४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

अस्थिर राजनीतिले अर्थतन्त्र ओझेलमा: सञ्चारमन्त्री

फाइल।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आज राजधानीमा आयोजित १५औं वार्षिक साधारण सभामा उनले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको उल्लेख गरे।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै राजस्व सङ्कलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको सुनाए।

“राजस्व लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन। भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा सङ्कलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको छ”, उनले भने।

खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले जनाए। दुग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने पनि उनले सुनाए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल बढाउन सरकारस्तरमा भएका प्रयासको सह्राना गर्दै निजी क्षेत्रले पनि सरकारसँग साझेदारी गर्ने बताए।

उनले उद्योगी–व्यवसायी बैङ्कको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने स्थिति उत्पन्न हुन नदिन सरकारले बनाएका नीति प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष र सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिए।

“सरकारले नीति ल्याएर मात्र हुँदैन। सो प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्दछ। अर्थ मन्त्रालय तथा सरोकार भएका निकायबिच समन्वय आवश्यक छ”, उनले भने। निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी सरकारले रोक्न नहुनेमा उनले जोड दिए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारका नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रले सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने उनले बताए।

प्रकाशित: २९ मंसिर २०८१ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App