१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘एकतापछि सिंगो पार्टी प्रचण्डको हातमा हुन्छ’

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी पार्टी एकताबाट पछि हट्ने ठाउँ नभएको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता भट्टराईले दुबै दलले एक–अर्काको अस्तित्व स्वीकार गरिसकेकाले अब पछि हट्ने ठाउँ नभएको र दुई पार्टीबीचको एकता धेरै नजिक रहेको दाबी गरे।

उनले पार्टी एकता ५०/५० को अनुपातमा भन्दापनि सिँगो पार्टी भनेको सय प्रतिशत हुने बताउँदै भने, ‘सिँगो पार्टी नै भएपछि त उहाँ (प्रचण्ड) को हातमा पार्टी हुन्छ।’ एकतामा जाँदा पार्टी बलियो हुनुपर्ने उनको धारणा छ। ‘एकता गर्ने भनेको त बलियो पार्टी बनाउने हो नि’ उनले भने, ‘त्यसैले जग बलियो बनाउनुपर्छ, जसरी घर बनाउँदा बलियो जग हालिन्छ, नक्कली माल प्रयोग गर्नुहुँदैन, बरु सक्कली माल प्रयोग गर्नुपर्छ।’

भट्टराईले एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने समेत स्पष्ट पारे। अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने स्पष्ट पार्दै सचिव भट्टराईले भने, ‘कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ। लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन। जो पनि अध्यक्ष हुनसक्छ। अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ।’

राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको उल्लेख गर्दै सचिव भटृराईले भने, ‘विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन। यहाँ कति हिस्सा भन्ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ। पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन।’

एकीकृत पार्टीमा चार जना प्रधानमन्त्री भैसकेका नेताहरु रहने भएकोले आफूहरुले मिलेर पार्टी हाँक्ने उनको विश्वास थियो। उनले भने, ‘एउटा जंगलमा दुई शेर बस्न सक्दैनन् भन्ने छ, तर हाम्रोमा ४–४ जना शेर पनि मिलेर देखाउँछौं।’

'अध्यक्ष दाहालले भनेजस्तै अचानक नै पार्टी एकता हुन्छ'

नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले एमाले–माओवादी केन्द्रबीच एकता हुने बताउँदै यसप्रति आशंका नगर्न आग्रह गरे। उनले भने, ‘एकता रफ्तारमा छ, हामीबीच छिट्टै एकता हुन्छ।’

एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भिर छलफल चलिरहेको विडारीको भनाई थियो। आफ्नो पार्टीका अध्यक्ष दाहालले भनेजस्तै अचानक नै पार्टी एकता हुने उनको भनाई थियो।

उनले भने, ‘वाम गठबन्धन घोषणा गर्दा जसरी हामीले ताजुक खुवाएका थियौं, त्यसैगरि एकता गरेर ताजुक खुवाउँछौं।’ उनले यही बैशाखभित्रै दुई पार्टीबीच एकता हुने विश्वास दिलाए।

प्रकाशित: १८ वैशाख २०७५ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App