९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्ति पार्टीको ‘पर्ख र हेर’ रणनीति : ‘न त रञ्जिताले पर्खिइन्, न रेशमले’

फाइल तस्बिर

वर्तमान सत्ता गठबन्धनमा सामेल हुने कि नहुने भन्नेमा आन्तरिक मतभेद बढेपछि नागरिक उन्मुक्ति पार्टी सरकार सहभागिताका विषयमा अनिर्णित बन्यो। अनिर्णित उसले तत्काललाई ‘पर्ख र हेर’को भूमिकामा उभ्याउने निर्णय लियो।

कांग्रेससँगकै पुरानो सहकार्यलाई निरन्तरता दिने वा वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने भन्ने विषयमा अनिर्णित उन्मुक्तिभित्र पार्टी अध्यक्ष रञ्जिता र श्रीमान् रेशम चौधरीबीच टकराव सुरु भयो। वर्तमान गठबन्धनमा सहभागी हुने अडानमा रहँदै आएकी रञ्जिताले संसद्मा आफूलाई सत्तापक्षको कित्तामा उभ्याइदिइन्।

अर्थात् पार्टीले ‘पर्खन र हेर्न’ भने पनि पर्खिन सकिनन्। उनी गत २४ गते बसेको प्रतिनिधिसभा बैठकमा उनी सत्तापक्षीय बेञ्चमा बसिन्। तर, रेशम चाहन्थे आफ्नो दलका सांसदले प्रतिपक्षको भूमिका प्रस्तुत गरुन् र प्रतिपक्षको बेञ्चमा बसुन्। ‘त्यो बेला सरकारमा रहने वा नरहने भन्ने गहन छलफल नभएकाले पनि उहाँ सरकारपक्षीय बेन्चमा बस्नु भएको हुनसक्छ,’ एक नेताले भने, ‘तर अब उहाँलाई पार्टीको समर्थन गठबन्धनमा रहने भन्ने जानकारी भइसकेको छ, सायद अब उहाँ प्रतिपक्षकै बेञ्चमा बस्नुहोला।’

पार्टीले पर्ख र हेरको नीति अबलम्बन गरेको भए पनि पार्टी अध्यक्ष रञ्जिताको यो हतारोदेखि रेशम असन्तुष्ट बने। अनि पार्टीले गरेको ‘पर्ख र हेर’को निर्णयलाई उनले पनि पर्खन सकेनन्। त्यसैले सुदूरपश्चिम प्रदेश सरकारमा आफू अनुकूल तीन सांसदलाई मन्त्री बनाए।

यी दम्पतीको टकराव यही घटनादेखि ह्वात्तै बढेको उन्मुक्तिका नेताहरू बताउँछन्। ‘सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीमा एक मत बन्न नसकेपछि तत्काललाई हेर र पर्खको निर्णय गरेर बैठक सकिएको थियो,’ लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्तिबाट सहभागी एक सांसदले भने, ‘तर रञ्जिता भाउजू संसद्को बैठकमा सरकारपक्षीय कुर्सीमा बस्नुभयो, त्यसपछि रेशम दाइले सुदूरपश्चिममा तीन मन्त्रीलाई प्रवेश गराउनुभयो, हामीलाई थाहा भएअनुसार उहाँहरूबीचको विवाद यहींदेखि अलि बढी देखिएको हो।’

यसअघि उनीहरूको विवाद पार्टीका नेताहरूले देखेका थिएनन्। ‘केही मुख्य मुख्य बैठकहरूमा म पनि सहभागी भएको छु। तर, ती बैठकमा उहाँहरूबीचमा कुनै पनि विमति रहेको पाइएन,’ ती सांसदले भने, ‘मलाई लाग्छ, गठबन्धनमा सहभागी हुने वा नहुने भन्ने विषयमा देखिएको यो घटनाक्रमभन्दा अगाडि उहाँहरूबीच कुनै समस्या थिएन।’

श्रीमान्–श्रीमतीबीच बेमेल हुँदा अहिले अनिर्णयको बन्दी बनेको यो पार्टीमा देखिएको बेमेल प्रदेशको स्वायत्ततासँग जोडिएको नेताहरू बताउँछन्। रेशम प्रदेश तहलाई स्वायत्तताको अधिकार प्रदान गरिनुपर्ने तर संघमा वर्तमान गठबन्धनसँग तालमेल गरिन नहुनेमा दृढ देखिए। रेशमले केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणमा सामेल भए प्रदेश तहमा पनि केन्द्रकै समीकरणको प्रभाव देखिने र यसले पार्टीको प्रदेशको स्वायत्तता हराउने बुझेका छन्।

‘हामी प्रदेशको निर्णयको अधिकार प्रदेश तहलाई नै दिनुपर्छ भन्नेमा दृढ छौं,’ रेशमले भने, ‘प्रदेशलाई स्वायत्त राख्न सके मात्रै पार्टीको साख जोगिन्छ। त्यसकारण कांगे्रेससँगकै पुरानो समीकरणकै आधारमा प्रदेश सरकारमा पार्टीको प्रभावकारी सहभागिता जनाउनुपर्ने तर केन्द्रमा जानका लागि मरिहत्ते गर्न नहुने अडान रेशमको छ।

हुन त म अहिले पार्टीको कुनै पनि भूमिकामा छैन, मेरो त हस्ताक्षर पनि कहिँकतै चल्ने कुरा पनि छैन,’ रेशमले भने, ‘तर प्रदेश तहमा कसरी पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर चिन्तनको विषय हो, यसर्थ प्रदेश तहका माननीयहरूले कस्तो निर्णय गर्नुहुन्छ त्यो मेरा लागि पनि स्वीकार्य हुने नै हो, पार्टीको निर्णय अस्वीकार गरेर बस्ने राजनीतिक अधिकार त अहिले मलाई छैन नि ! श्रीमती रञ्जितासँगको बेमेलबारे भने केहि बोल्न चाहेनन्। उनले भने, ‘त्यस्तो केही हैन, यस विषयमा अहिले नबोलौं, हामी पार्टीबारे बढी चिन्ता गर्ने हो।’

रञ्जिता भने केन्द्रमा बनेको वर्तमान वाम गठबन्धन गरिनुपर्ने जोडबलमा छिन्। पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्मै समीकरण निर्माण गरिनुपर्नेमा दृढ रहेकी रञ्जितालाई प्रदेशको स्वायत्तता भन्दा संघीय सरकारको मिलेमतो बढी महत्व छ। ‘रेशम दाइ प्रदेश केन्द्रित भएर प्रदेशलाई स्वायत्त राख्ने भन्ने लाइनमा देखिनुभएको छ, तर रञ्जिता भाउजु भने केन्द्रदेखि प्रदेशसम्म गठबन्धनसँग सहकार्य गरेर जाँदा पार्टीलाई फाइदा पुग्छ भन्ने लाइनमा देखिनुभएको छ।’ कतिपयलाई रञ्जितालाई पुनः सरकारमा सहभागिताको लोभमा रहेका कारण प्रदेशको स्वायत्तता कुण्ठित गरिदिने मनसायमा रहेको समेत बुझाइमा छन्।

‘कतिपयले उहाँ (रञ्जिता) फेरि आफूू सरकारमा जानका लागि यस खालको अडानमा रहेको भन्ने आँकलन पनि गरेका छन्,’ ती सांसदले भने, ‘यो कुरा वास्तविक वा अवास्तविक के हो थाहा भएन, तर उहाँको मुख्य अडान भनेको वर्तमान गठबन्धनसँग केन्द्रबाटै तालमेल गरेर जानुपर्छ भन्ने नै हो।’

रेशम दम्पतीका कारण पार्टी अनिर्णयको बन्द्री बनेपछि पार्टीका तल्लो तहका नेताहरू उनिहरूको मिलन गराउन तल्लिन् छन्। यो पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले पार्टीलाई उचित निर्णयका आधारमा अघि बढाउन रेशम र रञ्जिता बिचको बेमेल अन्त्य गर्ने प्रयासमा आफूहरू रहेको बताए।

‘म निरन्तर उहाँहरूसंगको सम्पर्कमा छु, मिलेर कसरी अगाडी बढ्न सकिन्छ ? भनेर मैले उहाँहरूसँग फोनमार्फत पहल गरिरहेको छु,’ उनले भने, ‘अहिले सम्म दुबैजनाको फरक फरक अडान यथावतै छन्, तर यो समस्या सल्टिन्छ धेरैसमय लाग्दैन।’

प्रकाशित: ३० फाल्गुन २०८० ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App