४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  

जिल्ला सदरमुकाम सिमकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले जिल्लावासीलाई स्वच्छ, सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, 'गाउँ र समुदायको सुधारमा हातेमालो गरौँ । हामी सबैको सामूहिक प्रयासले जिल्लामा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउनुपर्छ ।'

दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुत खानेपानी पहुँचको दिगो समाधानका लागि यस आर्थिक वर्षमा सरकारले महत्त्वपूर्ण योजना अगाडि सारेको जानकारी दिँदै मन्त्री यादवले भने, 'खानेपानी पहुँचको दिगो समाधानका लागि सरकार प्रतिबद्ध छ । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।' 

मन्त्री यादवले समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीको दिगो सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने, जल स्रोतहरू जोगाइने स्पष्ट पारे ।  

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले हुम्लामा खानेपानी प्रणालीको दिगोे सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिने बताए ।  

सो क्रममा हुम्लामा कम्तीमा पनि पाँच हजारभन्दा बढी घरधुरीमा सुरक्षित र स्वच्छ खानेपानी पुर्‍याउनुका साथै विद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो ।  

हुम्लाको दुर्गम भूगोल चुनौतीपूर्ण भए पनि खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आवमा १७ वटा आयोजना कार्यान्वयन गरिरहेका र जसमा कूल आठ दशमलव पाँच करोड बजेट विनियोजन गरिएको जनाइएको छ । -रासस

प्रकाशित: २८ मंसिर २०८१ १८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App