१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

उदयपुरमा तीनै दलले टुङ्ग्याए उपनिर्वाचन उम्मेदवार

आसन्न उपनिर्वाचनका लागि उदयपुरमा रिक्त २ वडाध्यक्ष पदका लागि उम्मेदवारको नाम प्रमुख दलहरुले टुङ्ग्याएका छन्।

त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ मा रिक्त वडाध्यक्षको उम्मेद्वार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छिनोफानो गरेका हुन्।

कांग्रेसले त्रियुगा १२ मा सन्जिव काफ्लेलाई उठाउने निधो गरेको छ भने एमालेले लक्ष्मीनारायण चौधरीलाई टिकट दिएको छ। माओवादीले नवीनकुमार राईलाई वडाध्यक्ष उठाउने निर्क्यौल यसअघि नै गरिसकेको छ।

त्यसैगरी बेलका ९ मा कांग्रेसको तर्फबाट नवीन बस्नेत उठ्ने भएका छन् भने एमालेले मनोज खड्कालाई उठाउने टुङ्गो लगाएको छ। त्यहाँ पनि माओवादीले यसअघि नै भरत घिमिरेलाई टिकट दिने निर्णय गरिसकेको छ।

कांग्रेसको विधान अनुसार वडाको टिकट वितरणको अधिकार पाएको प्रतिनिधिसभा निर्वाचन क्षत्रीय सभापति खगेन्द्र राईले आकांक्षी धेरै भएकाले पटक पटकको छलफलपछि मात्र दुवै वडामा नाम ङ्ग्याइएको बताए। एमाले जिल्ला अध्यक्ष भागवत राउतले पनि सिफारिस भएर आएका नामहरुमध्ये राम्रालाई उठाउने निर्णय गरेको बताए।

माओवादीले भने ईच्छुकहरु धेरै भए पनि अगाडिदेखि नै छलफल भईरहेकाले सर्वसम्मत नाम टुङ्ग्याउन समस्या नभएको जिल्ला समन्वय कमिटी संयोजक विनोद कटुवाल (दिवश)ले बताए।

त्रियुगा १२ मा ३ हजार ६ सय ४० मतदाता छन्। ०७९ को चुनावमा काँग्रेसबाट विजयी वडाध्यक्ष  चुडाराज काफ्लेको सोही वर्ष फागुन शिवरात्रिको साँझ मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो। अहिले टिकट पाउने सन्जिव उनकै छोरा हुन्।

त्यसैगरी बेलका ९ का वडाध्यक्ष पदमबहादुर खड्का पनि काँग्रेसबाटै चुनाव जितेका हुन्। उनको पनि मोटरसाईकल दुर्घटनामै परेर गत जेठमा निधन भएको हो। त्यहाँ उनका सहोदर भाइ मनोजलाई एमालेले टिकट दिएको छ।

खड्का परिवारका ५ दाजुभाइमध्ये माईलो पदम मात्र काँग्रेसमा थिए। जेठो, साईलो र काईलो एमालेमा तथा कान्छो रास्वपामा आबद्ध रहेको स्थानीय बताउँछन्। एमालेले  वडाध्यक्ष उठाएको व्यक्ति साईला भाइ भएको बताइएको छ।

बेलका ९ मा ३ हजार १ सय मतदाता रहेको बताइएको छ।

प्रकाशित: २६ कार्तिक २०८१ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App