सभामुख देवराज घिमिरेले सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिनुपर्ने बताएका छन् ।
बुधवार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएका हुन । उनले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्ने कुराहरू प्रत्यक्ष र अपरोक्ष रूपबाट आइरहेको बताए।
उनले अहिले सङ्घीयता नै बेठिक भयो भन्ने गरी आक्रमण भइरहेको भन्दै सङ्घीयता कानुनअनुसार चल्ने हो भने राम्रो रहेको बताए । सभामुख घिमिरेले मनोगत भन्दा तथ्यगत आधारहरू हेरेर सङ्घीयताको मूल्याङ्कन गर्नुपर्ने धारणा राखे ।
उनले आगामी दिनमा सङ्घीयता अझ प्रभावकारी बनाउन, सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र सङ्घीय प्रणालीको संयन्त्रबाट कामहरू प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको जानकारी गराए । सभामुख घिमिरेले सङ्घीयता विकासको वाधक भयो भन्ने कुरामा आफू असहमत रहेको बताए ।
प्रकाशित: १६ आश्विन २०८१ १६:२९ बुधबार