१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राजपाका सबै संरचना जातीय आधारमा

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालले आगामी महाधिवेशनपछि पार्टीको सबै संरचना जातीय कलष्टरबाट प्रतिननिधित्व हुनेगरी गठन गर्ने तयारी गरेको छ। वडादेखि केन्द्रसम्म गठन हुने सबै समिति जातीय प्रतिनिधित्वका आधार निर्माण गर्नेगरी पार्टीभित्र छलफल भइरहेको राजपाका नेताहरूले बताएका छन्।

राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले महाधिवेशनपछि राजपाको सबै संरचना जातीय कलष्टरका आधारबाट प्रतिनिधित्व हुनेगरी निर्माण गर्ने विषयमा पार्टीमा छलफल भइरहेको बताए। पार्टीको अध्यक्षमण्डलको बैठकमा यादवले यस्तो प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अन्य नेताहरू पनि सकारात्मक रहेको उनको भनाइ छ। उनले भने, ‘ऐन कानुन र संविधानलाई मान्ने हो भने पार्टीको सबै संरचना जातीय कलष्टरबाट प्रतिनिधित्व हुने गरी बनाऔं भनी मैले प्रस्ताव राखेको हुँ । मेरो प्रस्ताव पार्टीका नेताहरू सकारात्मक हुनुहुन्छ।’

जातीय कलष्टरका आधारबाट पार्टीको सबै संरचना निर्माण भएमा पार्टी पूर्णरूपमा समावेशी पार्टी हुने उनको ठहर छ। उनले भने, ‘जनसंख्याका आधारमा सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व होस् भनी हामीले माग राख्दै आएको छौं। हामीले राखेको माग हाम्रो पार्टीभित्र किन लागू नगर्ने भन्ने मेरो भनाइ हो।’ जातीय कलष्टरका आधारमा राजपाको सबैं संरचना बनाउने हो भने पार्टीभित्र बाहुन क्षेत्रीलाई आरक्षणको व्यवस्था राख्नुपर्ने हुन्छ । यादवले भने महाधिवेशन प्रतिनिधिसमेत जातीय कलष्टरका आधारबाट छानिनुपर्ने प्रस्ताव राखेका छन्। जातीय कलष्टरबाट महाधिवेशन प्रतिनिधि छानिए केन्द्रमा पनि सोहीअनुसार प्रतिनिधित्व हुने उनको भनाइ छ। यसैगरी पार्टीका अध्यक्ष मण्डलका ६ सदस्य पनि तलदेखि नै निर्वाचित भई महाधिवेशनमा आउनुपर्ने उनले प्रस्ताव राखेका छन्।

महाधिवेशनपछि पार्टीको संरचना कस्तो बनाउने भन्ने विषयमा विधान तयार गर्न पार्टीले लक्ष्मण लाल कर्ण, विर्खेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको तीन सदस्यीय विधान मस्यौदा समिति बनाएको छ। विधान मस्यौदा समितिले महाधिबेशन पछि राजपाको हालको अध्यक्ष मण्डल नराख्ने विषयमा करिब करिब टुंगो लगाइसकेको एक सदस्यले बताए। महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गरेमा हालका ६ अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विधान मस्यौदा समितिलाई सकस परेको छ। यस विषयलाई विधान समितिले सुल्झाउन नसकेको एक सदस्यले बताए। एउटा सल्लाहकार समिति बनाएर हालका ६ अध्यक्षलाई त्यसमा राख्ने गरी मस्यौदा बनाउने तयारी भएको पनि ती नेताले बताए।

महाधिवेशनपछि राजपालाई एकल नेतृत्व नेतृत्वमा लैजानुपर्नेमा पार्टीका सबै नेताहरू करिब करिब सहमत छन् तर राजकिशोर यादव भने अहिलकै अध्यक्षमण्डल कायम राख्नुपर्ने अडान राख्दै आएका छन्। आगामी भदौ मसान्तदेखि पार्टीको महाधिवेशन प्रक्रिया सुरू हुने यादवले बताए। महाधिवेशन प्रक्रिया सुरू हुनेबित्तिकै हालको ८ सय १५ सदस्यीय केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति निर्माण हुने राजपका एक शीर्ष नेताले जानकारी गराए। केन्द्रीय समिति विघटन भए पनि महाधिवेशनसम्म अध्यक्षमण्डल भने कायमै रहने भएको छ। पार्टीको विधानले नै अध्यक्षमण्डलको व्यवस्था गरेको छ। अन्तरिम विधानले नै अध्यक्षमण्डलको प्रावधान राखेकाले महाधिवेशनसम्म अध्यक्षमण्डल खारेज हुने पार्टीका अर्का एक नेताले जानकारी गराए।

महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाने भए अध्यक्ष को हुने भन्ने विषयमा अहिलेदेखि नै पार्टीका केही शीर्ष नेताले तयारी सुरु गरेका छन्। स्रोतका अनुसार पार्टीको अध्यक्षमा महन्थ ठाकुर र राजेन्द्र महतोले चासो देखाएका छन्। राजपाको संसदीय दलको नेतासमेत भएकाले ठाकुरले पार्टी अध्यक्षमा पनि चाहना राखेको ठाकुर निकट एक नेताले बताए। नेता महतोले संसदीय दलको नेता त्याग गरेकाले पार्टीको अध्यक्ष आफू हुनुपर्ने आकांक्षा राखेको ठाकुर निकट एक नेताले बताए। आगामी वैशाख ७, ८ र ९ गते राजपाको पहिलो महाधिवेशन हुँदैछ। गत साल वैशाख ७ गते तत्कालीन ६ मधेस केन्द्रित दलबीच एकीकरण भई राजपा गठन गरिएको थियो। राजपा गठन हुदाँ राजपाका नेताले एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेका थिए। तर एक वर्षभित्र महाधिवेशन नभएपछि अध्यक्षमण्डलका सदस्यले विधान संशोधन गरी २०७५ वैशाखसम्म महाधिवेशन गर्ने घोषणा गरेका छन्।

प्रकाशित: १७ श्रावण २०७५ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App