८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाको विश्वास खोज्दै सभापतिका आकांक्षी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले २०८० भदौ १९ गते चितवन पुगेर शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने पहिलो पटक घोषणा गरे। यदाकदा मात्र पार्टी र सार्वजनिक कार्यक्रममा सहभागी हुने शशांकले आगामी महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका छन्। त्यो पनि देउवाको साथ र समर्थनमा उम्मेदवार बन्ने संकेत गर्दै आएका हुन्।

पूर्वमहामन्त्री कोइराला मात्र होइन, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापासहितका आकांक्षी देउवासँग नजिकिने प्रयासमा छन्। किनकि कांग्रेस विधानको विद्यमान व्यवस्थाले देउवालाई अब नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन। विधानले लगातार दुई पटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसले गर्दा देउवाको समेत विश्वास बटुलेर उत्तराधिकारी बन्ने होडमा कांग्रेसका आधा दर्जन नेता लागि परेका छन्।

१४औं महाधिवेशनमा देउवाका मुख्य प्रतिस्पर्धी बनेका नेता शेखर कोइरालाले पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने गरी भेटघाटलाई तीव्रता दिएका छन्। देउवाको विश्वास जुटाउन महाधिवेशन केही समय धकेल्नेदेखि पार्टी केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणाको व्यवस्थापन आफूले गर्नेगरी आकांक्षीहरूले छलफल अघि बढाएको निकटहरू बताउँछन्।

२०८४ सालमा हुने स्थानीय र आम निर्वाचनको टिकट वितरण गर्ने आकांक्षा देउवामा रहेको विश्लेषण गर्दै कतिपय नेताहरू त्यसअघि महाधिवेशन नगर्ने उपाय सुझाउन थालेका छन्।

पार्टी एकीकरणपछिको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई टेक्दै पार्टीको १५औं महाधिवेशन सार्न सकिने नेताहरूको बुझाइ छ। सोही कुरा सभापतिका आकांक्षीले देउवालाई सुझाउँदै पार्टी एकताका लागि विभिन्न दलहरूको नामसमेत प्रस्ताव गरेको स्रोतको दाबी छ ।

आगामी महाधिवेशनबाट श्रीमती आरजुलाई पार्टी पदाधिकारीमा पुर्‍याउने देउवाको चाहना रहेको आकांक्षीको विश्लेषण छ। सबैजसो सभापतिका आकांक्षीले पार्टी विधान नै संशोधन गरेर महिला महामन्त्री वा उपभापति व्यवस्था गर्ने पक्षमा छन्। विधान संशोधन गर्न सम्भव नभए विद्यमान अवस्थामै उनलाई महामन्त्री वा उपसभापतिमा समेटेर अघि बढ्न तयार रहेको निकटहरूको दाबी छ।

देउवाले आगामी नेतृत्वका विषयमा कसैसँग मुख नखोलेको र आश्वासन पनि नदिएको सभापतिका आकांक्षीहरूले दाबी गरे। देउवाको समर्थनमा सभापतिको उम्मेदवार बन्ने चाहना राख्नु अस्वाभाविक नभएको बताउँदै ती आकांक्षीले भने, ‘देउवाको विश्वास जित्नु भनेको आरजुको व्यवस्थापन गर्नु हो। उहाँको व्यवस्थापन गर्दा सभापति बनिन्छ भने त्यसका लागि तयार नहुने र नहुनुपर्ने कुरा छैन।’

१४औं महाअधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका शेखर सभापति देउवाको पनि विश्वास लिएर अघि बढ्ने रणनीतिमा रहेको आलोचक बताउँछन्। १४औं महाधिवेशनमा आफ्ना भाइ शशांक र बहिनी सुजाताको समर्थन पाउन असफल शेखर अहिले परिवारका साथै पार्टीका नेता तथा कार्यकर्ताको थप विश्वाससहित नेतृत्वमा पुग्ने रणनीतिमा छन्।

देउवाइतर समूहबाट महामन्त्री निर्वाचित थापा सभापतिको दौडमा जुटेका छन्। पार्टी क्रियाशील सदस्यको टुंगो लगाउनेसमेत जिम्मेवारी पाएका उनले तलबाटै सभापतिको तयारीमा जुटेको निकटहरूले बताएका छन्।

महामन्त्रीको जिम्मेवारीमा पुगे पनि अपेक्षित काम गर्न नसकेको भन्दै आलोचना बढ्दै गए पनि थापाले पार्टीमा सुधारका लागि ड्राइभिङ सिटमा नबसी सम्भव नहुने बताउँदै आएका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा र स्वास्थ्यमन्त्रीसमेत रहेका प्रदीप पौडेलसहित युवाहरूको समर्थनमा उनी नेतृत्वमा धक्का दिने रणनीतिमा छन्। र, सभापति देउवाविरुद्ध बाहिर जति गरम सुनिए पनि थापाले अहिले उनको विश्वास जित्न लागि परेका छन्।

जीवनको उत्तरार्धमा पार्टी नेतृत्व बिपीकै छोरामा हस्तान्तरण गर्न लागेको इमोसनल कुरा गरेर देउवाले पत्नी आरजुसहित निकटहरूको व्यवस्थापनलाई सहज बनाउन सक्ने विश्लेषण पनि कांग्रेसभित्र गर्न थालिएको छ। १४औं महाधिवेशनमा दाजु शेखरको पक्षमा नखुलेका शशांक १५औं महाधिवेशनमा सभापतिका आकांक्षी महामन्त्री थापासहित पार्टीका पुराना नेताहरूको समर्थन पाउने आशमा देखिन्छन्। १४औं महाधिवेशनमा शेखरलाई सभापति स्वीकार गर्न तयार नभएको इतर पक्षको समर्थन पनि शशांकलाई हुने निकटहरूको बुझाइ छ।

पूर्वउपसभापति निधि पनि देउवासँग चिसिएको सम्बन्ध सुधार गरेर उत्तराधिकारी बन्ने कोसिसमा छन्। १४औं महाधिवेशनमा देउवासँगै निधि सभापतिको प्रत्यासी बनेका थिए। पहिलो चरणमा कसैले पनि आवश्यक पर्ने मत नपाएपछि निधि दोस्रो चरणमा देउवाको पलेका थिए।

तत्कालीन संस्थापन पक्षसँग विद्रोह गरेर सिटौला सभापतिको प्रत्यासी बन्दा देउवालाई पहिलो पटक कांग्रेस नेतृत्वमा पुग्न सहज बनेको थियो। त्यसलाई निरन्तरता दिँदै सिटौलाले १४औं महाधिवेशनमा निकट नेता प्रदीप पौडेललाई देउवा समूहबाट महामन्त्रीका प्रत्यासी बनाएका थिए।

२०७९ सालमा भएको आम निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित पौडेलले साथ छाड्दा अलमलमा परेका सिटौला अहिले प्रदेशबाट निर्वाचित निकटहरूलाई मन्त्री बनाउँदै शक्ति आर्जनमा लागेका छन्। देउवाको साथ नछाडेका उनी आगामी महाधिवेशनमा उनको समर्थन पाउने आशमा छन्।

उपसभापति खड्का पनि देउवाको समर्थनमा आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने रणनीतिमा छन्। संस्थापन पक्षको नेतृत्व देउवापछि आफूले गर्ने उनको बुझाइ छ। तर पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारमा सहभागि भएपछि सभापति देउवासँग उनको सम्बन्ध पहिला जस्तो सुमधुर छैन। त्यसलाई सुधार गर्न उनी पनि लागि परेका छन्।

१४औं महाधिवेशनमा भएको नेतृत्व प्रतिस्पर्धामा तेस्रो भएपछि सिंह दोस्रो चरणमा देउवाको पक्षमा उभिएका थिए। हाल उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सिंहको स्वास्थ्य अवस्था कमजोर छ।

वैधानिक व्यवस्थाअनुसार कांग्रेसको महाधिवेशन चार वर्षमा हुनुपर्छ। त्यसअनुसार कांग्रेसको १५औं महाधिवेशन २०८२ सालमा हुनुपर्ने हो। तर २०४६ को राजनीतिक परिवर्तनपछि विधानको अतिरिक्त सुविधा प्रयोग गरेर मात्र महाधिवेशन गर्दै आएको कांग्रेसको १५औं महाधिवेशन पनि २०८२ मा नहुने निश्चित भएको छ। 

प्रकाशित: २० कार्तिक २०८१ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App