४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राेकिएन किर्ते नागरिकता धन्दा

फाइल फाेटाे

राजविराज - किर्ते नेपाली नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले एक भारतीय व्यापारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ। यसअघि नै किर्ते नागरिकता लिएको आरोपमा चैतयता तीन भारतीय व्यापारी पक्राउ परिसकेका छन्। यी सबै प्रकरणमा नक्कली नागरिकता लिएका अभियुक्तको नागरिकतासम्बन्धी कुनै पनि रेकर्ड जिल्ला प्रशासन कार्यालयमा छैन।

यसअघि पक्राउ परेका दुई भारतीयले त तीनतीन पटकसम्म जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकताको प्रतिलिपिसमेत लिएको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयमा नागरिकता जारी भएबारे कुनै रेकर्ड नरहे पनि प्रतिलिपि जारी गर्ने अधिकारीले कुन आधारमा अभियुक्तलाई तीनतीन पटकसम्म प्रतिलिपि जारी गरेको हो भन्ने प्रश्नले जिल्ला प्रशासन कार्याललाई नै शंकाको घेरामा पारेको जानकारहरुको टिप्पणी छ।

पछिल्लो पटक प्रहरीले सप्तरीको साविक मलेकपुर गाविस–७ बाट रवि रौनियारको नाममा नक्कली नागरिकता बनाएर लामो समयदेखि नेपालमा व्यवसाय सञ्चालन गर्दै आएका भारतीय व्यापारी केदार गुप्तालाई पक्राउ गरी अनुसन्धान थालेको हो। २०७१ माघ २६ गतेको मितिमा वंशजको नागरिकता लिएका अभियुक्तको नागरिकतासम्बन्धी कुनै पनि रेकर्ड जिल्ला प्रशासन कार्यालयमा नरहेको प्रहरीको भनाइ छ । अभियुक्तको नागरिकता नम्बर १६/८५४६३ रहेको छ। अभियुक्तको नागरिकतामा बुवाको नाम भनेर जामुन रौनियारको नाम उल्लेख छ। स्थानीयका अनुसार साबिकको मलेकपुर गाविस–७ मा रौनियार वा गुप्ता थर हुनेको एउटै घर पनि छैन।

‘अभियुक्त सँग फेला परेको नागरिकताबारे जिल्ला प्रशासन कार्यालयमा कुनै रेकर्ड छैन’, सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले भने, ‘हामीले विभिन्न कोणबाट यसको अनुसन्धान गरिराखेका छौं। यस प्रकरणमा सम्भावित सहयोगीबारे प्रत्येक पक्षबाट अनुसन्धान भइरहेको छ ।’ अभियुक्तको नागरिकतामा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाको हस्ताक्षर छ।

यसै प्रकरणमा प्रहरीले सप्तरीको छिन्नमस्ता गाउँपालिका घर भएका सुरेन्द्र यादव नामक एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बतायो। अभियुक्तलाई किर्ते नागरिकता बनाउन सघाएको आरोपमा यादवलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।

यसअघि चैत २४ गते तक्कली नागरिकता प्रकरणमा भारतीय व्यापारी सतीश अग्रवाल पक्राउ परेका थिए। उनले २०६४ मंसिर २५ तथा २०७३ चैत ६ मा गरी दुईपटक नागरिकताको प्रतिलिपि निकालेका थिए। तर उनको नागरिकतासम्बन्धी रेकर्ड पनि जिल्ला प्रशासन कार्यालयमा छैन। अग्रवालकी पत्नी मोनिका अग्रवालको नागरिकतासम्बन्धी अभिलेख पनि जिल्ला प्रशासन कार्यालयमा छैन । फरार मोनिकाको १६१०३०/११३ नम्बरको वैवाहिक अंगीकृत नागरिकता सप्तरीकै छिन्नमस्ता गाविस–२ बस्ने मोहम्मद मुस्ताक मियाँकी पत्नी खातुन मियाँको नाममा रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीको अभिलेखले देखाएको छ।

नक्कली नागरिकता प्रकरणमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नै भूमिका शंकास्पद रहेको नागरिक समाजका अगुवा सुखराम यादव बताउँछन्। अग्रवालको नागरिकता प्रकरणमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला र तत्कालीन नायबसुब्बा भगवान दाहाललाई पनि प्रहरीले अभियुक्त बनाएको छ।

प्रहरीले गत जेठमा पनि दुई भारतीय व्यापारीलाई किर्ते नागरिकताकै आरोपमा पक्राउ गरेको थियो । पछिल्लो तीनवटै किर्ते नागरिकता प्रकरणमा थुप्रै समानता छन् र यी तीनै प्रकरणमा जिल्ला प्रशासन कार्यालय सप्तरी नै शंकाको घेरामा रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

भारत घर भई सुनसरी सदरमुकाम इनरुवामा वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएका विनित देवलाई किर्ते नागरिकताको आरोपमा प्रहरीले जेठको दोस्रो साता पक्राउ गरेको थियो। उनी आफैं आफ्नो नागरिकता परित्याग गर्न जिल्ला प्रशासन कार्यालय पुग्दा निजको नागरिकतासम्बन्धी कुनै तथ्यांक नभेटिएपछि तत्कालै पक्राउ गरिएको थियो। इनरुवा देवको ससुराली हो । उनीसँग रहेको नागरिकता २०५२ साल जेठ २ गते जारी भएको देखिन्छ । देवको नागरिकतामा सप्तरीको मयनाकडेरी गाविस स्थायी ठेगाना उल्लेखछ। भागवत देवको नाती योगेन्द्र देवको छोरा भई नेपाली नागरिकता लिएको देखिए पनि मैनाकडेरीमा भने देव थरको एक घर पनि बसोवास नरहेको स्थानीयको भनाइ छ।

देवसँग रहेको नेपाली नागरिकता तात्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले प्रमाणित गरेको देखिन्छ। देवले २०७० फागुन ४ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्रतिलिपिसमेत लिएका थिए। २०५२ सालमै लिइएको नागरिकतासम्बन्धी कुनै प्रमाण नदेखिए पनि २०७० सालमा पुनः प्रतिलिपि कसरी जारी भयो ? यो प्रश्नले जिल्ला प्रशासन कार्यालय सप्तरीको भूमिकामाथि समेत शंका गर्नुपर्ने स्थिति रहेको प्रहरी स्रोतको भनाइ छ। एक प्रहरी अधिकारी भन्छन्, ‘मूल नागरिकताकै अभिलेख नरहेको अवस्थामा कुन प्रमाणका आधारमा प्रतिलिपि जारि गरियो, कसले सिफारिस गरे, कसले प्रमाण भिडाए, यी सबै पक्षमाथि अनुसन्धान आवश्यक छ।’

प्रकाशित: १८ भाद्र २०७५ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App