३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ताच्युतले कांग्रेसमा सन्नाटा

पार्टीभित्रै एक अर्कालाई दोषी करार गर्न नेताहरू सक्रिय

कुन्दनराज काफ्ले,केन्द्रीय सदस्य,नेपाली कांग्रेस

प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस १४ महिनामा दोस्रोपटक प्रतिपक्षमा पुगेको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार एमालेसहितका दलहरूसँग नयाँ गठबन्धन गरेसँगै कांग्रेस सत्ताच्युत हुन पुगेको हो।

दाहाल नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर पक्ष र विपक्षमा विभाजित कांग्रेसका नेताहरू सत्ताच्युत हुनुमा एकअर्कालाई दोषी करार गर्न लागिपरेका छन्।

 कांग्रेसलाई धोका दिएर नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री दाहालप्रति संसद्मा नरम रूपमा प्रस्तुत कांग्रेसले शब्द भने कठोर प्रयोग गरेको छ। त्योभन्दा कठोर त गुटउपगुटमा विभाजित कांग्रेसका नेताहरू यस्तो परिस्थिति आउनुमा पार्टीकै नेताहरू दोषी भएको भन्दै एकअर्काविरुद्ध खनिएका छन्।

सत्तामा रहँदा दाहाल नेतृत्वको गठबन्धनलाई हेर्ने विषयमा कांग्रेस संस्थापन र इतर पक्षको फरकफरक धारणा थियो। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष गठबन्धन निरन्तरताको पक्षमा थियो। तर संस्थापन इतर पक्ष माओवादी नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने पक्षमा थियो।

गुटउपगुटमा विभाजित कांग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई हेर्ने फरकफरक दृष्टिकोणले गठबन्धनभित्र आशंका र अविश्वास बढाएको थियो। आशंका हटाउनुको साटो प्रधानमन्त्री दाहालले एकाएक गठबन्धन नै परिवर्तन गरे।

दाहालको यो कदमपछि भने वर्तमान सरकारलाई हेर्ने सवालमा कांग्रेसका दुवै पक्ष केही हदसम्म एकै ठाउँमा आइपुगेका छन्। तर यस्तो अवस्था आउनुको दोष भने एकले अर्को समूहमाथि थोपरिरहेका छन्। अचानक सत्ताच्युत हुनुपर्दा कांग्रेसमा एकप्रकारको सन्नाटा छाएको छ। केन्द्रदेखि तल्लो तहका नेताहरूको चैन हराएको छ।

संस्थापन पक्षले गठबन्धन भत्कनुको कारणका नेता शेखर कोइरालाले कोसी प्रदेश सरकार गठनमा गरेको विद्रोहलाई देखाउँदै आएका छन्। त्यसपछि माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा सोही प्रदेशबाट माओवादी उम्मेदवारको पराजय भयो।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धन मिलेर लडेको थियो। एकाएक सत्ताच्युत हुनुको कारक महामन्त्री गगनकुमार थापा पनि भएको आरोप संस्थापन पक्षको छ।

महामन्त्री थापामाथि पार्टी र मुलुकका लागि नभएर आफू र ‘आफ्ना’लाई केन्द्रमा राखेर काम गरेको आरोप छ। महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने काम नहुँदा महामन्त्री थापा चुइक्क नबोलेको तर उनले चार वर्षपछि हुने निर्वाचनमा गठबन्धन गर्न नहुने कुरा महासमिति बैठकमा ल्याएर परिस्थिति प्रतिकूल बनाएको संस्थापन पक्षको आरोप छ।

महाधिवेशन भएको दुई वर्षमा पार्टीको कुनै संरचनाले पूर्णता नपाएको र त्यसलाई पूर्णता दिएर संगठन परिचालन गर्ने विषयमा महामन्त्री थापाले ध्यान नदिएको तर कांग्रेसलाई सत्ताच्युत गर्न अनेक बखेडा झिकेको संस्थापन निकट एक नेताको आरोप छ।

‘२०८२ सालमा पार्टीको महाधिवेशन गर्ने भन्ने अनि २०८४ मा हुने निर्वाचनमा गठबन्धन नगर्ने निर्णय अहिले नै गर्नुपर्ने के बाध्यता महामन्त्रीलाई आइपर्‍यो,’ ती नेताको प्रश्न छ, ‘१४ महिनाअघि (२०७९ पुस  १० गते) गठबन्धन जोगाउन नसकेको भनेर पनि उहाँहरूले नै सभापतिको आलोचना गर्ने, गठबन्धन बनाएपछि पनि भत्काउने, के यही हो पार्टी महामन्त्रीको जिम्मेवारी र दायित्व?’

संस्थापन इतर पक्ष जसरी हुन्छ सभापति देउवालाई कमजोर बनाएर आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने रणनीतिमा रहेको नेताहरूको बुझाइ छ।

नेता शेखर देउवालाई पन्छाएर पार्टी र सरकारको नेतृत्वमा पुग्ने रणनीतिमा रहेको विश्लेषण संस्थापन पक्षको छ। तर शेखर समूहभित्रको महामन्त्री थापा पक्ष भने देउवा, शेखर दुवैलाई पार्टी र सरकारको नेतृत्वमा पुग्न नदिन सक्रिय हुँदा अहिलेको अवस्था आएको विश्लेषण पनि गर्न थालिएको छ।

संस्थापन इतरमा पनि कोइराला र थापा फरकफरक बुझाइमा छन्। नेता कोइराला निकट नेताहरूले महामन्त्री थापामाथि एक्लै अघि बढ्न खोजेको आरोप लगाउँदै आएका छन्। त्यसका लागि आफूलाई मात्र केन्द्रमा राखेर थापाले काम गरिरहेको बताउँदै कोइराला निकट एक नेताले भने, ‘वस्तुपरक होइन, जे गर्दा लोकप्रिय भइन्छ, त्यही गर्ने परिपाटीले समस्या ल्याएको छ।’

प्रतिनिधिसभामा ८८ सिटले मात्र कांग्रेस नेतृत्वमा सरकार नबन्ने तर्क गर्दै ती नेताले भने, ‘आफू सरकारमा सहभागी हुने अवस्था छैन भनेपछि अरूलाई पनि रोक्ने र बाहिर क्रान्तिकारी बन्ने प्रवृत्ति ठिक होइन। अहिलेको परिणाम त्यही हो।’

महामन्त्री थापा पक्षले पार्टी संगठन बनाउने र एक्लै चुनाव जित्ने अवस्था सिर्जना गर्नु अपराध नभएको तर्क गर्दै आएका छन्।

पार्टी सत्ताच्युत हुने अवस्थाको जिम्मेवारी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर  खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिनुपर्छ। राम्रो जति मेरा कारणले भयो, नराम्रो जति अर्काले गर्दा भयो भनेर पार्टीका यी चार नेता उम्किन मिल्दैन। उहाँहरूले यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।

कुन्दनराज काफ्ले

केन्द्रीय सदस्य 

कांग्रेसले कांग्रेसकै चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको थापा पक्षले बताउँदै आएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिले गठबन्धन नतोडे पनि केही महिनापछि तोड्ने निश्चित रहेको थापा पक्षको बुझाइ थियो।

महामन्त्री थापालाई कमजोर बनाउन सकियो भने मात्र पार्टी नेतृत्वमा पुग्न सकिन्छ भन्ने बुझाइ नेताहरूमा हाबी भएको उनी निकट एक नेता बताउँछन्।

कोसी प्रदेश सरकारमा विद्रोह गर्दै एमालेसँग मिलेर संघीय सरकारको नेतृत्वमा पुग्ने महत्त्वाकांक्षा कोइराला पक्षले राखेको आरोप लगाउँदै ती नेताले भने, ‘आफूअनुकूल हुँदा समूहभित्र पनि छलफल गर्न नपर्ने अनि समस्या आएपछि अर्कालाई आरोप लगाएर पन्छिन कोही पनि मिल्दैन।’

महामन्त्री थापाले बिहीबार प्रतिनिधिसभाको बैठकपछि आफ्नो अनुकूलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा प्रधानमन्त्रीदेखि अरू कसैलाई नभएको बताए।

प्रधानमन्त्री दाहालले जति ढाकछोप गरे पनि बेइमानीको ढाकछोप नहुने धारणा राखेका थापाले त्यसअघि परिवर्तित राजनीतिक परिस्थितिबारे भिडियो प्रतिक्रिया दिँदै निर्वाचनअघि अब कांग्रेसले कुनै पनि बहानामा कसैसँग पनि गठबन्धन गर्न नहुने तर्क गरेका थिए।

‘निर्वाचनभन्दा अघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट बनाएको छ,’ उनले भिडियोमा भनेका छन्, ‘यसले लोकतन्त्रलाई थप कमजोर बनाएको छ। त्यसैले कम्तीमा कांग्रेस यो बाटो हिँड्न हुँदै  हुँदैन।’

संस्थापन इतर समूहका नेताले गठबन्धन जोगाउने भनेर मात्र नहुने तर्क गर्दै प्रधानमन्त्री दाहालले काँध फेर्ने निर्णय गर्दासम्म पनि संस्थापन पक्षले त्यसको सूचना नपाउनु दुर्भाग्य भएको बताएका छन्।

सूचना अभाव र आफ्नो हुस्सुपनाको दोष अरूलाई लगाउन नमिल्ने इतर पक्षको बुझाइ छ। सभापति देउवा निकट नेताहरूबीचको हानाथापको व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको इतर पक्षको विश्लेषण छ।

महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय नउठाएको भए पनि हुन्थ्यो भन्नुलाई जायज मान्न सकिएला भन्दै उनी निकट एक नेताले भने, ‘अनि उपसभापति (पूर्णबहादुर खड्का) लेचाहिँ माओवादीले सञ्चालन गरेको दस वर्षे आन्दोलनका बारेमा अहिले नै किन विष वमन गर्नुपरेको नि?’

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई अतिविश्वास गर्दा अहिलेको परिणाम आएको आरोप लगाउँदै इतर पक्षका ती नेतो भने, ‘सरकार र पार्टीमा बस्ने, अनि सूचनामा चाहिँ शून्य भएपछि यस्तो हुन्छ। यसको जिम्मा सभापति देउवा र उनका निकटले लिनुपर्छ।’

संस्थापन पक्षभित्र पनि उपसभापति खड्का र नेता प्रकाशशरण महतले अहिलेको अवस्था आउनुमा एकले अर्कोलाई दोष लगाउँदै आएका छन्। खड्का पक्षले महतलाई नै मुख्यकारक भएको आरोप लगाउँदै आएको छ। खड्का पक्षले सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई उपयोग गरेर पदमा टाँसिन खोज्ने महत प्रवृत्ति समस्या आएको आरोप लगाएको छ।

महत पक्षले भने प्रधानमन्त्री दाहालसँग नजिक बन्न पार्टीभित्रका आन्तरिक कुरा पनि लगेर खड्काले सुनाएको आरोप लगाएको छ। त्यति मात्र होइन, महतसहितका केही नेतालाई सरकारबाट हटाउन र बद्नाम गर्न खड्का लागेको आरोप छ।

‘पार्टीको १४औं महाधिवेशनमा पनि उहाँ (खड्का) हरू महतलाई महामन्त्रीमा हराउन लाग्नुभयो,’ महत निकट एक नेताले भने, ‘अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको छ। मन्त्री फेर्ने हल्ला उहाँहरू (खड्का) ले चलाउनुभयो। सबै फेर्ने कुरा गरेपछि चुप लाग्नुभयो।’

कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले गठबन्धन भत्केर पार्टी सत्ताच्युत हुने अवस्थाको जिम्मेवारी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिनुपर्ने बताउँछन्।

राम्रो जति मेरा कारणले भयो र नराम्रो जति अर्काले गर्दा भयो भनेर पार्टीका यी चार नेता उम्किन नमिल्ने तर्क गर्दै काफ्लेले भने, ‘उहाँहरूले यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।’

पाँच मिनेटपछि नयाँ गठबन्धन निर्माण हुँदैछ भन्ने सूचना पनि लिन नसक्ने मान्छे पार्टी पदाधिकारी र सरकारको महत्त्वपूर्ण जिम्मेवारीमा रहनु लज्जाजनक भएको बताउँदै उनले भने, ‘हिजोको कुरामा आज छलफल आवश्यक नै थिएन र छैन।’

पार्टीको रणनीति र कार्यनीति के हो भन्ने कांग्रेसका नेतालाई हेक्कासमेत नभएको आरोप लगाउँदै उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वास गरे सबै छाडिदिने, अनि पार्टी होइन, गुट बनाउन लागेपछि यस्तै हुन्छ। अब रोइकराइ गरेर काम छैन, संगठन निर्माणमा लाग्नुपर्छ।’

प्रकाशित: २६ फाल्गुन २०८० ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App