२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

जेलबाट छुटेपछि पाैडेलले भने : बुझ्नेले कुरा नबुझेपछि मनमा पीर त पर्ने नै भयो

डिल्लीबजार कारागारबाट रिहाइपछि छविलाल पौडेल। तस्बिर : बिजय गजमेर/नागरिक

चितवन – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा अदालतबाट सफाइ पाएका छविलाल पौडेल जेल मुक्त भएका छन्।

डिल्लीबजार कारागारबाट आज बिहान रिहाइपछि सञ्चारकर्मीलार्इ संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले पीडितले आफ्नो क्षमताले नभई घटनाको वास्तविक्ता नै नबुझेर आफूविरुद्ध उजुरी हालेको बताए।

‘कृष्णप्रसाद मेरो विद्यार्थी हो, उसको घटनाले मलाई पनि निकै दुःखी तुल्याएको थियो’, पौडेलले भने, ‘अहिले बुझ्नेले कुरा नबुझेपछि मनमा पीर त पर्ने नै भयो भनेजस्तै भएको छ।’

उनले भने, 'उहाँहरुले नबुझेर दिएको उजुरी भएकाले उहाँहरुलाई पनि पछुतो भएको हुन सक्छ भन्ने मलार्इ लागेकाे छ।'

हत्याको अभियोग लागेका १३ जना प्रतिवादीमध्ये अदालतमा हाजिर भएका १२ जनाले हत्याको कानुनतः स्वीकार्य प्रमाण (लिगल एड्मिसेबल इभिडेन्स) अभावमा आइतबार सफाइ पाएका थिए। चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उनीहरूलाई सफाइ दिने फैसला गरेको हो।

अदालतबाट सफाइ पाएका अभियुक्तहरूमा पौडेलसँगै भीमसेन पौडेल, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, भीमलाल अधिकारी, सीता अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी, रामप्रसाद अधिकारीलगायत छन्। ‘प्रतिवादीहरूले कृष्णप्रसादलाई कर्तव्य गरी मारेको भन्ने शंकारहित प्रमाणबाट अभियोग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसुरबाट सफाइ पाउने ठहर छ’, फैसलामा उल्लेख छ।

प्रकाशित: २५ भाद्र २०७५ ०४:३७ सोमबार

फुजेल_हत्या_प्रकरण