३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उपनिर्वाचन दलहरूको लोकप्रियता जाँच्ने कसी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि वैशाख १५ गते इलाम–२ र बझाङ–(क) मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूको लोकप्रियता परीक्षण हुने भएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २१ गते नेपाली कांग्रसेसँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि हुन लागेको उपनिर्वाचनलाई दलहरूको शक्ति परीक्षणका रूपमा हेर्न थालिएको छ। उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूले एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने तयारी गरेका छन्।  

दाहालले २०८४ सालमा हुने आमनिर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई समेत आधार बनाउँदै एमालेसहितका दलहरूसँग नयाँ सत्ता गठबन्धन बनाएका हुन्। उपनिर्वाचनमा सत्ता गठबन्धन दल पनि एक्लाएक्लै भिड्ने तयारीमा छन्। सत्ताको प्रमुख घटक एमालेले इलाम–२ र बझाङ–(क) मा उम्मेदवार तोकेसँगै सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि एक्लाएक्लै उम्मेदवारी दिने घोषणा गरेका छन्। 

एमालेले इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै एमालेले प्रदेशसभा सदस्यका लागि बझाङ–(क) मा हुने निर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार तोकेको छ।

सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल नगरी उम्मेदवार घोषणा गरेको एमालेले त्यसपछि बल्ल उपनिर्वाचनमा सहकार्य गर्न माओवादी केन्द्र र नेकपा एससँग प्रस्ताव राखेको थियो। नेकपा एसले गठबन्धनबाट बझाङमा आफ्नो पार्टीको उम्मेदवार हुनुपर्ने अडान राखेको थियो। एमाले त्यसमा सहमत हुन सकेन। गठबन्धनबीच साझा उम्मेदवारी दिने विषयमा सहमति नभएपछि नेकपा एसले इलाम–२ मा जितबहादुर राई र बझाङ (क) मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको छ। 

त्यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको बुधबार बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। उसले उम्मेदवार भने तोकिसकेको छैन। ‘उपनिर्वाचन हुने दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ,’ माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकपछि भने, ‘उम्मेदवारको नाम छिट्टै टुंगो लगाउने छौं।’ माओवादी केन्द्र कोसी प्रदेश कमिटीले इलाम–२ का लागि धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ। यिनैमध्ये एकजनालाई केन्द्रले उम्मेदवार तोक्ने बताइएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि २०७९ मंसिरमा भएको आमनिर्वाचनमा प्रदेशतर्फ उम्मेदवार नउठाएको सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि इलाम–२ मा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ। उसले केही दिनमै उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। 

नयाँ सत्ता गठबन्धन बनेसँगै संघीय संसद्मा प्रमुख विपक्षी दल बनेको नेपाली कांग्रेसले पनि दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। इलाम–२ मा उम्मेदवार बन्न सात जनाले आकांक्षा राखेका छन्। कांग्रेस जिल्ला कार्यसमितिले उम्मेदवारका लागि भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम प्रदेश समितिमा सिफारिस गरेको छ। प्रदेशले यी नाम केन्द्रमा पठाएको छ।  

२०७९ मंसिरको निर्वाचनमा इलाम–२ मा माओवादीसहितको समर्थनमा कांग्रेसका डम्बरबहादुर खड्का उम्मेदवार बनेका थिए। एमालेका नेता सुवास नेम्वाङसँग खड्का झिनो मतले पराजित भएका थिए। अहिले त्यहाँ कसलाई उम्मेदवार बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा बुझ्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बे इलाम पुगेका छन्। उनीहरूको सिफारिसमा कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवार तोक्नेछन्।  

प्रदेशसभा सदस्यका लागि बझाङ–(क) मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न कांग्रेसका सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय, नारायण हमाल र अभिषेक सिंहले इच्छा राखेका छन्। उनीहरू सबैको नाम जिल्लाले सिफारिस गरेको छ। कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार चैत १८ गते तोक्नेछ।

इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएको थियो। त्यस्तै बझाङ–(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ मा गाडी दुर्घटनामा निधन भएको थियो। दुवै क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गराउने वैशाखमा उपनिर्वाचन हुन लागेको हो।

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि २०७४ र २०७९ मंसिरमा भएको आमनिर्वाचन मात्र होइन, २०८० वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा भएको उपनिर्वाचनमा पनि दलहरूले तालमेल गरेका थिए। जसले गर्दा प्रमुख राजनीतिक दलहरू वास्तविक शक्तिको आकलन हुन सकेको छैन। 

अहिलेकै निर्णयमा प्रमुख दलहरू कायमै रहेर दुवै क्षेत्रमा एक्लाएक्ले उम्मेदवारी दिए उनीहरूको वास्तविक जनमत परीक्षण हुनेछ। २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो। २०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रसहित दलहरूबीच तालमेल भएको थियो। गत वैशाखमा भएको उपनिर्वाचनमा पनि दलहरूले तालमेल गरेका थिए।

प्रकाशित: १५ चैत्र २०८० ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App