नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन्। एमाले प्रचार विभागले आयोजना गरेको सम्पादकसँग अन्तक्र्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा एमाले उपमहासचिव ज्ञवालीले सो कुरा बताएका हुन्।
उपमहासचिव ज्ञवालीले राजनीतिलाई स्थायित्व दिने हो भने विकास र समृद्धिसँगै जनतामा डेलिभरी पनि चाहिने उल्लेख गरे। उनले दुई ठूला दल नेपाली कांग्रेस र एमालेसहितका दलको सहकार्यमा सरकार बनेपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको र जनतामा भरोसा जगाएको पनि उल्लेख गरे। उनले खल्बलिएको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने र सुशासनमा सुधारको संकेत दिने कुरा सरकारका सकारात्मक पक्ष भएको उल्लेख गरे।
उपमहासचिव ज्ञवालीले शान्तिपूर्ण ढंगले सडकमा जाने कुरा ठीक भए पनि जुन ढंगको भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ, त्यो गलत भएको दाबी गरे। विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्दै सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा गरिएका आन्दोलनको कुनै औचित्य नभएको प्रस्ट पारे। उनले रामायणमा सीताले समेत अग्निपरीक्षामा दिएको सन्दर्भ उल्लेख गर्दै रास्वपा सभापतिप्रति एमालेले कुनै प्रतिशोध नसाँधेको पनि बताए।
रास्वपा र लामिछानेसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको भन्दै लामिछाने पक्राउ परेपछि एमालेप्रति लगाएको आरोप गलत भएको टिप्पणी गरे। उपमहासचिव ज्ञवालीले विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्ने सन्देश एमालेले कोसी प्रदेशका बहालवाला मन्त्रीको समेत बचाउमा एमाले नलागेको सन्दर्भ उल्लेख गरे।
‘अहिले रास्वपामा अरूलाई कानुन लागे पनि हामीलाई लाग्नु हुन्न भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ, त्यो गलत छ’, ज्ञवालीले भने, ‘ऊर्जाको क्षेत्रीय व्यापार र विपद्लगत्तै रामेछाप र सिन्धुली जोड्ने पुल २० दिनमै निर्माण गर्ने कुरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जस्ता विषय सरकारका सकारात्मक कुरा हुन्। सरकार जनताले थाहा पाउने गरी विकास गति दिनुपर्छ भनेर लागेको छ भन्ने सन्देश पनि हो।’ उनले सबैतिर बेथिति मात्रै छ भन्ने विषयका विरुद्धमा दलहरूले बोल्नुपर्ने र मर्यादामा मात्रै लोकतन्त्र रहने बताए।
ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको ‘फेक’ डकुमेन्ट, रवीन्द्र मिश्रसँग पुष्पकमल दाहालले गरेको कुराकानी र दाहालले भारतीय सञ्चारमाध्यमलाई दिएका अभिव्यक्ति अस्थिरताको हुइयाँ चलाउनेको योजनाबद्ध हर्कत भएको पनि दाबी गरे। उनले दाहालका अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरे। उनले मंसिर ७ मा एमालेले गर्न लागेको जागरण अभियान लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्धको जागरण अभियान भएको पनि बताए।
‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागेका हौं। यो अपिल जनतामा लैजान खोजेका हौं’, उनले भने, ‘अहिलेको सरकारले जनतलाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न, तर अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले देशको मनोबल कमजोर बनाउने प्रयास भएको छ। राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्रै होइन, सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो।’
ज्ञवालीले डोल्पा, हुम्ला जस्ता विकट ठाउँमा सडक पुग्नुलगायतका काम लोकतन्त्रको सफल उदाहरण भएको पनि उल्लेख गरे। ‘हाम्रो यात्रा निराश छैन। भएका कुरामा पर्दा लगाउने कुरा गलत छ’, उनले भने। उनले लोकतन्त्रका लागि पार्टी बलियो हुनुपर्छ भन्दै लोकतन्त्र कमजोर भयो भने मिडिया पनि कमजोर हुने भएकाले सबैलाई लोकतन्त्र बलियो बनाउन सहयोग गर्न आग्रह गरे। उपमहासचिव ज्ञवालीले एमाले मात्रै होइन एमाले नेतृत्वको सरकार लाइन होइन अनलाइन प्रविधिमा जान्छौं भन्ने योजनाका साथ अघि बढेको दाबी गरे।
स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले लोकतन्त्रमा सत्तामा हुँदा र नहुँदा पनि जनताका बिचमा जाने छुट भएको भन्दै यस्तो प्रयोग छिमेकी मुलुक भारत मात्रै होइन अमेरिकालगायतका देशमा पनि रहेको उल्लेख गरे। ‘यही मंसिर १६ मा उपनिर्वाचन हुँदै छ।
हामीले जनतालाई अपिल गर्नका लागि पनि मंसिर ७ गते जागरण सभा आयोजना गरेका हौं’, उनले भने, ‘सडकमा जाने कुरा लोकतन्त्रको असल अभ्यास हो। सडक विपक्षीको मात्रै होइन।’ उनले मंसिर ७ मा एक लाख मान्छे उतार्ने तयारी भएको पनि प्रस्ट पारे। कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीका कुरा सुन्न र एमालेका केही धारणा बताउन अन्तक्र्रिया कार्यक्रम राखेको जानकारी दिए।
प्रकाशित: ६ मंसिर २०८१ ०९:०२ बिहीबार