२९ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।

उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाए। देशमा असाधारण परिस्थिति बन्दै गएको उनको भनाइ छ। उनले असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको बताए।

उनले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाए। संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए। राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप उनले लगाए।

उनले भने, ‘यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरुलाई हटाउने खेल भइरहेको छ। असाधारण परिस्थिति देशमा बन्दैछ। त्यसको लागि सबै पार्टीहरुको बीचमा एकरुप समझदारी हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरु फुटाउने खालको पनि चर्चा चलिरहेको छ। यि सबै कुरालाई, अनि फेरि संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो, उहाँहरुलाई सत्तामा जानु थियो। जानका लागि उहाँहरुले संविधान संशोधनको कुरा गर्नुभएको थियो। हामी अब भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा जनताका अधिकारहरु बढाउने पक्षमा गर्नुपर्छ। अरु कुरा त हामी गर्दै गरौँला। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ। त्यसले मात्रै अहिले देखिएका विकृति, विसंगतिहरु, यो अस्थिरता हट्छ, राजनीतिक स्थायित्व ल्याउन सक्छ भन्ने हाम्रो विचार छ।’

प्रकाशित: २६ कार्तिक २०८१ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App