गण्डकी प्रदेशमा २ वटा मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाइएको छ । गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ मन्त्रालय मात्र थियो । गण्डकी प्रदेशमा सुरुमा १२ मन्त्रालय, त्यसपछि ११ र ८ मन्त्रालय बनाइएको थियो । मन्त्रालय धेरै बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि खगराज अधिकारी मुख्यमन्त्री बनेका बेला ७ मन्त्रालयमा झारिएको थियो ।
तर अहिले फेरी २ वटा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनका अनुसार आइतबार बसेको मन्त्री परिषद बैठकले वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयलाई वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्राएर सामाजिक विकास र स्वास्थ्य गरेर छुट्टाछुट्टै मन्त्रालय बनाउने निर्णय गरेको मुख्यमन्त्री पाण्डेले बताए ।
मन्त्रालय फुटाउने निर्णयमा सत्ता साझेदार नेकपा एमालेपनि सहमत रहेको उनले दाबी गरे । एमालेकै सहमतिमा मन्त्रालय फुटाउने निर्णय गरेका हौं,उनले भने,‘यसमा उहाँहरु सहमत हुनुहुन्छ ।’
मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाइएपनि खर्च नबढ्ने दाबी गरे । गण्डकीमा ७ वटा मन्त्रालय भएपनि ९ वटा मन्त्रालयकै संगठन संरचना रहेकाले मन्त्रालय बढाउँदा खर्च नबढ्ने उनको दाबी छ । उनले यसअघि देखि नै गण्डकीमा वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालयको संगठन संरचना रहेको तथा सामाजिक विकास र स्वास्थ्य मन्त्रालयकोपनि छुट्टाछुट्टै संगठन संरचना रहेको उनले बताए । यसअघि ७ जना मन्त्री थियौं,उनले भने,‘तर ९ जना सचिव थिए । त्यसका लागि ९ वटा नै कार्यालयलगायत कर्मचारीपनि थिए । त्यसैले अहिले मन्त्रालय थपिदा मन्त्रीको मात्रै खर्च थपिने हो । त्यसले खास खर्च बढ्दैन ।’
मन्त्रालय थपिएसँगै एमालेपनि सरकारमा सहभागि हुने मुख्यमन्त्री पाण्डेले बताए । उनका अनुसार कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिनेगरी दुई दलबीच सहमति भएको छ । कुन मन्त्रालय कसले लिने भन्ने सहमति नभइसकेको बताउँदै उनले भने,‘अब छिट्टै एमाले सरकारमा सहभागी हुन्छ । सायद १/२ दिन भित्रैमा ।’
गण्डकीमा केन्द्रीय गठबन्धनको मर्म अनुरुप गठबन्धन सरकार नबनेकोमा एमाले असन्तुष्ट छ । एमाले उपमहासचिव तथा सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले त गण्डकीमा गठबन्धनको मर्म अनुसार सरकार नबनेको भन्दै शनिबार पोखरामा भनेका थिए,‘कहिं नभएको जात्रा गण्डकीमा’भनेर टिप्पणी गरेका थिए । तर मुख्यमन्त्री पाण्डे भने केन्द्रको गठबन्धन अनुसारै गण्डकीमापनि सरकार बन्ने बताउँछन् । उहाँले कुरै नबुझी त्यस्तो टिप्पणी गर्नु भएछ,आइतबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने,‘पार्टीको नेताले कुरा नबुझी बोल्दाको परिणाम हो यो । पार्टीको नेतालाई शीर्ष नेताले गरेको सहमति थाहै नभई बोल्दा बिग्रिएको हो ।’
मुख्यमन्त्री पाण्डेले गठबन्धनको मर्म अनुसार गण्डकीमा सरकार बन्ने बताएपनि आफूलाई दुःखमा साथ दिएका नेकपा माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई भने नहटाउने भएका छन् । उनीहरुलाई कांग्रेसको कोटामा परेका मन्त्रालय दिएर राख्ने तयारीमा उनी छन् । त्यसमा एमाले सहमत भइसकेको मुख्यमन्त्री पाण्डेले दाबी गरे । ‘हाम्रो तर्फको मन्त्रालय दिने भएकाले यसमा उहाँहरुको असहमति छैन । यसबारे शीर्ष तहमै सहमति भइसकेको छ’–उनले भने ।
प्रकाशित: १६ भाद्र २०८१ २०:४५ आइतबार