११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनमा बढ्दो संशय : दुई महिनामै बाहिरिँदै दुई दल?

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ समीकरण बनाएको दुई महिनामै सहयात्री दलहरू सरकारबाट बाहिरिने परिस्थिति सिर्जना भएको छ। अहिले सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) सरकारबाट बाहिरिने परिस्थिति बनेको हो।

जसपा नेपालबाट उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादवले सरकार छाड्ने अन्तिम तयारीमा छन्। उनलाई नैतिक रूपमा सरकार छाड्न सत्ता पक्षबाटै दबाब सिर्जना गरिएको छ। उनको दल विभाजन गरी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश ढालेर नयाँ बनाउने खेल एमाले र माओवादी केन्द्रबाट भएको छ। मधेस प्रदेशमा सरोजकुमार यादव नेतृत्वको सरकारमा रहेका एमाले र माओवादी दुवैले आइतबार समर्थन फिर्ता लिएर सरकार छाडेका छन्।

त्यस्तै सहयात्री दल नेकपा एसलाई पनि सरकार छाड्न सत्ता पक्षबाटै दबाब सिर्जना गरिएको छ। नेकपा एसको ८१आंै सचिवालय बैठकले गठबन्धनबारे चाँडै निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएको छ। सो पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठक पनि आफूप्रति एमाले र माओवादी केन्द्र सकारात्मक बन्न नसकेको निष्कर्ष निकालेको छ। बैठकले गठबन्धनबारे चाँडै निर्णय गरी अघि बढ्न नेतृत्वलाई सुझाव दिएको छ।

‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिए संघीय सरकारबाट नेकपा एस बाहिरिन्छ’, पार्टीका एक पदाधिकारीले भने। ती पदाधिकारीका अनुसार एमालेले नेकपा एसका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिए कांग्रेसले दिने सहमति भइसकेको छ।

‘एमालेले विश्वासको मत दिएन भने कांग्रेसले दिन्छ। हाम्रो पार्टी एमाले र माओवादीको चंगुलबाट बाहिर निस्कन्छ,’ ती पदाधिकारीले भने। नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वर्तमान सत्ता गठबन्धनमा खटपट भएको स्विकारेका छन्।

‘सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत पाउने वा नपाउने विषयले गठबन्धनमा नेकपा एस रहने, नरहने निर्धारण गर्छ। अहिले नै हामीले गठबन्धन तोड्ने भनिसकेका छैनौं’, खतिवडाले भने। उनका अनुसार गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले नेकपा एसप्रति चित्तबुझ्दो व्यवहार नगरेको विषयमा पार्टी पंक्तिमा असन्तुष्टि छ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा नेपाल र नेकपा एस छन्। माओवादी केन्द्र र एमालेको पहलमा बनेको यो गठबन्धनमा नेकपा एस सहभागी भए पनि सन्तुष्ट छैन। सत्ता साझेदार जसपा नेपालबाट बहुमत सांसद अलग भएर छुट्टै दल जनता समाजवादी पार्टी (जसपा) बनाएका छन्। यो दलले निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ 

जसपा विभाजन एमाले र माओवादीको चाहनामा भएको स्रोतको दाबी छ। जसपा नेपालबाट अलग भएर बनेको जसपाका सांसदले वर्तमान गठबन्धनलाई बलियो बनाउने अभिव्यक्ति दिएका छन्। जसपाले सरकारलाई समर्थन गर्ने भएपछि सरकार नढल्नेमा एमाले र माओवादी केन्द्र ढुक्क छन्। जसपालाई सरकारमा ल्याएर जसपा नेपाललाई सरकारबाट हट्न नैतिक दबाब दिने माओवादी र एमालेको तयारी हो।

सरकारमा सहभागी संसद्को तेस्रो ठुलो दल रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लागेको छ। आरोपमाथि छानबिन नगरी उनलाई जोगाउन सत्ता पक्षले सबै संयन्त्र लगाएको छ।

सत्ता जोगाउनैका लागि लामिछानेमाथि छानबिनको दायरामा नल्याउन खोजिएको हो। ‘लामिछानेलाई गृहमन्त्रीमै राखेर आरोप पुष्टि हुने प्रमाण नष्ट गराउने प्रयासमा वर्तमान सरकार लागेको छ’, नेकपा एसका एक नेताले भने।

सहकारी ठगी प्रकरणमा नेकपा एसले संसदीय छानबिन हुनुपर्ने धारणा राखेको छ। नेकपा एसको स्थायी कमिटी बैठकमा संसदीय छानबिन हुनुपर्ने विषयमा कुरा उठेको छ। संसद्मा कांग्रेसले उठाएको छानबिनको विषय जायज भएकाले सरकार र सभामुख गम्भीर हुनुपर्ने नेकपा एसको धारणा छ। यसबाट पनि नेकपा एस सकारबाट बाहिरिने परिस्थिति बन्दै गएको बुझिन्छ।

प्रतिनिधिसभामा १० सिट रहेको नेकपा एसका अध्यक्ष नेपाल एमाले अध्यक्ष ओलीसँग दुरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन्। तत्काललाई कांग्रेस नेतृत्वमा वैैकल्पिक गठबन्धन बने पनि त्यसलाई सरकार बनाउन बहुमत पुग्ने देखिँदैन। नेकपा एस र जसपा नेपाल सरकारबाट बाहिरिए पनि सरकार ढल्दैन।

अहिले प्रतिनिधिसभामा सभामुखसहित एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका ७ सांसद छ। यो संख्या सरकार बनाउन बहुमत हो।

सरकार बनाउन र टिकाउन १३८ सांसदको समर्थन चाहिन्छ। प्रतिनिधिसभामा कांग्रेसका ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, नेकपा एसका १०, जनमत पार्टीका ६, जसपा नेपालका पाँच, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४–४ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्। प्रनिनिधिसभामा आम जनता पार्टी (आजपा) का एक, नेपाल मजदुर किसान पार्टीका एक, दुई स्वतन्त्र सांसद छन्।

प्रकाशित: ३१ वैशाख २०८१ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App