१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एउटै पार्टीले बहुमत ल्याउन सक्ने गरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ: मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन्।

उनले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला कांग्रेस—एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एक पटक एक्कै ठाउँमा उभिएको जिकिर गरे।उनले कांग्रेस र एमालेले आफ्ना बिचका अविश्वासहरूलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताए । 

नेता रिजालले कांग्रेस र एमालेका शीर्ष नेताहरू देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताए ।उनले आगामी दिनमा पनि दुवै नेता (नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) लाई जोखिम रहेको बताए । उनले जोखिमका बाबजुद पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनाउन आवश्यक रहेको बताए ।

नेता रिजालले  अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताए ।उनले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताए । शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरू सिर्जित भइरहने भएकाले कांग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको बताए । उनले एउटाले अर्कोलाई झुक्याउन खोज्नु र सत्ताकै लागि मात्रै झगडा गर्ने कुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताए ।देश विकासका लागि काम नगर्ने हो भने आगामी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने नेता रिजालको भनाई थियो । 

कांग्रेसका लागि अझ बढी कठिन बन्ने उनको निष्कर्ष छ । निर्वाचनमा जाने क्रममा मधेस, शहरी क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको जिकिर गरे । उनले आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने उनको अनुमान छ । दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्न सक्ने गरी योगदान दिन सक्नुपर्ने बताए । संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा कांग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने धारणा राखे । पार्टीको तर्फबाट सबै नेताहरूको सहयोग वर्तमान सरकारलाई रहने पनि बताए । उनले साना राजनीतिक दलहरूले पनि अभिमान नभई संयमता अपनाएर काम गर्नुपर्ने बताए । 

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेन्डा कमजोर भएको बताए। उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरुको परिवर्तनकारी एजेन्डा ओझेलमा परेको धारणा राखे । उनले सत्तादेखि सत्तासम्मका लागि राजनीतिक हुँदा परिवर्तनको नाममा उदाएका कुनैपनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताए । उनले परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह गरे।

उनले मधेसी राजनीतिक दलहरूले पनि सत्ता मोहमा फसेर आफ्ना एजेन्डाहरू बिर्सिएको बताए । जुन मुद्दालाई प्रतिनिधित्व गरेर राजनीतिमा उदाइएको हो त्यही मुद्दा बिर्सिएको बताए । नेता रिजालले भने,‘एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ। जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउनु पर्दछ ।’  

प्रकाशित: १ श्रावण २०८१ १३:५० मंगलबार

#Nepali Congress leader Dr. Minendra Rijal