सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न नेपाली कांग्रेस तयार भएको बताएको छ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गुरुङमाथि छानबिन गर्न नेपाली कांग्रेस तयार रहने जानकारी दिएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले उपसभापति गुरुङको विषयमा गुरुङ आफैले छानबिन गर्न भनिसकेको उल्लेख गर्दै कांग्रेस पनि छानबिन गराउन तयार रहेको बताए।
उनले भने,‘कुनै ठाउँमा गल्ती छ भने उहाँ स्वयम्ले भनिसक्नुभएको छ, मेरो विषयमा छानबिन होस् भनेर। नेपाली कांग्रेस छानबिन गराउन तयार छ।’ यदि गुरुङले गरेको भए सजाय भोग्ने पनि उनले बताए। ‘यदी उहाँले गल्ती गर्नुभएको हो भने सजाय भोग्नुहुन्छ,’ प्रमुख सचेतक घिमिरेले भने।
यस्तै उपसभापति गुरुङले पत्नीसँग नक्कली डिभोर्स गरेको भन्ने प्रशंगको पनि प्रमुख सचेतक घिमिरेले खण्डन गरे। ‘जसरी संसदमा कुरा उठ्यो कि नक्कली डिभोर्स भनेर, डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? बिहा नक्कली हुन्छ ?,’ उनले भने, ‘कानुनबमोजिम विवाह दर्ता भए त्यो विवाह हो। कानुनबमोजिम डिभोर्स भए डिभोर्स हो, संसारभर लोग्ने स्वास्नीको सम्बन्धबाहेक अरुमा डिभोर्स हुँदैन।’
प्रकाशित: २६ भाद्र २०८१ १२:२४ बुधबार





