१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पानीजहाज चल्दा किन पीर : ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बनाउने, कोसी नदीमा पानीजहाज चलाउने विषयलाई मजाकमा उडाइएको गुनासो गरेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले भने, ‘पिर पर्नुको पनि एउटा हद हुन्छ नि ? पानीजहाज चल्दा किन पीर गर्ने ?’

ओलीले पूर्व–पश्चिम रेल बनाउने कुरा गर्दा पनि केही बुद्धिजीवीले रेल किन चाहियो भनेर तर्क गरिरहेको आरोप लगाए । ‘दुनियाँलाई रेल चाहियो, तिब्बतलाई रेल चाहियो, भारतमा अंग्रेज आउनेबित्तिकै रेल ल्यायो । विकासका लागि रेल चाहिन्छ,’ ओलीले भने ।

रेल किन चाहियो भन्नेहरुलाई पछि नातिनातिनीले प्रश्न गर्ने उनको भनाइ छ । ‘भोलि उनीहरुका भावी पुस्ताले प्रश्न गर्नेछन, रेल ल्याउनेभन्दा तपाईंले मजाक गर्नुभएको थियो रे भनेर सोध्नेछन्, त्यतिबेला जवाफ दिन गाह्रो पर्ला’, ओलीले भने । उनले थपे, ‘रेल त ल्याइन्छ ल्याइन्छ, बन्यो बन्यो । कसैले रोक्न सक्दैन । यो नेकपाको स्थायी सरकार हो त्यसैले ढुक्कले भन्दैछु ।’ ओलीले रेल ल्याउनुअघि सरकारलाई अल्झाउँछु काम गर्न दिन्न भन्ने कल्पना कसैले पनि नगरे हुने बताए । ‘जनताको म्यान्डेट पाएर आएको सरकारले एउटा पनि अलोकतान्त्रिक काम गर्दैन,’ ओलीले भने।

ओलीले डाक्टरले इमर्जेन्सीमात्र राखेर सबै सेवा बन्द गर्नु गलत भएको बताए । ‘सेवा बन्द गर्दा ब्लड चाहिने बिरामीले के गर्छ ? अरु औषधि चाहिने बिरामीले के गर्छ, यस्ता कुरामा संवेदनशील हुनुपर्दैन’, ओलीले प्रश्न गरे । ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको वर्गीय संगठनको कार्यकर्ताका रुपमा जनताको स्वास्थ्यप्रति खेलवाड गर्नु किन्चित सह्य नहुने बताए ।

‘मलाई जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्वबारे बोध छ । म गोलघरमा हुँदा पनि जनताको प्रतिनिधि थिएँ, आज पनि जनताकै प्रतिनिधि हुँ । म संवादका माध्यमबाट समस्या समाधान गर्न तयार छु ।’

‘बिरामीको उपचार गर्ने ठाउँमा जागिर खाने, फेरि जागिर खाएको पनि भन्न नहुने, यो उचित होइन र हुन सक्दैन्,’ ओलीले भने । प्रधानमन्त्री ओलीले आफूले धेरै कुरा गर्न नचाहेको बताए । ‘अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिन लाग्यो, त्यहाँको अस्पतालले लेखेर दिएको छ, कुनै पनि बेला डा. केसीको स्वास्थ्य बिग्रन सक्छ भनेर तर अरु असम्बन्धित तत्वले ढोका थुनेर आक्रमण गरेर केसीलाई सुविधासम्पन्न ठाउँमा ल्याउन नदिने प्रयास गरे,’ उनले भने ।

अनावश्यक रुपमा गोली चलाइयो भन्ने हल्ला चलाइएको बताउँदै ओलीले डा. केसीलाई जुम्लाबाट काठमाडाैं ल्याउन अवरोध खर्डा गर्न खोज्ने तत्वले गर्न खोजेको के हो भन्दै प्रश्न गरेका थिए । ‘एउटा अनशनकारीलाई बचाउन खोज्दा मसालधारी आएर व्यवधान गर्ने किन,’ ओलीले भने । केही तत्वहरुले आफ्नो राजनीतिको रोटी सेक्ने ठाउँ डा. केसीलाई बनाएको प्रधानमन्त्रीको आरोप थियो । ‘डा. केसीका माग होलान् तर वार्ता गर्न र संवाद गर्न केसीलाई नदिने, बाटो छेक्न अरु आउने, स्वास्थ्य जाँच र उपचार गर्न सरकारलाई नदिने, यो कस्तो परिदृष्य हो’, ओलीले प्रश्न गरे ।

मन्त्रीहरुका अनुपयुक्त भनाइ र अरुका अनुपयुक्त भनाइप्रति पनि आफ्नो ध्यान गएको भन्दै प्रधानमन्त्री ओलीले सबै समस्याप्रति प्रधानमन्त्रीको हैसियतले विधिसम्मत तरिकाले सम्बोधन गरिने बताए । ‘मलाई जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्वबारे बोध छ । म गोलघरमा हुँदा पनि जनताको प्रतिनिधि थिएँ, आज पनि जनताकै प्रतिनिधि हुँ । म संवादका माध्यमबाट समस्या समाधान गर्न तयार छु,’ उनले भने ।अहिले सरकार सानामसिना कुरामा अल्झिन नहुने भन्दै गल्ती सबैका हुने ओलीको भनाइ थियो । ‘स्वर्गबाट ल्याइएका मान्छे होइनन्, हामीबीचकै मान्छे हुन, आनीबानी त्यही हो । तीनै मानिसलाई लिएर हिँड्दा सबै कुरा एकैपटक परिवर्तन हुन सक्दैन,’ ओलीले भने ।

कार्यक्रममा प्रेस चौतारी र प्रेस सेन्टर निकट पत्रकारहरुले सरकार बनेको पाँच महिना पुगिसक्दा पनि प्रधानमन्त्री सचिवालयले प्रधानमन्त्री र पत्रकारबीचको भेटघाटको वातावरण नबनाएको भन्दै गुनासो गरेका थिए।

प्रकाशित: ९ श्रावण २०७५ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App