राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफ्नो पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक जना बलात्कारीलाई जीवनदान दिएको दाबी गरेकी छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत यो विवादास्पद अभिव्यक्ति दिएकी हुन्, जसले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ।
संग्रौलाले सुरुमा लेखेको स्टाटसमा "रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको" भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखिन्। उनको नयाँ स्टाटसमा भनिएको छ, "एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।" यो स्टाटसले नेकपा एमालेका नेता महेश बस्नेतप्रति लक्षित गरेको आकलन गरिएको छ।
संग्रौलाको यो अभिव्यक्ति महेश बस्नेतसँग जोडिएर विवादमा रहेकी शोभा पाठकप्रति पनि एक प्रकारको सहानुभूति देखाउने प्रयासको रूपमा लिइएको छ। उनले बारम्बार पाठकको न्यायका लागि सोसल मिडियामा स्टाटस लेखिरहेकी छिन्।
रास्वपाले आफूलाई सुशासनको पार्टी भन्दै आएको छ, तर ज्वाला संग्रौलाको यो बयानले आफ्नो पार्टी सरकारमा रहँदा बलात्कारीलाई जीवनदान दिएको भन्ने कुरा उजागर गरेको देखिन्छ। यसले रास्वपाको दोहोरो चरित्रलाई औंल्याउँछ, जहाँ सत्तामा रहँदा सुशासनको गफ दिने तर सत्ता बाहिर हुँदा फेरि त्यही सुशासनको कुरा उठाउने प्रवृत्ति देखिन्छ।
यसैबीच, शनिबार राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै बस्नेतले रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै धरौटीमा रिहा भएको सन्दर्भमा शंका व्यक्त गरे। उनले भनेका थिए, ‘४५० वटा चेक पनि काटेकै हो। गोर्खा मिडियाको एमडी हुनुभन्दा अगाडिदेखि सहकारीबाट पैसा लिएकै हो। १५ प्रतिशत स्वीट सेयर भन्दिए। तर, त्यो दुई करोडको पैसा सेयर रहेछ। त्यो पनि स्वर्णलक्ष्मी सहकारीबाट। पुरानो चेक काटेको हो। ८९ करोड भन्दा बढी पैसा सहकारीमा बुझाएकै हो।’
रास्कोट अस्पताल लगायतका विभिन्न ठाउँबाट श्रीमतीको नाममा पटक पटक रकम बुझाएको कुरा पनि रविले स्वीकार गरेको भन्दै बस्नेतले थपे, ‘तर, ६० लाख र ६५ लाख धरौटीमा छाडिन्छ। न्यायाधीशको फैसला हामी मान्छौं। तर, के यो न्यायोचीत फैसला हो त?’ सो अवसरमा उनले एउटै अपराधमा अलग अलग न्याय भएको पनि भनेका थिए।
रवि लामिछानेमाथि देशभरका विभिन्न सहकारीको रकम अपचलनको आरोप छ। उनी पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा क्रमशः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। अहिले बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा उनीविरुद्ध बहस चलिरहेको छ।
प्रकाशित: १३ माघ २०८१ ०८:५४ आइतबार