१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चिनियाँ एनजीओ पहिलोपटक नेपालमा

तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं– उत्तरी छिमेकी चीनका गैरसरकारी संस्था (एनजीओ) पहिलोपटक नेपाल भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओ विधिवत रुपमा नेपाल भित्रिएका हुन्। 

आइतबार समाज कल्याण परिषद् र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जबीच (सिएनआई)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा र चीनका उप मन्त्री वाङ याजुनको उपस्थितीमा समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्ट र (सिएनआई)का सदस्य सचिव जु रुईले तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर गरे। 

हस्ताक्षर समारोहमा बोल्दै चिनियाँ उपमन्त्री वाङ याजुनले चिनियाँ एनजीओको प्रवेशले समृद्ध नेपाल सुखी नेपाली अभियानमा सहयोग पुग्ने धारणा राखे। जनताबीचको आदानप्रदान दुई देशको सम्बन्धका लागि महत्वपूर्ण भन्दै उनले मैत्रीपूर्ण आदानप्रदानले विकासलाई अघि बढाउने बताए। ‘दुई दिनपछि चीन र नेपालको दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्ष पुग्न लागेको अवसरमा यो कार्यक्रम पनि महत्वपूर्ण छ’, उनले भने। 

उनले युवा, महिला बालबालिका तथा जनस्तरमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सबै क्षेत्रमा सहकार्य गर्ने बताउँदै एनजीओमा ५० लाख डलरको लगानी भएको बताए। भर्खरै नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गरेर मित्रता बलियो बनाएको भन्दै उनले द्विपक्षीय सहयोगले जनस्तरमा सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे।

महिला तथा बालबालिका मन्त्री थममाया थापाले नेपालका विकास निर्माण र परिवर्तनका लागि सहयोगमार्फत चीनले देखाएको आत्मियताले सम्बन्ध अझै प्रगाढ बनाउन सकारात्मक सन्देश दिएको धारणा राखिन। ‘दुई देशका एनजीओबीच पहिलोपटक भएको समझदारी सकारात्मक सुरुवात हो’, उनले भनिन्, ‘सम्झौता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ।’ 

यो सम्झौताले सरकार मात्र होइन जनताको बीचमा एकआपसमा विश्वासको सम्बन्ध कायम गर्न एनजीओ र आइएनजीओले भुमिका खेल्ने उनको भनाई छ। ‘दुई देशको जनताको बीचमा फराकिलो ढंगले सम्बन्ध विस्तार हुनेछ’, उनले भनिन्। 

एनजीओको स्वास्थ्य, शिक्षा, स्वरोजगार कार्यक्रमबाट नेपालीको जीवनस्तरमा मद्दत पुग्ने बताउँदै मन्त्री थापाले देशलाई समृद्ध बनाउने अभियानमा सघाउने पुग्ने विश्वास गरिन्। उनले चिनियाँ एनजीओसँग सहकार्य गरेर अघि बढ्ने विश्वास समेत दिलाइन। ‘जनताबीको सम्बन्ध अझै गाढा बनोस’, उनले भनिन्। 

समाज कल्याण परिषदका उपाध्यक्ष निलमणी बरालले चिनियाँ एनजीओ नेपालको स्वास्थ्य, शिक्षा, विपद लगायत क्षेत्रमा काम गर्नेगरी आएको जानकारी दिए। यसमा नेपाली एनजीओले सहकार्य गर्ने बताए। ‘समाज कल्याण परिषदले विभिन्न देशका दातृ निकायसँग सहकार्य गर्दै आएको छ। अब यसमा चीन पनि थपिएको छ’, उनले भने, ‘चिनियाँ एनजीओको आगमनले नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा मद्दत पुगाउनेछ।’ उनका अनुसार परिषदले दातृ निकायबाट वार्षिक ५२ अर्ब बढी रकम भित्र्याउने गरेको छ।

चिनियाँ उपमन्त्रीको प्रधानमन्त्रीसँग भेट

यसैबीच आइतबारै नेपालमा आएका चिनियाँ उपमन्त्री वाङ याजुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। 
भेटमा मन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउँदै गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामका बारेमा सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्नका लागि चीन आतुर रहेको जानकारी गराए। ‘सरकार सरकारबीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नुपर्छ,’ वाङले भने।

जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको यातायात र पारवहन सन्धिलाई चाँडै कार्यान्वयनमा लैजाने पक्षमा स्पष्ट पारे। ‘दुई वर्ष पहिले चीनसँग गरिएको यातायात तथा पारवहन सन्धिलाई हामी छिट्टै निष्कर्षमा पु-याउँदैछाैं। भूपरिवेष्टित देश भएकाले यो सन्धिमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौँ’, उनले भने।  

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए। ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ,’ ओलीले भने, ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा स्वागत गर्न हामी आतुर छौँ।’ 

प्रकाशित: १३ श्रावण २०७५ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App