१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनको तयारीमाः नेता पौडेल

तस्बिरः नागरिक

मकवानपुर – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको सरकारले विभिन्न ‘गलत’ काम गर्न थालेकाले त्यसका विरुद्ध खबरदारी गर्न कांग्रेस सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

सरकारको तानाशाही प्रवृत्तिको बारेमा जनतालाई जानकारी गराउन साउन १५ गते देशैभर विरोध कार्यक्रम गरिने पौडेलले बताए। चितवनबाट बीरगन्ज जाने क्रममा बिहीबार हेटौंडामा जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै उनले भने, ‘सरकारको गलत निर्णय र प्रवृत्तिको बारेमा सरकारलाई सचेत गराउन कांग्रेस बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो।’

‘संविधानको भावना र मर्म अनुसार सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्छ,’ उनले भने, ‘तर पार्टी एकीकरण गरेर पनि नेकपाले २ वटै सिट हडप्दै तानाशाह लाद्न खोजेको छ।’ नेता पौडेलले कांग्रेस जहिले पनि समानतामूलक र न्यायमूलक समाज निर्माणमा लागिपरेको दाबी गरे।

‘गुणस्तरीय स्वास्थ्य, गुणस्तरीय शिक्षा हुनु नै समाजबाद हो,’ बरिष्ठ नेता पौडेलले भने, ‘कमाउ धन्दामा लागेका विभिन्न क्षेत्रका माफियालाई नेकपाले प्रोत्साहन गर्ने तथा राज्यको श्रोत र साधनमा लुटतन्त्र र नयाँ शोषक वर्ग जन्माउन उद्यत रहेको छ।’

नेकपाका नेताहरूलाई कम्युनिज्म लागू गर्न चुनौती दिँदै उनले कांग्रेस र कम्युनिष्टको विगत र अहिलेको काम कारबाहीको गम्भीर भएर तुलना गर्न आमजनता तथा पार्टीका कार्यकर्तालाई आग्रह पनि गरे। कांग्रेस आजसम्म पूर्वाधार विकासमा केन्द्रित भएर लागेको बताउँदै अब जनतालाई समृद्ध बनाउन लाग्ने बताए।

लामो समयदेखि अनसनरत डा. गोविन्द केसीको माग जायज भएको भन्दै उनले माथेमा आयोगको प्रतिवेदनलाई काँग्रेस नेतृत्वको सरकारले अध्यादेशको रुपमा ल्याएको तर्क गरे। ओली नेतृत्वको सरकारले स्वास्थ्य माफियाको प्रलोभनमा परेर ठिक उल्टो बनाएर विधेयक ल्याएकोमा गम्भीर आपत्ती जनाउँदै नेता पौडलले कांग्रेस सरकारले ल्याएको अध्यादेश विधेयकको रुपमा ल्याउनुपर्ने जिकिर समेत गरे।

प्रकाशित: ३ श्रावण २०७५ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App