२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देश र आफ्नो क्षेत्रको विकासका लागि आफैँ अग्रसर हुनुपर्छ : उपसभापति खड्का

फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र आफ्नो क्षेत्रको विकासका लागि अरूबाट अपेक्षा गर्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने बताएका छन् ।

हिन्दू नारीहरूको पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीत ‘नाचिदेउ कान्छी’ सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले कर्णाली प्रदेशको विकासका लागि त्यहाँकै सरोकारवाला अग्रसर हुनुपर्ने बताए।

उनले कर्णाली प्रदेशकै सर्जकहरूको हातेमालो र एकताले गीत बनाउन सफल भएजस्तै अन्य क्षेत्रको विकासका लागि पनि यस्तै सहकार्य आवश्यक रहेको धारणा राखे । ‘हाम्रो कर्णाली कसैले आएर बनाउँछ भन्ने सोच्दै छौँ भने त्यसलाई त्यागौँँ, हामीले नै हो त्यहाँको प्रगति गर्ने । त्यसैले कमजोरी र त्रुटी सच्याउँदै नयाँ सङ्कल्पका साथ कर्णालीलाई उन्नति, प्रगतिको शिखरमा अगाडि बढाउन एकता, सहकार्य र सद्भाव आवश्यक छ’, उपसभापति खड्काले भने । गीत सङ्गीत पनि समाज विकासको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गदै उनले प्रस्तुत गीतसँग जोडिएका सबै सर्जकहरूको प्रशंसा गरे ।  

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली संस्कृतिको धनी रहेको बताए । उनले भने, ‘आफ्नो ठाउँ र भूगोललाई यस्तै गीत सङ्गीतको माध्यमले चिनाउनुपर्छ । कर्णालीले संस्कृति र साहित्यमा देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्छ । त्यसैले कर्णालीका बारेमा निर्मित नकारात्मक भाष्यलाई यस्तै कामहरूबाट चिर्नुपर्छ ।’

गीतका रचनाकार डा महेन्द्रकुमार मल्लले मौलिक गीत तयार गर्ने कोसिस गरेको बताए । ‘तीज गीतमा पर्वको मौलिकता र चेलीको हर्षलाई प्रस्तुत गरेको छु । यो नयाँ पुस्तालाई नचाउने र पुराना पुस्तालाई कर्णालीको ठेट गीतको बारेमा चिनाउने गरी तयार गरिएको छ’, उनले भने । रचनाकार डा मल्लले आगामी दिनमा फरक सन्दर्भका गीतमार्फत शब्द रचनालाई निरन्तरता दिने बताए ।

गीतमा शिव सङ्गीतले स्वरसँगै सङ्गीत दिएका छन भने गायनमा गायिका सिम्रन परियारले साथ दिएकी छिन । जीवनकुमार ज्ञवालीले तयार गरेको गीतको श्रव्यदृश्यमा मोडल विपाशा चदराले अभिनय गरेकी छिन ।  

प्रकाशित: ७ श्रावण २०८१ २०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App