुका पछि ‘ठूलो शक्ति’ लागेको उनीहरूको बुझाइ छ। यसलाई स्थानीय प्रहरी नेतृत्वमा रहेका एसपी डिल्ली बिष्टले सम्झाउन सकेनन्।

निर्मलाकी आमाले खोजिदिन आग्रह गर्दा प्रहरीले फोटोसहित उजुरी दर्ता गरेपछि खोजौंला भन्ने जवाफ दिएर टारेको परिवारको दाबीलाई पनि प्रहरीले समयमै सम्बोधन गर्न सकेन। सबैभन्दा पहिले घटनास्थल सुरक्षित राख्नुपर्ने, घटनास्थलमा कसैलाई जान नदिने, कोही जान नसकून् भनेर डोरी हाल्ने, कसैलाई घटनास्थलमा रहेका वस्तु छुन नदिनेजस्ता कुरा गरेर प्रहरीले प्रमाण बचाउने कार्यलाई पनि प्रहरीले ध्यान दिन सकेन। तर घटनास्थलमा यी सामान्य प्रक्रियासमेत प्रहरीले पूरा नगरेपछि प्रहरी अनुसन्धान सुरुबाटै चुकेको स्थानीयको आरोप छ। निर्मला हराएपछि तत्कालै खोजीका लागि पहल नगर्ने प्रहरी निरीक्षक जगदीश भट्टलाई अहिलेसम्म कुनै कारबाही गरिएको छैन।

प्रहरीको ‘सफलता’
निर्मलाको लास भेटिँदा उनको शरीरको तल्लो भाग खुला थियो। घटनास्थलमा उनको शरीरमा खुला देखिएको भाग छोप्न प्रयोग गरिएको सुरुवाल धोएको भए पनि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले उनको भेजिनल स्वाब घटनास्थलबाट जोगाएका छन्। प्रहरीले यसलाई ठूलै उपलब्धि मानेको छ। ‘भेनिजल स्वाब नभएको भए डिएनए परीक्षण गर्न सकिँदैनथ्यो । यसलाई जोगाइएको छ। यसले गर्दा ढिलोचाँडो अपराधी पत्ता लगाउन सजिलो हुन्छ’, प्रहरी प्रवक्ता क्षेत्रीले भने, ‘प्रमाण नष्ट गर्ने प्रहरीमाथि पनि अनुसन्धान हुन्छ, यसका लागि आन्तरिक छानबिन समिति बनिसकेको छ।’

प्रकाशित: ३० भाद्र २०७५ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App