काठमाडौं– महिला नेतृहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकाका दोषीलाई मृत्युदण्ड दिन माग गरेका छन्। उनीहरुले अमेरिकामा बलात्कारीलाई मृत्युदण्ड दिन हुने, नेपालमा किन नहुने भनी प्रश्न समेत गरेका छन्।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापासहित महिला नेतृ उमा रेग्मी र चन्दा चौधरीले मृत्युदण्डको माग अघि सारेका हुन्। मन्त्री थापाले मृत्युदण्ड कानूनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिइन।
उनले भनिन्, ‘सरकार गम्भीर छ, अपराधीलाई कुनै पनि हालतमा कारबाही हुन्छ, जघन्य अपराधीलाई मृत्युदण्ड दिनमिल्ने हाम्रो कानून छैन्, आवाजहरु उठेका छन्, संविधान अनुसार हामीले बोल्ने हो। कि त संविधान संशोधन गर्नुपर्छ, अनिमात्रै अपराधीलाई मृत्युदण्ड दिन मिल्छ।’
उनले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न सरकार गम्भीर रहेको बताइन।
कञ्चनपुर घट्नाको बारेमा बनेको छानविन समितिले तत्काल काम गर्ने बताउँदै मन्त्री थापाले घट्नामा संलग्न जोकोहीलाई कानूनको दायारमा ल्याएरै छोड्ने बताइन् । हिजो साँझ गोली चलेर १४ वर्षीय बालकको निधन भएको घट्ना दुःखद् रहेको उनको भनाई छ।
नेपाल महिला संघकी अध्यक्ष एवम् सांसद उमा रेग्मीले बलात्कारलगायत महिलामाथि हुने हिंसा र जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाउन माग गरिन। उनले भनिन्, ‘बलात्कारमा संलग्न दोषीलाई मृत्युदण्ड दिने व्यवस्था अमेरिकाको अधिकांश राज्यमा छ। भारतमा पनि बलात्कारका घट्नाहरु बढ्न थालेपछि आन्दोलनमार्फत मृत्युदण्ड दिने व्यवस्था गर्न भारत सरकार बाध्य भयो। अब नेपालमा पनि संविधान संशोधन गरेर भएपनि बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्छ।’
८ देखि १० जना बलात्कारीहरुलाई सार्वजनिक ठाउँमा झुण्ड्याएर गोली ठोकेपछिमात्रै मानसिक रुपमा तिनीहरु बलात्कारलगायतका आपराधिक गतिविधिमा सलंग्न नहुने र महिलामाथि हिंसा गर्नुअघि एकपटक सोच्न बाध्य हुने उनको भनाई छ।
बलात्कारमा निर्मला हत्या प्रकरणमा संलग्न बास्तविक दोषीलाई कानूनी कारबाहीको दायरामा नल्याएर सरकारले मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई ‘डमी अभियुक्त’ खडा गरेर पीडकलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको पनि उनले आरोप लगाईन्। उनले न्याय माग्न जानेलाई छातीमा गोली हान्ने अधिकार प्रहरी प्रशासनलाई कुन कानूनले दियो भन्दै प्रश्नसमेत गरिन्।
राष्ट्रिय जनता पार्टीकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून आवश्यक भएकोमा जोड दिइन। उनले भनिन्, ‘जनताका मागहरु राज्यले पूरा गर्नुपर्छ । कञ्चनपुरका जनताहरु आँखामा आँसु बोकेर सडकमा उत्रेका छन्। कुनै राजनीतिक गन्ध दिएर सरकार र सरकारमा भएका व्यक्तिहरुले त्यो घट्नाका बारेमा बेखबर बन्न मिल्दैन। सरकारले यस घट्नालाई सरकारले गम्भिर रुपमा लिनुपर्छ। जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ।’
सांसद चौधरीले आफ्नो पार्टीका झापादेखि कञ्चनपुरसम्मका महिला नेतृहरु बलात्कारीलाई मृत्युदण्ड दिने कानून व्यवस्थाको लागि एक ढिक्का भएर उभिनेपनि विश्वास दिलाईन्।
समृद्धि र विकास नागरिकको सुरक्षाविना सम्भव नरहेको बताउँदै चौधरीले भनिन्, ‘राज्यले जनताको सुरक्षा दिने हो, तर यहाँ पीडकलाईसमेत जोगाउने पक्षमा सरकार लागेको देखिन्छ। दोषीलाई मृत्युदण्ड दिने हो भने यस्ता घट्नाहरुमा कमी आउँछन्, भारत र अमेरिकामा पनि पछि संविधान संशोधन गरेर मृत्युदण्डको कानून ल्याईको हो। हाम्रो देशमा पनि सम्भव छ।’
चौधरीले रेल, घर–घरमा ग्यास पाईप, पानीजहाज जस्ता खुद्रा कुरा गर्नुभन्दा पनि जनताका न्युनतम समस्याहरु समाधान गर्नुपर्नेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिन।
प्रकाशित: ९ भाद्र २०७५ १२:४० शनिबार