१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘राज्यले न्याय खोस्दैछ कहाँ जाऊँ’

काठमाडौं – ‘तपाईंको भाइको हत्याका दोषीलाई सरकारले माफी दिँदैछ रे नि!’ क्षणक्षणमा यो शब्द सुनेपछि सावित्री श्रेष्ठको मन भक्कानिन्छ। हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय भोगिरहेका नेता बालकृष्ण ढुंगेललाई सरकारले माफी दिन लागेको सुनेपछि उनलाई भोक न निद्रा भएको छ । उनीमात्र होइन श्रेष्ठ परिवार निराश बनेको छ।

ढुंगेललाई पक्राउ गरी जेल पठाउँदा उनले भनेकी थिइन्, ‘न्यायको लडाइँ जितें,’ अहिले भनिन्, ‘राज्यले मेरो न्याय खोस्दैछ, कहाँ जाऊँ!’ उनका भाइ उज्जन श्रेष्ठको हत्या भएको आगामी असारमा २० वर्ष पुग्दैछ।

सशस्त्र द्वन्द्वको समयमा भाइ मारिएपछि न्यायका लागि १९ वर्ष अदालत धाएकी सावित्री नेता ढुंगेललाई जेल पठाउन सफल भएकी थिइन्।

‘भाइ हत्याका दोषीलाई राज्यले माफी दिने कुरा सुनेर निराश छु’, शनिबार नागरिकसँग सावित्रीले भनिन्, ‘न्यायका लागि यति धेरै लडें। छोड्ने कुरा सुन्दैछु । म न्यायका लागि अब कहाँ जाऊँ!’

भाइको न्यायका लागि लड्दालड्दै दाजुको ज्यान गएपछि सावित्री एक्लै लडेकी थिइन्। ढुंगेललाई राज्यले माफी दिएर छोड्न लागेको थाहा पाएपछि उनको परिवार दुःखी छ।

ढुंगेललाई छोडेपछि परिवार पनि असुरक्षित हुने उनको डर छ। ‘२०७३ चैत २८ गते रामेछापमा भाषण गर्दा पटकपटक हाम्रो घर कब्जा गर्छु भनेको रेकर्ड छ। ढुंगेलले मेरो नामै किटेर घर कब्जा गर्छु भनेका थिए,’ उनले भनिन्।

सर्वोच्च अदालतको फैसलापछि सजिलै पक्राउ परेका थिएनन्। पटकपटकको मुद्दापछि सर्वोच्चले पक्राउ गर्ने आदेश दिनुपरेको थियो। सावित्री भन्छिन्, ‘बल्लबल्ल पक्राउ परेपछि न्यायको अनुभूति भएको थियो। मनमा केही न्याय पाएको शान्ति भएको थियो। फेरि न्याय खोसिँदै गरेको अनुभव भएको छ। जसरी दाजुभाइ मारिँदा दुःखी भएका थियौं। त्यस्तै दुःखी छौं,’ उनले भनिन्, ‘हामी कहाँ जाने, बाटो नै बन्द भइसक्यो।’

देश छोडेर बाहिर कतै जाने ठाउँ नभएको सावित्रीले दुःखेसो पोखिन्। ‘सरकारले छोड्ने भएछ, मान्छे मारेर खुलमखुला न्यायाधीशलाई समेत धम्की दिने व्यक्ति हो। सर्वसाधारणले के हविगत होला?’ उनले भनिन्। परिवारका तीनजनाको ज्यान मार्दा आफूहरु कानुनी बाटोबाट न्याय खोज्न गएको बताइन्।

न्यायालयले न्याय दिएपछि पटकपटक सरकारसँग लड्नुपरेको थियो। अब सरकारले नै छोड्न खोजेपछि उनको जाने ठाउँ कतै नभएको गुनासो छ। ‘न्यायका लागि सधैं पिल्सिएर बस्नुपर्ने! अपराधीलाई देख्दा लुकेर बस्नुपर्ने अवस्था आयो,’ सावित्रीले भनिन् ‘न्याय दिने राज्यको दायित्व थियो। हामीले पाएको न्याय राज्यले खोस्दैछ । कहाँ गएर रुनु, कहाँ गएर कराउनु, हामी यति पीडामा छौं। यहाँभन्दा माथि जाने ठाउँ छैन भन्छन्।’

बालकृष्ण ढुंगेललाई २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्या कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । फेरि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

यसैबीच ढुंगेललाई माफी दिने सरकारको तयारीप्रति द्वन्द्वपीडित साझा चौतारीले विरोध जनाएको छ। चौतारीका अध्यक्ष भागीराम चौधरीद्वारा जारी विज्ञप्तिमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याका दोषी ढुंगेललाई माफी दिएमा राज्यको भूल हुने उल्लेख छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App