१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बल्ल आन्तरिक छलफलमा देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको फागुनमा सम्पन्न महासमिति बैठकबाट सुझावसहित पारित प्रतिवेदन केन्द्रीय समितिबाट संशोधनका लागि आन्तरिक छलफल थालेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २३ बाट सुरु भएको केन्द्रीय समितिको बुधबारको बैठकले ती प्रतिवेदनका साथै पार्टीले अन्य निर्णय गर्ने तयारी गरेको छ। बुधबार दिउँसो ३ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको कांग्रेसले प्रतिवेदनलाई अन्तिम रूप दिन देउवाले मंगलबार पार्टी पदाधिकारीहरूलाई बुढानीलकण्ठ बोलाएका छन्।

विशेषगरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महासमिति हुँदै केन्द्रीय समितिमा पेस गरेका प्रस्तावमा समेटिएका केही विषयमा केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका छन्। त्यसलाई संशेधन गर्नुपर्नेमा केन्द्रीय समितिका अधिकांश सदस्य भए पनि महामन्त्रीद्वय थापा र शर्मा प्रस्तावलाई मतदानमा लैजाने पक्षमा देखिएका छन्। 

बहुमत र अल्पमतका आधारमा निर्णय गराएर महामन्त्रीद्वयले पार्टीको आगामी महाधिवेशनको अजेन्डा बनाउन खोजेको आरोप कतिपय नेताहरूले लगाएका बेला सभापति देउवाले मध्यमार्गी बाटो खोज्न लागेका हुन्। २०८४ सालमा हुने आम निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने विषयमा पार्टीले अहिले नै केही बोल्नुनपर्ने अधिकांश नेताहरूको तर्क छ।

१५औं महाधिवेशनपछि आउने नयाँ नेतृत्व र तत्कालीन अवस्थालाई आधार बनाएर मात्र निर्वाचन तालमेल गर्ने वा नगर्ने निर्णय लिनु्पर्ने जनाउँदै सभापति देउवाले उक्त विषयमा केही पनि प्रतिवेदनमा उल्लेख नगर्ने पक्षमा देखिन्छन्। तर महामन्त्री थापा उक्त विषय प्रतिवेदनमा समेट्नुपर्ने अडानमा रहेको निकटहरूको दाबी छ। गत फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

त्यस्तै अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार पटक मात्र हुन पाउने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सभापति देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न मात्र अघि सारिएको भन्दै निकट नेताहरूले आलोचना गरेका छन्। 

संविधान र कानुनभन्दा बाहिर गएर पार्टीले आफ्ना नीति र कार्यक्रम बनाउन नसक्ने र नहुने केन्द्रीय सदस्यहरूले तर्क गर्दै आएका छन्। अहिले चौथो पटक सांसद् रहेका महामन्त्री गगनकुमार थापालाई २०८४ सालको आम निर्वाचनमा उम्मेदवार हुनबाट शर्माले रोक्न सक्छन् त भन्दै देउवानिकट एक नेताले भने, ‘चर्चामा आउन नेताको लहडमा आएका प्रस्तावलाई पार्टीको बनाउन सकिँदैन/हुँदैन ।’

महामन्त्री शर्माले पनि  उक्त प्रस्ताव अब लागु हुने संकेत गर्दै आएका छन् । शर्माको प्रस्तावको पक्षमा रहेका नेताहरूले पार्टी सभापति पनि दुईपटकभन्दा हुन नपाउने भन्ने विधानमा गरिएको तर्क गर्दै भन्छन्, ‘त्यो पनि त संविधानविपरीत छ। त्यसो भए फेरि शेरबहादुर देउवालाई फेरि पार्टी सभापतिमा अघि सार्ने त ?’ सोही विषयमा छलफल गर्न देउवाले मंगलबार बिहान ११ बजे उपसभापति र महामन्त्रीहरूलाई बोलाएका हुन्।

प्रकाशित: ११ भाद्र २०८१ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App