२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘जवाफ सुनेपछि पार्टीबाट राजीनामा दिन्छु’ : वीरगन्ज मेयर

वीरगन्ज - वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी आफ्नो पार्टी संघीय समाजवादी फोरम नेपालबाट राजीनामा दिने मनसायमा पुगेका छन्। पार्टीका स्थानीय नेता कार्यकर्ताबाट आएको अनावश्यक दवावपछि आफु राजिनामाको मनसायमा पुगिसकेको उनले नागरिकन्युजलार्इ बताए।

संघीय समाजवादी फोरमका नेताहरुले मेयर सरावगीको कार्यशैलीप्रति असन्तोष जनाउँदै आएका छन्। सरावगीले नागरिकसंग कुराकानी गर्दै असन्तुष्टिहरुलाई पार्टी नेतृत्वसामु राखेको बताए। ‘पार्टीमा काम गर्ने माहोल भएन, महानगरपालिकाको नगरप्रमुखको हैसियतले मैले गर्ने काममा अनावश्यक हस्तक्षेप भयो, थेग्न नसकेर मेरा असन्तुष्टिहरु राखेको हो, यसलाई राजीनामा दिएको धेरैले बुझेका छन्,’ सरावगीले भने, ‘पार्टीका केन्द्रीय अध्यक्षज्युलाई भेट्न आजै जादैछु, जवाफ सुन्छु, भोलीको दिनमा काम गर्ने वातावरणबारे आश्वस्त हुन सकिएन भने पार्टीमा बसेर कुनै औचित्य छैन्।’

उनले पार्टी नेतृत्वलाई राजीनामा पठाएको कुरा समाजिक संजाल र सञ्चार माध्ययमहरुमा आएको छ। ‘हल्ला फैलिएको छ, यो अवस्था मैले ल्याएको होइन्,मैले राजिनामा गरे नगरेको कुरा पार्टीले स्पष्ट पारोस खण्डन गर्दै म हिड्दैन,’ नगरप्रमुख सरावगीले भने, ‘मसँग सोध्न आउनेलाई यथार्त बताउने मेरो काम हो।’ 

फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले २०७३ चैत ६ गते सरावगीलार्इ पार्टी प्रवेश गराएका थिए। पार्टीमा नवप्रवेसी रहेका सरावगी स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश २ को एकमात्र महानगर वीरगन्जको नगरप्रमुखमा निर्वाचित भएका थिए। 

यता सरावगीलाई फोरममा डाेर्‍याएर ल्याउने संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवसँग उनको सम्बन्ध पछिल्लो समयमा चिसिएको छ। यादवले पार्टी र नगरको हितविपरित सरावगी गएको भन्ने गुनासाे कार्यकर्ता र आफ्नो क्षेत्रका जनतामा व्यापक रुपमा सुनिएकाे बताए। निर्वाचन जितेपछि सरावगी पार्टीभित्रको गुटको राजनीतिमा परेका छन्। जिल्ला अध्यक्ष तथा पर्सा १ का सांसद यादवसंग कहिले घनिष्ठ हुने र कहिले स्थानीय चुनावताका आफ्नै प्रतिस्पर्धी रहेका र पछि पर्सा क्षेत्र २ बाट जितेका नेता बिमल श्रीवास्तवसँग टाँसिने सरावगीको कमजोरी रहेको फोरमका पुराना कार्यकर्ता बताउछन्।

पार्टीको वीरगन्ज नगर कमिटीको बुधवार बसेको बैठकले ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरे पनि सरावगीले अाफु व्यस्त भएको भन्दै नगर अध्यक्ष इश्वर यादवलाई समय दिएनन्। ‘पार्टी नगर कमिटीको बैठकमा भएका निर्णयहरु नगरप्रमुखसँग सम्बन्धित थिए, मेरै अगाडी फोन गरेर नगर अध्यक्षले समय माग्दा उनले समय दिएनन, आफुले पार्टी छोडिसकेकाे भनी बम्के,’ फोरम पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले भने, ‘राजीनामा गरिसके उनले धेरै जनालाई भनेका छन्, तर लिखित रुपमा पार्टीको कुनै तहमा राजीनामा भने आएको छैन्।’

प्रकाशित: २९ भाद्र २०७५ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App