४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाललाई बङ्गलादेश बनाउँछु भनेर मैले भनेको छैन: दाहाल

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल। तस्बिरः चुमन बस्नेत/नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  नेपाललाई बङ्गलादेश जस्तै बनाउँछु नभनेको बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले आफूले बाेलेको कुरालाई बङ्ग्याएर हल्ला चलाइएको भएपनि आफूले बङ्गलादेशजस्तो बनाउने कुरा नगरेको बताएका हुन्।

दाहालले दुई तिहाइको घमण्ड गरेर जे मन लाग्यो त्यही नगर्न, जनताको विरुद्ध निर्णयहरू नगर्न  सत्तारुढ दलहरूलाई सचेत मात्रै गराएको स्पष्ट पारे।

‘बङ्गलादेश बनाउँछु भनेर मैले कहिल्यै भनेको छैन, कहिले काहीँ मानिसहरूले बढो गलत ढंगले इन्टरपेरेट गर्ने गरेका छन्’ उनले भने,‘दुई तिहाइ बहुमत छ भनेर यो सरकारले जे मन लाग्यो त्यही नगरोस्। जनताका विरुद्ध काम नगरोस्, बङ्गलादेशमा पनि दुई तिहाइ बहुमत थियो नि त। खै दुई तिहाइले काम गर्दो रहेछ त। त्यही भएर तपाईँहरू सतर्क रहनुस्  जनताका विरुद्ध नजानुस् भनेर खबरदारी मात्रै गरेको हो’ दाहालले भने।

कांग्रेस र माओवादी मिलेर सरकार बनाउने हल्ला सत्य नभएको दाहालले स्पष्ट पारे। उनले अहिले सरकारमा जाने सोच नभएको बताए। उनले भने,‘अहिले सरकारमा जाने कुनै सोच छैन।’ दाहालले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा माओवादीलाई संगठन बिस्तार र सुदृढीकरणमा सहयोग पुगेकाले कांग्रेस– एमालेलाई धन्यवाद दिने बताए। दाहालले संविधान संशोधन गर्दा समानुपातिक व्यवस्था हटाउने विषय आफूहरूलाई मान्य नहुने स्पष्ट पारे।

उदयपुरको वेलकामा आयोजित केन्द्रीय समितिको बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित केन्द्रीय समितिका पदाधिकारीसहितका नेताहरू आइतबार विराटनगर आएका हुन्। 

प्रकाशित: २३ भाद्र २०८१ ११:२२ आइतबार

#pusapakamal Dahal