१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपामा नेता चयनको सकस

जनकपुरधाम - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ मा जिल्ला तथा प्रादेशिक संरचना निर्माणमा ढिलाइ गर्दा प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न बिलम्ब भइरहेको छ।

दुई पार्टीबीच एकता घोषणा भएको महिनौं बितिसक्दा पनि प्रादेशिक संरचना निर्माण गर्न नसक्दा प्रदेश २ मा संसदीय दलको नेता टुंगो लगाउन समस्या भएको हो। प्रतिनिधिसभा तथा अन्य छवटै प्रदेशसभामा नेकपाको संसदीय दलले नेता चयन गरिसके पनि प्रदेश २ मा अझै औपचारिक रूपमा टुंगो नलाग्दा पुरानै हिसाबले एमाले र माओवादीको रूपमा कायम छ। प्रदेशसभामा अहिले पनि दुई दलको छुट्टाछुट्टै संसदीय दलको बैठक बसिरहेको सांसद शत्रुधन महतोले बताए।

प्रदेश २ मा एमालेका २१ र माओवादीसँग ११ सांसद छन्। यहाँ दलको हैसियतअनुसार एमाले र पार्टी एकता मापदण्डका आधारमा माओवादीको दाबी जायज रहेको भन्दै नेकपाका एक सांसद यसको छिनोफानो प्रक्रिया प्रदेश समिति घोषणा भएलगत्तै सुरु हुने बताउँछन्।

दुवै पार्टीले संयुक्तरूपमा संसदीय दलको नेतामा एकजनाको नाम चयन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएपछि मात्रै नेकपाको हैसियत कायम हुने एमालेका एक सांसदले बताए । प्रदेशसभा सचिवालयका उपसचिव रंजित यादवले भने एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेको जानकारी पत्र निर्वाचन आयोगले पठाउनुपर्ने बताए। ‘अहिलेसम्म निर्वाचन आयोगले दुई पार्टी मिलेर नेकपा बनेको जनाएको छैन,’ प्रदेशसभा सचिवालयका उपसचिव यादवले नागरिकसँग भने, ‘प्रदेशसभामा नेकपाको हैसियत कायम गर्न अर्को विकल्प हो, दुवै पार्टीले संयुक्तरूपमा निवेदन दिएर एक भएको जानकारी गराउनुपर्ने छ। तर, दुईमध्ये कुनै आधार प्राप्त नभएकाले प्रदेश २ मा अहिले पनि माओवादी र एमालेकै मान्यता कायम रहेको हो।’

केन्द्रमा दुई पार्टीबीच एकता घोषणा भइसकेपछि जिल्ला तथा प्रदेश कमिटी निर्माण गर्न प्रदेश २ मा चार सदस्यीय कार्यदल गठन गरिएको छ। तत्कालीन नेकपा एमालेबाट सत्यनारायण मण्डल र नागेन्द्र चौधरी तथा माओवादी (केन्द्र) बाट विश्वनाथ साह र प्रभु साह कार्यदल सदस्य हुन्। उक्त कार्यदलले यही भदौ २६ गते बस्न लागेको पार्टी स्थायी समितिको बैठकलाई प्रदेश समितिको लागि सिफारिस गर्नुपर्ने हुन्छ। सोही सिफारिसका आधारमा पार्टीको प्रदेश समिति गठन हुने र त्यसलगत्तै प्रदेशसभा संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने कार्यदलका सदस्य विश्वनाथ साहले बताए।

नेकपाले प्रदेश तथा जिल्लामा पार्टीको अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज तोक्ने प्रावधान राखेको छ । प्रदेश २ को इन्चार्जका लागि तत्कालीन एमालेका सत्यनारायण मण्डल र माओवादीका प्रभु साहले दावेदारी प्रस्तुत गरेका छन्। मण्डल प्रदेशसभामा संसदीय दलका नेता छन् भने साह प्रतिनिधिसभा सदस्य हुन्। त्यस्तै, प्रदेश अध्यक्षका लागि विश्वनाथ साह र श्रवण यादव प्रतिस्पर्धामा छन् । साह र यादव दुवै पूर्व माओवादीका नेता हुन्।

दलको नेतामा तीन दाबेदार
प्रदेशसभामा संसदीय दलको नेता बन्न तीन सांसदले दाबेदारी प्रस्तुत गरिरहेका छन् । हाल एमाले संसदीय दलका नेता रहेका सत्यनारायण मण्डल, माओवादी दलका नेता रामचन्द्र मण्डल र एमालेकै अर्का सांसद शत्रुधन महतो नेकपा संसदीय दलको नेता चयन हुन आ–आफ्नै हिसाबले लबिङ सुरु गरेका छन् । ठूलो दलको हैसियतले एमाले दलका नेता सत्यनारायण मण्डलले नेकपा दलको नेतृत्व गर्न स्वभाविक दाबी गरेको उनी निकट एक सांसदले बताए । तर, प्रदेश इन्चार्ज वा दलको नेतामध्ये कुनै एक पद मात्रै उनले पाउने ती सांसदको भनाइ छ।

माओवादी दलका नेता रामचन्द्र मण्डलले पार्टी एकता क्रममा निर्धारण गरिएको मापदण्डअनुसार आपूm संसदीय दलको नेता चुनिनुपर्ने अडान लिएका छन्। ‘५५ र ४५ प्रतिशतको आधारमा एमालेले चार तथा माओवादीले तीन प्रदेशमा दलको नेता पाउनुपर्ने हो,’ मण्डलले भने, ‘प्रदेश २ बाहेक चार प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादीले संसदीय दलको नेतृत्व सम्हालिसकेका छन्। यसअनुसार प्रदेश दुई पनि माओवादीको फाँटमा पर्नुपर्ने मेरो दाबी हो ।’ दलको नेतामा दाबेदारी प्रस्तुत गरिरहेका अर्का सांसद महतो यसअघि एमाले दलको नेतृत्व चयन प्रक्रियामा मण्डलसँग पराजित भएका थिए। चुनावी प्रक्रियामै गए उनले पनि उम्मेदवारी दिने तयारीमा रहेको उनी निकट सांसदले बताए।

प्रदेश १, ३, ४ र ५ मा पूर्व एमाले तथा प्रदेश ६ र ७ मा माओवादीका मुख्यमन्त्री छन्। ती प्रदेशहरुमा सोहीअनुसार मुख्यमन्त्री नै संसदीय दलका नेता कायम भइसकेका छन् । प्रदेश २ मा संघीय समाजवादी फोरमको नेतृत्वमा सरकार छ । तत्कालीन एमाले र माओवादी प्रतिपक्षमा छन् । प्रदेश २ मा एमालेका २१ र माओवादीसँग ११ सांसद छन् । यहाँ दलको हैसियतअनुसार एमाले र पार्टी एकता मापदण्डका आधारमा माओवादीको दाबी जायज रहेको भन्दै नेकपाका एक सांसदले भने, ‘यसको छिनोफानो प्रक्रिया प्रदेश समिति घोषणा भएलगत्तै सुरु हुनेछ।’

पार्टीको प्रदेश समिति चयन भएलगत्तै प्रदेश २ को संसदीय दलको नेता चयन गर्न केन्द्रकै पहलमा सर्वसम्मतिले तय गर्ने प्रयास हुन्छ । तर, सहमति कायम नभए लोकतान्त्रिक प्रक्रियाबाट बहुमतकै आधारमा दलको नेता चयन गर्ने तयारी रहेको मण्डलले बताए । उनले भने, ‘मुलुककै नेतृत्व गरिरहेको पार्टी निश्चित सिद्धान्तलाई अबलम्बन गर्नुपर्ने हो । त्यो भयो भने प्रदेश २ मा माओवादीबाटै दलका नेता चयन हुनेछ। होइन भने लोकतान्त्रिक प्रक्रियामा गएर हामी ३२ जना सांसदले चुनावी प्रक्रियाबाट टुंगो लगाउने छौं।’

प्रकाशित: २२ भाद्र २०७५ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App