कोसी प्रदेश सरकारविरुद्धको मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी बहस मंगलबार सकिएको हो।
न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा कार्यमा लागेको हुनाले सम्भवतः आजै यो मुद्दामा फैसला आउने सम्भावना रहेको छ।
कोसीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वैशाखमा स्वतः पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नयाँ सरकार गठनका विरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
कोसी प्रदेशको सरकार अब कसको हुने छ भन्नेमा सर्वोच्चले सुनाउने फैसलामा निर्भर हुने देखिन्छ। सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्कने छन् भने रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने छन्।
प्रकाशित: ११ असार २०८१ १४:२४ मंगलबार