१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभाको बैठकमा सो बजेट प्रस्तुत गरे।

चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार अर्थात् ३५ प्रतिशत विनियोजन गरिएको छ। यस्तै पूँजीगतर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ४२ प्रतिशत विनियोजन गरिएको छ।

प्रदेश सरकारले अन्तर सरकारी बित्त हस्तान्तरण अन्तर्गत २ अर्ब ९२ करोड ७० लाख १० हजार अर्थात् ९ दशमलव ५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात् शून्य दशमलव ३१ प्रतिशत विनियोजन गरिएको छ।

प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री पालले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व परिचालनबाट १ अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकार राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, सङ्घीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने ४ करोड ४ लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड २७ लाख  र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने ६ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट प्राप्त ३ अर्ब १३ करोड ३४ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट प्राप्त हुने १ अर्ब ४२ करोड, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५५ करोड ६० लाख रुपैयाँ बजेटमा अनुमान गरेको उल्लेख गरेका छन् ।  

बजेटमा विगतका वर्षमा जस्तै कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

ऊर्जा, जडीबुटी, कृषि अनुदान, वन तथा पर्यावरण संरक्षण,  उद्योग, सामाजिक न्याय, खानेपानी लगायतका कार्यक्रमलाई विशेष जोड दिइएको छ। किसानका लागि बीउ बिजन तथा मलका लागि सहुलियत, कृषि तथा पशुपन्छी, कृषि यान्त्रिकीकरणका लागि पनि बजेट छुट्याइएको छ।

स्थानीय रैथाने बाली सन्तुलन खेती प्रवर्द्धन तथा बजारीकरणमा प्राथमिकता दिइएको छ। युवावर्गलाई कृषिमा आकर्षित गर्न विशेष बजेट छुट्याइएको छ। जलवायु परिवर्तन अनुकूल कृषि मैत्री बनाउन योजना ल्याइएको छ।

सडक पूर्वाधारतर्फ ५ अर्ब ६८ करोड रुपैयाँ छुट्याइएको छ । खप्तड–मार्तडी, सतबाँज–श्रीभावर–हाट, चिसापानी–ऋषिदह–बडिमालिका, दैजी–पोखरा–ढुंगाड–बझाङ, खलंगा–खार–देथला–पारिबगर–खण्डेश्वरी, दिपायल–शैपाल, सहजपुर–बोगटान–दिपायल, बेलौरी–कलुवापुर–नायल बुडर, भजनी–छोटी भन्सार, खिमडी–ठूलीगाड, जयगढ–मष्टा–रामारोशन र पाटन–पञ्चेश्वर सडक आयोजना निर्माण गर्न पर्याप्त बजेट विनियोजन गर्न बजेटमा उल्लेख गरिएको छ।

सडक सञ्जालसँग नजोडिएका बझाङको शैपाल, बैतडीको सिगास, दार्चुलाको अपि हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ।

खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रतर्फ १ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ। ऊर्जा, सिँचाइ र नदी नियन्त्रणतर्फ ३ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। पर्यटनतर्फ स्व. प्रेमसिंह धामी पर्यटन प्रवर्द्धन सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका, डोटीको पूर्वीचौकी गाउँपालिका अन्तर्गत नक्षेत्र बाटिका तथा कैलालीको गौरीगंगामा हर्बल पार्क निर्माण गरिने बजेटमा उल्लेख छ। उद्योग, पर्यटन, वन तथा वातावरण पर्यटन मन्त्रालयका लागि २ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

सुदूरपश्चिम प्रदेश विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापनाका लागि बजेट छुट्याइएको छ। प्रत्येक स्थानीय तहमा एक/एक वटा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रका रुपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ।

बौद्धिक अपाङ्गता भएको बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कञ्चनपुरको बेलौरीमा सुविधायुक्त आवासीय विद्यालय सञ्चालनमा ल्याइने भएको छ।

एक जिल्ला एक पुरातात्त्विक सम्पदा संरक्षण कार्यक्रम सञ्चालन, पहलमानसिंह स्वाँर साहित्य तथा साहित्यिक सम्मेलन आयोजना गरिने बजेटमा उल्लेख छ। सबै जिल्लाहरुमा क्रमशः बहुउद्देश्यीय रंगशाला निर्माण र स्तरोन्नति गरिँदै लगिने, टीकापुरमा निर्माणाधीन स्पोर्ट एकेडेमी र महेन्द्रनगरमा निर्माणाधीन बहुउद्देश्यीय कवर्डहल निर्माण सम्पन्न गर्न १२ करोड बजेटमा विनियोजन गरिएको छ।

प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। महिला विपद् व्यवस्थापनका लागि ३ करोड ५० लाख विनियोजन गरिएको छ। 

अपराध न्यूनीकरण गर्न सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्र तथा राजमार्गमा सिसिटिभी जडान गर्न बजेट छुट्याइएको छ। बजेट भाषणमा मन्त्री पालले प्रदेशभरिका महत्त्वपूर्ण धार्मिक स्थलको योजनामा आधारित विकासका लागि आवश्यक बजेट विनियोजन गरेको बताए।

प्रकाशित: १ असार २०८१ १८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App