५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जनकपुर–मुस्ताङ हुँदै काठमाडौं पुग्ने

मोदी भ्रमणको तयारीबारे बाह्रविघा मैदानको अनुगमन गर्दै मन्त्री थापा । तस्बिरः सुरेश यादव

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।

जनकपुरस्थित जानकी मन्दिर र त्यसपछि मुक्तिनाथ मन्दिरमा पुगेर दर्शनगरी काठमाडौं पुग्ने मोदीको भ्रमण तालिका निर्धारण भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
मोदी भ्रमणको लागि भइरहेको पूर्व तयारीको स्थलगत अनुगमन गर्न मंगलबार जनकपुर आएका गृहमन्त्री थापाले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा मोदीको भ्रमण रुटवारे खुलाएका हुन् । भारत, विहारको राजधानी पटनाबाट हेलिकोप्टर चढेर मोदी जनकपुर आउने कार्यक्रम तय भएको उनले बताए।

‘भारतीय प्रधानमन्त्रीजीले जानकी मन्दिर र मुक्तिनाथ मन्दिरको दर्शन गर्ने योजना पुरानै हो । त्यसबेला केही प्राविधिक कठिनाइको कारण त्यो सम्भव हुन नसकेपछि यतिबेला धार्मिक भ्रमणको रुपमा उहाँको आगमन हुँदैछ’ जिल्ला प्रहरी कार्यालय, धनुषामा सञ्चारकर्मीसँग मन्त्री थापाले भने, ‘यस पटक हुन लागेको मोदीको भ्रमण नितान्त धार्मिक यात्राको रुपमा हुँदैछ।

’प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप मजबुत भएको सन्देश दिन पनि भारतीय प्रधानमन्त्री मोदीको यो धार्मिक भ्रमण अर्थपूर्ण हुने थापाले विश्वास व्यक्त गरे ।जनकपुरस्थित रंगभूमि मैदान बाह्रविघामा हेलिकोप्टर अवतरणपछि मोदीले त्यहाँबाट करिब आधा किलोमिटर दुरीमा रहेको जानकी मन्दिर पुगेर पूजापाठ गर्नेछन् ।

जानकी मन्दिरबाट पुनः बाह्रविघा मैदानमा फर्केपछि नागरिक अभिनन्दन गरिने र सोही अवसरमा मोदीले सहभागीलाई सम्बोधन गर्ने कार्यतालिका बनाइएको उनले बताए । जनकपुरबाट सोझै मुक्तिनाथ मन्दिर पुग्ने र त्यहाँ पूजापाठ गरिसकेपछि काठमाडौं पुगेर एक रात विश्राम गर्ने मन्त्री थापाले जानकारी दिए।संघीय सरकारको समन्वयमा प्रदेश सरकारले मोदी भ्रमणको सम्पूर्ण तयारी गरिरहेको गृहमन्त्री थापाले बताए।

‘मोदीजीको जनकपुर भ्रमण सम्बन्धी सम्पूर्ण तयारी प्रदेश सरकारले गरिरहेको छ’ थापाले भने, ‘उहाँ (मोदी) जनकपुरहुँदै नेपाल आउन लाग्नु भएकाले स्वागतका लागि हाम्रा प्रधानमन्त्रीजी आफै आउने सम्भावना छ तर यसवारे स्पष्ट कार्यक्रम बनिसकेको छैन ।’ मोदीको यो भ्रमण नेपालको गौरवसँग सरोकार राख्ने बताउँदै उनले उनको सम्मानमा सरकारले भरपुर व्यवस्थापन गर्न लागेको उल्लेख गरे।भ्रमण तयारीको अनुगमनमा आएका थापाले बाह्रविघा मैदान, जानकी मन्दिर र उक्त बाटोको अवस्था बुझेका छन् ।

जानकी मन्दिरमा करिब दश मिनेट पूजापाठ गरेपछि जिल्ला प्रहरी कार्यालयमा पुगेर मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई सुरक्षा व्यवस्थापनमा गम्भिर हुन निर्देशन दिए । ‘वर्षाको कारण बाह्रविघा मैदानमा पानी जमेको देखियो । निर्माण क्रममा रहेको बाटोघाटोको अवस्था पनि ठीक छैन । यी सबै भौतिक व्यवस्थापनका लागि प्रदेश सरकारलाई आग्रह र सुरक्षाको लागि सुरक्षा प्रमुखहरुलाई निर्देशन गरेको छु’ सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशनपछि उनले सञ्चारकर्मीसँग भने।

गृहमन्त्री थापाले बाह्रविघा मैदान र जानकी मन्दिरको अनुगमन गरिसकेपछि काठमाडौं फर्किन हेलिकोप्टर चढ्न गएको बेला मुख्यमन्त्री लगायत प्रदेश सरकारका मन्त्रीहरु बाह्रविघा मैदानमा आइपुगेका थिए । त्यहाँको छोटो भेटमा मुख्यमन्त्री राउतले गृहमन्त्री थापासँग समन्वयमा कमी भएको गुनासो गरे।

‘प्रदेश सरकार र संघीय सरकारबीच हुनुपर्ने जतिको समन्वयमा कमी भइरहेको छ’ मुख्यमन्त्री राउतले थापालाई भने, ‘समन्वयको पाटो जति मजबुत भयो त्यति नै राम्रो हुने भएकाले यसतर्फ ध्यान दिनुस्।’थापाले जनकपुरको तयारी अनुगमन गर्न आउन लागेको वारे आफुहरुलाई पूर्व जानकारी नभएको राउतले गुनासो गरे।

थापाले आफु आउनु अगावै प्रदेश सरकारलाई खबर गर्न मातहतको निकायलाई निर्देशन दिएको दावी गरे । नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालले मुस्ताङ जाने कार्यक्रम बनेकोमा अचानक पहिले जनकपुर पुग्ने रुट बन्नपुगेकोले खबर दिन प्राविधिक समस्या भएको हुने सक्ने बताउँदै सुरक्षा निकायले प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।मोदीको जनकपुर भ्रमणको तयारीमा मुख्यमन्त्री राउत समेत प्रदेश सरकारका सबै मन्त्री र जनकपुर उपमहानगर पालिका प्रमुख अहोरात्र सक्रिय छन् ।

मुख्यमन्त्रीको नेतृत्वमो स्वागत समारोह मूल समिति गठन गरिएको छ भने अन्य मन्त्रीहरुले पनि विभिन्न तयारीको जिम्मेवारीमा क्रियाशिल छन् । भ्रमण तयारीवारे स्थानीय सरोकारवाला पक्षहरुसँग समन्वय गर्न जनकपुर उपमहानगर पालिकाले बुधबार दिउँसो सर्वपक्षीय बैठक आह्वान गरेको छ ।
मुख्यमन्त्री राउतले बाह्रविघा मैदानमा पानी जमेको भागमा माटो र ग्राभेल पुर्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयलाई निर्देशन दिएका छन्।

‘तत्काल पानी जमेको भाग मिलाउनुस् । तीन दिनभित्र भौतिक व्यवस्थापन गरी सजावट र प्रचारप्रसारमा केन्द्रित हुनुपर्छ’ मुख्यमन्त्री राउतले मातहतका कर्मचारीहरुलाई निर्देशन गर्दै भने, ‘यहाँ (बाह्रविघामा) पण्डाल लगाएर केही कुर्सी व्यवस्थापन गर्नुस्, म आफै बसेर सबै तयारीको काम पुरा गराउँछु ।’ राउतले मोदीको भ्रमण जनकपुरको लागि निकै अर्थपुर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले स्थानीय तह र संघीय सरकारसँग समन्वयगरी उनको स्वागतमा कुनै कमजोरी हुन नदिने बताए ।


 

 
 

 

प्रकाशित: १९ वैशाख २०७५ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App