२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।

गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकोले त्यसको खुसियालीको रुपमा आएको संविधान पनि जनताले खुसियालीपूर्ण ढंगले मनाउन पाउनुपर्ने धारणा राखे।

“२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो। संविधान दिवस सबैभन्दा ठूलो राष्ट्रिय दिवस हो। यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ,” ओलीले भने।

ओलीले संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने बताए। उनले  संविधान दिवसको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन्।

“संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ। यो जनजाती, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो” ओलीले भने, “यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झांकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ।”

ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञाप्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह गरेका छन्। उनले संविधान दिवसका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित: १७ भाद्र २०७५ ०७:३५ आइतबार

प्रधानमन्त्री_ओली गृह_मन्त्रालय जनताको_दिवस संविधान_दिवस