२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाले समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपाको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेकपाले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको बताए।

वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको उनको शुभकामनामा भनिएको छ।

शुभकामनामा भनिएको छ, ‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ। यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ।’

आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि रहेको उनले भनेका छन्।

कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पु¥याउनु हामी सबैको साझा जिम्मेवारी रहेको प्रधानमन्त्रीको भनाइ छ।

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको यस ऐतिहासिक अवसरमा म देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन उनले अपील समेत गरेका छन्।

प्रकाशित: १० वैशाख २०८१ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App