१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मिश्र कामु प्रधानन्यायाधीश

काठमाडौं - संसदीय सुनुवाइ विशष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी स्वास्थ्यको कारण देखाई घरबिदामा बसेपछि सर्वोच्च अदालतका अर्का वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले आइतबार कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन्।

‘आज (आइतबार) देखि ओमप्रकाश मिश्र श्रीमान्ले पेसी सूची तोकी कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभयो,’ सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नागरिकसँग भने। उनका अनुसार संविधानबमोजिम प्रधानन्यायाधीश वा कायममुकायम प्रधानन्यायाधीश विदेश गएको वा बिदामा बसेको अवस्थामा हुने स्वाभाविक प्रक्रियाबमोजिम मिश्रले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन्।

संविधानको धारा १२९ को उपधारा (६) मा उल्लेख छ, ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्नेछ।’

मिश्रले सर्वाेच्च अदालतको वेबसाइटमा जोशीको नाम हटाएर कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा आफ्नो नाम अपडेट गरेका छन्। जोशीले गत चैत १ गते गोपाल पराजुलीको नाम हटाएर आफ्नो नाम कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा वेबसाइटमा राखेकै शैलीमा मिश्रले पनि जोशीको नाम हटाएर आफ्नो नाम अपडेट गरेका हुन्। ‘वेबसाइट अपडेट गरेको विषय त मलाई जानकारी भएन,’ प्रवक्ता पोखरेलले भने, ‘कसैले निर्देशन नदिईकनै त आइटी विभागले पक्कै वेबसाइट अपडेट नगर्नुपर्ने हो।’

आइतबारको कजलिस्ट आफैं तोकेका मिश्रले न्यायाधीश बमकुमार श्रेष्ठसँग आफ्नो संयुक्त इजलास राखेका थिए। उक्त इजलासमा चालीस थान मुद्दा पेसीमा चढेकोमा केहीमा आदेश र केहीमा फैसला भएको छ। पेसी तोक्ने कार्य प्रधानन्यायाधीशको प्रमुख न्यायिक तथा प्रशासनिक कार्य हो भने न्यायपरिषद् र न्यायसेवा आयोगको अध्यक्षता गर्नु महŒवपूर्ण प्रशासनिक नेतृत्वको काम मानिन्छ।

प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेको थियो। अस्वीकृत भएपछि उनले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटी भदौ १ गतेसम्मका लागि घरबिदा स्वीकृत गराएका छन्। समितिले आफ्नो शैक्षिक प्रमाणपत्र शंकास्पद भएको आरोप लगाउँदै हचुवाका भरमा आफूलाई अस्वीकृत गरेको भन्दै जोशीले त्यसउपर स्वतन्त्र निकायबाट छानबिन गर्न सार्वजनिक रूपमा माग गरेका छन्। पारिवारिक सूत्रका अनुसार जोशी महाभियोग झेल्न तयार छन् तर वरिष्ठ न्यायाधीशको हैसियतमा कुनै पनि हालतमा राजीनामा नदिने मनस्थितिमा छन्।

संवैधानिक परिषद् र न्यायपरिषद्ले प्रधानन्यायाधीशमा अर्का न्यायाधीशको नाम प्रस्ताव गर्न बैठक तय गरिसकेको छैन। यसअघि नै न्यायपरिषद्ले वरिष्ठताका आधारमा जोशीसँगै सर्वाेच्च अदालतका न्यायाधीशहरू मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाइसकेकाले त्यसैका आधारमा प्रक्रिया अघि बढाउने वा फेरि वरिष्ठताका आधारमा नाम पठाउने भन्ने अन्योल कायमै छ।

आफूले नेपाल राष्ट्रिय विद्यापीठ काठमाडौं केन्द्रबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको र सो समयमा एसएलसी वा प्रवेशिकाका लागि दुई छुट्टाछुट्टै बोर्डको व्यवस्था रहेको तथ्यलाई उपेक्षा गरिएको भन्दै अहिले प्रयोगमा आइरहेको एसएलसी बोर्डका अतिरिक्त शिक्षा मन्त्रालयको परीक्षा विभागअन्तर्गत नेपाल राष्ट्रिय विद्यापीठ (एनआरभी) नामको बोर्ड सञ्चालनमा रहेको सोहीअन्तर्गत परीक्षा पास भएको बेहोरा पनि जोशीले वक्तव्यमार्फत शनिबार स्पष्ट पारेका थिए।

यसैबीच सर्वाेच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश तथा न्यायाधीशको शैक्षिक योग्यता तथा वैयक्तिक विवरणलाई लिएर बेलाबेलामा अनेकौं टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ। सर्वाेच्च अदालत बार सचिव अधिवक्ता शुभनराज आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा आगामी दिनमा न्यायाधीशको वैयक्तिक विवरण ठिक ढंगले राखी स्वतन्त्र न्यायालय र न्यायाधीशको मानमर्दन हुने कार्यमा रोक लगाउन सरकार, संवैधानिक परिषद् र न्यायपरिषद्लाई चनाखो रहन आग्रह गरिएको छ।

प्रकाशित: २१ श्रावण २०७५ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App