१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रजातन्त्रमा जित र हार स्वभाविक : देउवा

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाँकेको राप्तीसोनारी गाउँपालिका परिसरमा स्वागत गरिदै। तस्बिर : अर्जुन ओली/नागरिक

नेपालगन्ज – पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जितेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टीका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथीमा सहभागी हुन दाङ जाने क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिकाले बुधबार बिहान आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रमा जित र हार स्वभाविक प्रक्रिया भएको बताए। पार्टीका कार्यकर्तालाई सहानुभुती दिँदै सभापति देउवाले भने, ‘चुनावमा जित र हार हुन्छ, निराश हुने कुरा छैन, जनताको सेवा गरेर काम गर्नुस्, अर्को पटक हारेको ठाउँमा जित्नुपर्छ।’

नेपाली काँग्रेसले हार्दा सिंगो प्रजातन्त्रले हार्ने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रजातन्त्रको रक्षाकै लागि नेपाली काँग्रेसले जित्नुपर्ने जिकिर गरे। आगामी चुनावी परिणाम नेपाली काँग्रेसको पक्षमा ल्याउन अहिलेदेखी नै जनतासँगै बसेर काम गर्नुपर्ने देउवाले बताए। ‘गाउँ–गाउँमा पार्टीको संगठन सुदृढ गराउनुस्, जनताको दुःख, पिरमर्का बुझ्नुस्, अनि मात्र जनताले काँग्रेसलाई पत्याउछन्,’ उनले भने ‘जनतासँग भिजेर काम नगरेपछि कसरी चुनावी परिणाम हाम्रो पक्षमा आउँला त।’ पार्टीलाई अब नयाँ ढंगले अगाडी बढाउने सभापति देउवाले बताए।

अर्को प्रसङगमा उनले पार्टीका नेता खुमबहादुर खड्काको निधनले नेपाली काँग्रेस मात्र नभएर सिंगो मुलुकलाई ठूलो क्षति पुगेको धारणा राखे। ‘खुमबहादुर खड्का जी एकदमै जुझारु नेता हुनुहुन्थ्यो, उहाँ नेपालकै नेता हो,’ देउवाले भने ‘उहाँको निधनले देशलाई क्षति पुगेको छ। सिंहदरबारको अधिकार गाउँ–गाउँमा आउँदा जनताले संघियताको अनुभुती गरेको र जनताले सहज ढंगले सरकारी सेवा, सुविधा पाएको दाबी गरे।

मुलुकका धेरैजसो स्थानीय सरकारले भौतिक पूर्वाधार तथा जनशक्ति नपाएको प्रसंगमा देउवा राप्तीसोनारी गाउँपालिकाको भौतिक संरचना देखेर दंग परे। ‘राप्तीसोनारी गाउँपालिकासँग पर्याप्त मात्रामा भौतिक संरचना हुनुका साथै साँच्चिकै प्राकृतिक सुन्दरताले भरिएको रहेछ,’ गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीतर्फ संकेत गर्दै उनले भने ‘गाउँपालिकालाई देशकै नमुना बनाउने गरी काम गर्नुहोला।’ स्थानीय सरकारले केन्द्रको मुख ताक्नु भन्दा आत्मनिर्भर हुनुपर्ने पूर्वप्रधानमन्त्री देउवाको भनाई छ।

प्रकाशित: २८ चैत्र २०७४ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App