५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्मला हत्या प्रकरण नयाँ मोडमा, दिलीप बिष्ट निर्दोष ठहर, आमाबुवा न्याय खोज्दै काठमाडौंमा

उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलीपसिंह बिष्टको डिएनएन रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नमिलेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको डिएनए प्रोफाइलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक बिष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले बताए । ओझाले भने, ‘निर्मलाको पोस्टमार्टमको डिएन ए प्रोफाइलसँग दिलीपको डिएन ए प्रोफाइल नमिलेपछि उनलाई दाजुको जिम्मा लगाएर छोडिएको हो।’

दिलिप निर्दोष ठहरिएपछि निर्मला हत्याकाण्डले नयाँ मोड लिएको छ । ‘प्रहरीले झुठो विवरण प्रस्तुत गरेर लिलीपलाई किन दोषी ठहर गर्न खोज्यो ?’ अधिकारकर्मी शारदा चन्द भन्छिन्, ‘दिलीप निर्दोष ठहरिएपछि प्रहरीले दोषी बचाउन खोजेको पुष्टि भएको छ ।’ निर्मलाको हत्या सुनियोजित थियो र शक्तिशाली दोषी बचाउन कति प्रयास गरियो भन्ने प्रस्ट भइसकेको स्थानीय मञ्जु भट्टले बताइन्।

दिलीपलाई प्रहरीले भदौ १ गते पक्राउ गरेर भदौ ४ गते दोषी भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । सुरुदेखि नै प्रहरी अनुसन्धानमा भएको लापरबाही, अनुसन्धानका लागि खटाइएको नयाँ टोलीले कुनै तथ्य बाहिर नल्याउनु र उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाले हत्यामा पहुँचवाला व्यक्तिकै संलग्नता रहेको शंका निर्मलाका आफन्तले गरेका छन्।

स्रोतका अनुसार यसअघि प्रहरी उच्च अधिकारीले घटनामा दिलीप नै दोषी ठहरिने अनुमान गरेका थिए । उच्चस्तरीय छानबिन समितिले छानबिन सकेर प्रतिवेदन लेख्ने तयारीमा रहेका बेला बिष्टको डिएनए रिपोर्टलाई पर्खन १५ दिन म्याद थप गरेपछि सदस्य केसीले असहमति जनाउँदै राजीनामा दिएका थिए । दिलीप नै दोषी रहेको सूचनाका आधारमा प्रधानमन्त्री केपी ओलीले पनि केही दिनअघि एक कार्यक्रममा स्थानीयले अनुसन्धानमा असहयोग गरेको अभिव्यक्ति दिएका थिए।

मानसिक सन्तुलन गुमाएका बिष्टलाई प्रहरीले दोषी भनेर सार्वजनिक गरेपछि स्थानीयले वास्तविक दोषी पत्ता लगाउन मागसहित आन्दोलन चर्काएका थिए । आन्दोलनकै क्रममा एकको ज्यान गएको थियो ।
‘दिलीपलाई दोषी प्रमाणित गर्न नसकेपछि प्रहरीलाई हत्यारा पत्ता लगाउने अनुसन्धानबाट उम्कने ठाउँ बाँकी रहेन’, स्थानीय सन्तोष भट्ट भन्छन्, ‘दोषी पत्ता लगाएर कारबाही हुनेमा हामीलाई शंका छ, तर पनि निर्दोषलाई फसाउने प्रयास असफल भएकाले घटनाले नयाँ मोड लियो।’

सवारीसाधनलगायत मान्छेको ओहोरदोहोर भइरहने, दुई फिट गहिरो र आठनौ फिट चौडाइ पानी भएको खोला तरेर त्यति नै उचाइमा रहेको हिलाम्मे सडकमा लगेर एक जनाले बलात्कार गर्ने कुरा सम्भव नभएको स्थानीय बताउँछन् । उखुबारीमा लछारपछार भएर बल प्रयोग भएको नदेखिनु र उखु बिग्रेको एवम् जमिन धसिएको नदेखिनुले कुनै सुरक्षित स्थानमा बलात्कार गरेर हत्या गरी उखुबारीमा फालेको स्थानीयको भनाइ छ । साउन १० गते साँझ र राति मुसलधारे पानी परेको थियो । साउन ११ गते कापीकिताब भिजेको नभेटिनुले पनि घटना थप रहस्य बनेको छ।

दिलीपलाई किन दोषी देखाउन खोजियो ?

निर्मला हत्याको सुरुदेखि सही दिशामा अनुसन्धान नगरेको र घटनास्थलका प्रमाण नष्ट गर्ने गरी लापरबाहीपूर्वक अनुसन्धान गरिरहेको प्रहरीले दिलीपलाई किन दोषी देखाउन खोज्यो भन्ने प्रश्न उब्जेको छ । प्रहरीले वास्तविक दोषी बचाउन हो वा दोषी पत्ता लगाउन नसकेर कमजोरी ढाकछोप गर्न निर्दोषलाई दोषी करार गर्न खोजेको भन्ने खुल्न सकेको छैन । निर्मलाका आफन्त र स्थानीयले निर्मलाको हत्या योजनाबद्ध ढंगले शक्तिशाली मान्छेले गरेको र वास्तविक दोषी बचाउन मानसिक सन्तुलन गुमाएका दिलीपलाई दोषी करार गर्न खोजेको बताएका छन्।

‘निर्मलाको हत्या भएको भनिएको साउन १० गते हल्का पानी परिरहेकाले मेरो भाइ दिनभरि घरमै थियो’, दिलीपका दाजु खडकसिंह बिष्ट भन्छन्, ‘प्रहरीले दोषीलाई बचाउन मानसिक सन्तुलत गुमाएका मेरा भाइलाई फसाउन खोजेको थियो ।’ यसअघि सुरुकै दिन दिलीपले अदालतमा पनि आफूले हत्या नगरेको बयान दिएका थिए । ‘प्रहरीले दबाब दिएर हत्या गरेको हुँ भनेर भन्न लगायो’, भाइलाई उधृत गर्दै खडकले भने । ‘मेरी छोरीको हत्या शक्तिशाली मान्छेले गरेको छ । उसलाई बचाउन सुरुदेखि नै प्रमाण नष्ट गर्ने, शंकास्पद व्यक्तिमाथि अनुसन्धान गर्न आनाकानी गर्ने गरियो’, निर्मलाका बुवा यज्ञराज भन्छन्, ‘अझै पनि दोषी बचाउन अर्को निर्दोषलाई अघि ल्याउन काम नगरियोस् ।’

निर्मलाका आमाबुवा काठमाडाैंमा

छोरीको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवी मंगलबार काठमाडाैं पुगेका छन् । १० जना महिलाअधिकारकर्मीका साथ उनीहरू काठमाडाैं गएका हुन् । उनीहरूले दोषीलाई पत्ता लगाई निर्मलालाई न्याय दिलाउनुपर्ने माग राखेर राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी मुख्यालय, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, विभिन्न दलका शीर्ष नेतालाई भेटेर ज्ञापनपत्र दिने भएका छन्।

‘अहिलेसम्म दोषी बचाउने खेल मात्र भयो । छोरीले न्याय पाउनेमा विश्वास नलागेपछि न्यायका लागि आग्रह गर्न काठमाडाैं गएको छु’, यज्ञराजले भने । अधिकारीकर्मी शारदा चन्दले निर्मलालाई न्याय दिलाउन उसका आमाबुवा महिलाअधिकारकर्मीको एक समूहका साथ काठमाडाैं पुगेको बताइन् । उनका बुवाआमाले निर्मलालाई न्याय दिलाउन सहयोग गर्न बुद्धिजीवी, सञ्चारजगत्, मानवअधिकारवादी, राजनीतिक दल सबैसँग आग्रह गरेका छन् ।

नागरिकको सुरक्षामा गम्भीर प्रश्न
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. मुकन्द कलौनी निर्मला पन्तको हत्या घटनाको रहस्यले धेरै प्रश्न उब्जाएको बताउँछन् । निर्मला हत्या गरेको भनेर निर्दोषलाई दोषी देखाउन अनेक प्रयास गरिनु, दोषीलाई अनुसन्धानमा दायरा नल्याइनु र उच्चस्तरीय छानबिन समितिकै सदस्यलाई ज्यान मार्ने धम्की आउनुले नागरिक असुरक्षित महसुस गर्ने अवश्था आएको उनको भनाइ छ।

छानबिन समितिका सदस्यलाई सुरुदेखि नै दबाब आएको बुझिएको र निर्मलाको हत्याको सत्यतथ्य बाहिर नल्याउन दिन छानबिन समितिलाई नै आएको दबाबले निर्मलाको हत्यामा शक्तिमा रहेको मान्छेको संलग्नता रहेको प्रस्ट भएको उनी बताउँछन् । ‘विभिन्न कुरामा राजनीतिक दल र प्रहरीबीच साँठगाँठ देखिन्छ’, उनी भन्छन्, ‘प्रहरी राज्यको बल हो, धम्की आएर समितिका सदस्यले राजीनामा दिनुले घटनामा प्रहरीको संलग्नता प्रस्ट भएको छ।’

उच्चपदस्थ कर्मचारी त सुरक्षित छैनन् भने आमनगारिकको सुरक्षा कसले गर्ने भन्ने प्रश्न उब्जिएको उनी बताउँछन् । ‘एकजनाको ज्यान गयो, एक जना १८ दिनदेखि कोमामा छ । कयाैं घाइते भए, यो अवस्थामा पनि शक्तिको पहुँचले निर्मलाका परिवारले न्याय पाउँदैनन् भने नागरिक सुरक्षा खतरामा पर्छ’, उनले भने, ‘न्यायका लागि अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था गुहार्नुपर्ने अवस्था आउन सक्छ।’

घटना अध्ययन गरिरहेका इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशी प्रहरीको सुरुदेखिको अनुुसन्धान घटना ढाकछोप गर्ने रहेको, घटनालाई काल्पनिक बनाउन खोजिएको, आइजिपीलगायतका अधिकारीले दोषी पत्ता लगाउने आश्वासन दिए पनि व्यवहारमा केही प्रगति नदेखिनुले अपराधी जोगाउने खेल भइरहेको बताउँछन् । उनले भने, ‘शंकाको घेरामा रहेकालाई प्रहरीले अनुसन्धान गर्न मन लगाएको देखिएन ।’ निर्मला हत्याका सम्बन्धमा छानबिन गरेर सत्यतथ्य बाहिर नल्याएमा यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने उनी बताउँछन्।

प्रकाशित: २७ भाद्र २०७५ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App