७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री अधिकारी माथि छानबिन गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न माग गरेको छ।

कूटनीतिक मर्यादा विपरीत जापान भ्रमणमा गएका तत्कालीन मन्त्री अधिकारीमाथि मानव तस्करी र सरकारी कागजात किर्ते गरेको विषयमा अनुसन्धान तथा छानबिन गर्न माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले माग गरेको हो।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ‘मानव तस्करी तथा सरकारी कागजात किर्तेलगायतको विषयमा गम्भीर रुपमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गर्दछौँ।’  दलकी प्रमुख सचेतक गिता तिम्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमणपछि आएको राजीनामा र त्यससँग सम्बन्धित सार्वजनिक भएका विषय प्रति माओवादी केन्द्र संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यही परिचयपत्रको आधारमा एउटै कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहित हवाई टिकटको प्रबन्ध हुनु रहस्यमय रहेको माओवादीको ठहर छ। माओवादीले यो प्रकरणमा नक्कली शरणार्थी प्रकरण जस्तै अर्को रूप भएको आशंका पनि गरेको छ।

‘नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्रान्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्च पदस्थ व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २२ कार्तिक २०८१ १७:५० बिहीबार

#Lilabalab Adhakari