२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सर्वसत्तावाद विरुद्ध सडकमा : कांग्रेस

कास्की कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शन। तस्बिर: उमेश पुन

पोखरा- नेपाली कांग्रेसको राष्ट्रिय कार्यक्रम अन्तर्गत मंगलबार पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै कास्की कांग्रेसले पोखरामा वृहत र्‍याली प्रदर्शन सहित कोणसभा गर्‍यो।

कोणसभामा बोल्ने प्राय: नेताहरुले सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए। सरकारको विरोध कार्यक्रममा कांग्रेस कार्यकर्ताहरुले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने, अधिकार केन्द्रिकरण गर्न नहुने, संवैधानिक निकायलाई कार्यकारीको छायाँमा पार्न नहुने, अघिल्लो सरकारका नियुक्ती खारेज गर्न नहुने, वृद्धभत्ताको निर्णय उल्टाउन नपाईने विषयमा नाराबाजी समेत गरेका थिए।

यस्तै, कर दर वृद्धि तर महंगीमा सरकारले ध्यान नदिएको, नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गरेको तथा बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेको आरोप समेत उनीहरुले लगाएका थिए।

मंगलबार पोखराको पृथ्वीचोकबाट शुरु भएको जुलुस न्यूरोड हुदै चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो। जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

सभामा बोल्ने नेताहरुले सरकारको मनोमानी बन्द गरी देश र जनताको आवश्यकतामा गम्भिर बन्न सरकारलाई सचेत गराएका थिए । प्रेस माथिको अपमान, चर्को महंगी र करको विरोध गरिएको थियो।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले माफियाको ईशारामा सरकार चल्नु दुर्भाग्यपूर्ण भएको बताए।

उनले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएका जनपक्षिय निर्णयहरु खारेज गर्नु निन्दनीय भएको उल्लेख गरे।

आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले सरकारका गतिविधिले सरकारको आयु घट्दै गएको दावी गरे। काँग्रेस नेता यज्ञबहादुर थापाले सरकारका कारण नै जनता सडकमा आउनु पर्ने अवस्था सृजना भैरहेको बताए।

कार्यक्रममा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, नेता देवराज चालिसे, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङले बोलेका थिए।

 

प्रकाशित: १५ श्रावण २०७५ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App