३ चैत्र २०८१ आइतबार
image/svg+xml ०:२२ पूर्वाह्न
राजनीति

गगनले देखेका जनअसन्तुष्टिका दुई प्रमुख कारण

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनअसन्तुष्टि बढिरहेको सत्य भएको बताएका छन्। बुधबार (आज) नवलपरासी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'त्यसलाई कसरी सम्बोधन गर्नेबारे बढी कांग्रेसले काम गर्नुपर्छ,' थापाले भने, 'त्यसमा काम गर्ने नै छौँ, राष्ट्रिय बहस चलाउने छौँ। सँगैमा सबै दलहरूले पनि सोच्नुपर्छ।'

उनले मूलत: दुईवटा कारणले जनअसन्तुष्टि बढिरहेको बताए। उनले औँल्याएको पहिलो कारण भ्रष्टाचार र भ्रष्टाचारीलाई दण्ड नहुनु हो। 'अहिले धेरैलाई के परेको छ भने भ्रष्टाचार व्यापक नै छ। तर, उनीहरूलाई दण्ड भएको छैन भन्ने छ। खासगरी अहिलेको युवा पुस्तालाई त्यो छ। त्यो हो कि होइन भन्नेबारे छानबिन हुनुपर्‍यो र दण्डित हुनुपर्‍यो,' उनले भने।

थापाले थपे, 'अख्तियार छ हामीसँग, तर अख्तियारले पनि छानी-छानी छानबिन गर्छ रे, मुद्दा चलाउँछ रे। अब भनेपछि हामीले के गर्ने ? न अख्तियारले गरेको छानबिन चित्तबुझ्दो हुन्छ, न सरकारले गरेको। अबचाहिँ सर्वदलीय निर्णयबाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाए पनि बनाऔँ, विश्वास लाग्ने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाए पनि बनाऔँ। त्यसपछि सबै नेताको सम्पत्ति छानबिन पनि गरौँ। र, जो-जो दोषी देखिन्छन्, उनीहरूलाई पाता फर्काएर लगौँ। त्यसमा मामा वा आमा कोही नछुटाऔँ।'

थापाले जनअसन्तुष्टिको दोस्रो कारण भने रोजगार नहुनु भनेका छन्। 'पहिलो कुराचाहिँ रोजगार छैन, जागिर छैन र जसको छ, उसले पनि पेटभरि खान पाएको छैन। भनेपछि अर्को चर्को असन्तुष्टिचाहिँ यहाँनेर छ,' उनले भने, 'यसलाई कसरी सम्बोधन गर्ने ?'

उनले यसबारे आफूले राष्ट्रिय बहस चलाउन खोजिरहेको पनि बताए। 'यसमा कांग्रेसले पनि बहस गर्नेछ। अब यी तमाम विषयबारे निष्कर्षमा पुगेर काम नगरी हुँदैन, हामीले गर्नेछौँ,' उनले भनेका छन्।

प्रकाशित: २८ फाल्गुन २०८१ १६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App