२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कालोसूची’को गौरलाई गर्वलायक बनाएका छौं: मेयर साह

गौर नगरपालिकाको वडा नम्बर २ मा २०२८ असार १ गते पिता हरि साह कानु र माता सहोदरी देवीका प्रथम पुत्रका रूपमा जन्मिएका शम्भु साह कानुले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन्।

धार्मिक तथा सामाजिक सेवामा निरन्तर लागिरहने पिताबाट प्रभावित भएर समाजसेवामा लागेका साह जुद्ध माध्यमिक विद्यालय, गौरको विद्यालय व्यवस्थापन समितिको २०६८ कात्तिक २६ मा अध्यक्ष बनेका थिए।

समाजसेवामा लागेवापत नेपाल र भारतका दर्जनौं सामाजिक तथा धार्मिक संस्थाबाट सम्मानित नगर प्रमुख साहले विद्यालयमा रहेर परिर्वतनका लागि गर्न सकेको कामबाट प्रभावित भएर समाजको चौतर्फी विकास गर्नका लागि राजनीतिमा प्रवेश गरेका हुन्।

२०७३ मा नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपालबाट टीका लगाएर औपचारिक राजनीति सुरु गरेका साह २०७९ वैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएका हुन्।

जिल्ला सदरमुकाम गौर नगरपालिकालाई समृद्ध बनाउन सेवाको भावनाले चौतर्फी विकास गर्ने लक्ष्य लिएर अगाडि बढेको बताउने नगरप्रमुख साहसित नागरिककर्मी मदन ठाकुरले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले गौर नगरपालिकाको नेतृत्व सम्हालेपछि पहिलेभन्दा के परिवर्तन भएको छ?

मैले गौर नगरपालिकाको नेतृत्व सम्हाल्नुभन्दा पहिले गौर धेरै क्षेत्रमा कालोसूचीमा परिसकेको थियो। गौरलाई निकै मिहिनेत गरेर कालोसूचीबाट निकाल्न सफल भएँ। विकास निर्माणका क्षेत्रमा हेर्ने हो भने पहिले बाँकी रहेका अधुरा काम गरेको छु। कतिपय काम गरिरहेको छु।

तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको झोलुंगे पुलको निर्माण गरेको छु, अर्को झोलुंगे पुलको निर्माण भइरहेको छ र तेस्रो पुल बनाउने प्रक्रिया अगाडि बढाएका छौं। गौरमा भव्य टाउन हलको निर्माण भइरहेको छ।

पहिले शिलान्यास भइसकेको घन्टाघरमा समस्या आएपछि आफूले समाधान गरेर पुनः शिलान्यास गरी अहिले करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। छिटै यसले गौरको गरिमा र सौन्दर्य बढाउने छ।

निर्वाचित भएर शपथ लिनासाथ विद्यालय र स्वास्थ्य चौकीको अनुगमन निरीक्षण गर्नेदेखि लिएर अन्य काममा निकै सक्रियता बढाउनुभएको छ नि?

हो, सम्भव भएसम्मको समय म जनताको सेवामा दिइरहेको छु। जहाँ कुनै कार्यालयबाट गुनासो आउँछ, त्यहाँ म आफैं पुग्छु। समस्या के हो, त्यो सम्भव भएसम्म तत्काल समाधान गर्ने प्रयास गर्छु।

यसै क्रममा केही विद्यालय, केही स्वास्थ्य चौकी र अन्य कार्यालयमा पुगेको छु। त्यहाँको समस्या बुझेको छु र समस्याको कारण पनि बुझेको छु। कारण बुझेपछि समाधान गर्न सजिलो भएको छ।

यसै कारण पहिले नचलेका विद्यालय पनि चलेका छन्, समयभरि पढाइ भइरहेको छ, विद्यार्थीले गुणस्तरीय खाजा खान पाएका छन्।

स्वास्थ्य चौकीमा समयभर स्वास्थ्यकर्मी बस्ने गरेका छन्, वडा कार्यालयहरू दिनभर खुल्ने गरेका छन्। नगरवासीले साँझमा उज्यालो पाइरहेका छन्। मैले नयाँ केही गरेको छैन तर सर्वसाधारणले पाउने सुविधामा भने वृद्धि भएको छ। नगरवासी सोझै नगर प्रमुखसमक्ष आफ्नो समस्या राख्न सकिरहेका छन्।

संघीय सांसद तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रतिबद्धता व्यक्त गरेको तथा गौर नगरपालिकाले बजेटसमेत विनियोजन गरेको गौर राइस मिलको अधिग्रहण कहिले हुन्छ?

प्रक्रिया जिल्ला प्रशासन कार्यालय रौतहटबाट अगाडि बढ्नुपर्ने हो। पालिकाबाटै प्रक्रिया अगाडि बढाउनू भन्ने जिल्ला प्रशासन कार्यालयको भनाइ हुन्छ। पहिलेका प्रजिअले प्रक्रिया बुझ्दाबुझ्दै आलटाल भयो। अहिलेका प्रजिअसित पनि सबै कुरो राखिसकेको छु। चालु आर्थिक वर्षभित्र जसरी भए पनि अधिग्रहण गर्छु भन्ने लागेको छ।

गौर नगरपालिकाको कायापलटका लागि कस्तो रणनीति बन्दैछ?

पहिले शिक्षाको कमजोरीलाई सुधारेको छु। पहिले जुद्ध माध्यमिक विद्यालयमा लफडा भइरहन्थ्यो, तालाबन्दी हुन्थ्यो, झैझगडा भइरहन्थ्यो तर अहिले पठनपाठनबाहेक राजनीति हुँदैन।

गौर नगरपालिकामा रहेका ४ माध्यमिक विद्यालयमध्ये एउटा मात्र स्वीकृत छ र त्यसबमोजिमको दरबन्दी रहेको छ। बाँकी तीन विद्यालयलाई नगरपालिकाले नै व्यवस्थापन गर्नुपर्छ। पहिले प्राविका शिक्षकहरूले मावि चलाएका थिए तर अहिले विषयगत शिक्षकले पढाउने काम गरिरहेका छन्।

जुद्ध माविमा डिजिटल प्रविधिमा पढाइ हुन्छ। शिशु कक्षादेखि २ कक्षासम्म स्मार्ट टेलिभिजन अर्थात् स्क्रिनका माध्यमले पठनपाठन भइरहेको छ। यसले गर्दा बोर्डिङभन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ।

विद्यार्थीको चाप निकै नै बढेको छ पहिलेको तुलनामा। नगरले धेरै शिक्षक विद्यालयहरूमा विषयगत रूपमा उपलब्ध गराएको छ।

गौरमा रहेको प्रादेशिक अस्पताल मेसुविहीन छ। कर्मचारीहरूको लापर्बाही रहेको छ। साथै, औषधीको पनि अभाव छ र प्रदेश सरकारले ध्यान नदिँदा अस्पताल अलपत्रजस्तो बनेको छ तर नगरपालिकामा नौवटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छन्।

एउटा बर्थिङ सेन्टर छ। अर्को एउटा बर्थिङ सेन्टर निर्माण हुन लागेको छ। पहिले करारका स्वास्थ्यकर्मीका लागि ७० लाख रूपैयाँ आउँथ्यो तर सरकारले अहिले रोकिसकेको भए पनि नगरले आफ्नै स्रोतमा कर्मचारी राखेको छ र औषधी पनि दिइरहेको छ। गौरका प्राथमिक स्वास्थ्य केन्द्रहरू राम्ररी सञ्चालित छन्।

गौरको शिक्षाको अवस्था कस्तो छ?

जिल्लाको सदरमुकाम भए पनि गौरको शैक्षिक अवस्था सन्तोषजनक छैन। म नगरप्रमुखमा निर्वाचित हुनुभन्दा पहिलेसम्म त विद्यालय हुने तर पढाइ नहुने अवस्था थियो। कतिपय विद्यालयमा शिक्षक र कर्मचारी नजाने वा आलोपालो गरेर जाने गरेको अवस्था थियो।

अहिले त्यो समाधान भएको छ तर नगर क्षेत्रमा विद्यार्थीको चाप धेरै छ, शिक्षकको दरबन्दी ज्यादै कम छ। भौतिक पूर्वाधारको अभाव छ। जता हेर्‍यो, उतै अनेक कमीकमजोरी देखिन्छन्। नगरपालिकाको स्रोतबाट ७०/८० जना शिक्षकहरूको नियुक्ति त भएको छ तर यस्ता कतिपय शिक्षक केवल कार्यकर्ता व्यवस्थापनका लागि आएका छन्।

नगरपालिकाको स्रोत र साधनको दोहन भएको छ तर उपलब्धि प्राप्त भएको छैन। नगरपालिकाबाट करारमा नियुक्ति दिइएका शिक्षकलाई पुनः लिखित र मौखिक परीक्षा लिएर सक्षमलाई मात्र राख्नुपर्ने अवस्था छ।

यदि त्यतिले पनि पुग्दैन भने सरकारसित दरबन्दी माग गर्छौं र हामीले पनि थप दरबन्दी सिर्जना गर्छौं। शिक्षाको क्षेत्रमा नगरपालिकाले ज्यादै नै धेरै काम गर्नुपर्ने छ। सबै समस्या एकैचोटि समाधान हुँदैन तर बिस्तारै हामीले कोसिस गरिरहेका छौं।

जिल्लाको गौरवका रूपमा रहेको जुद्ध माविमा पढाइभन्दा बढी राजनीति हुने गरेको सबैले बुझेको सत्य हो। केही कारणले जुद्ध माविको निर्माणाधीन छात्रावास रोकिएको छ कि त त्यसलाई बनाउनुपर्‍यो कि त अर्को ठाउँमा एउटा व्यवस्थित छात्रावास बन्नुप¥यो।

गौरमा पर्यटनका लागि के भइरहेको छ?

बरहथवा तालमा पहिले करिब ३३ करोड रूपैयाँ खर्च भइसकेको छ, पूर्व नगरप्रमुखको कार्यकालमा। गौरका नाला तथा ट्वाइलेटको पानी बरहवामै खसाल्दा फोहोर भइसकेको छ। फोहोर पानीलाई अन्यत्र व्यवस्थापन गर्ने हो भने सफा हुन्छ। अर्को कुरो पानीको अभाव पनि हुन सक्छ। तर जबसम्म शौचालय र नालाको पानी व्यवस्थापन गर्न सकिँदैन, बरहथवा ताललाई विकास गर्न कठिन छ।

अर्को बकैया नदीलाई वैकल्पिक तालको रूप दिन सकिन्छ। जहाँ शुद्ध हावा, शुद्ध पानी, शुद्ध पर्यावरण प्राप्त हुनुका साथै खुला ठाउँ हुन सक्छ। यसका लागि बजेटको व्यवस्थापन गर्न लागेका छौं।

कतैबाट व्यवस्था भयो भने यो निकै महत्वपूर्ण उपलब्धी हुने छ। बकैया नदीको किनारमा रहेको बालेश्वर महादेव मन्दिरलाई देशको सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएका छौं। पुरातत्त्व विभागबाट उत्खनन हुने प्रक्रियामा छ। शिवालय पोखरीमा डुंगा व्यवस्थापन गरिसकेका छौं।

तपाईं जनता दरबार पनि चलाइरहनु भएको छ, नि?

बुद्धिजीवीको सुझाव तथा सर्वसाधारणको आवश्यकतालाई महसुस गरेर जनता दरबार चलाउने गरेको छु। जनता दरबारमा म आफैं, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत उपस्थित हुने गरेका छौं। जुन वडामा जनता दरबार हुन्छ, त्यहाँका वडाध्यक्ष, वडाका सबै विद्यालयका प्रधानाध्यापक, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको हुन्छ।

जनता दरबारको सूचना पहिले नै सार्वजनिक गरिएको हुन्छ। सर्वसाधारणलाई त्यहाँ आउन आग्रह गरिएको हुन्छ। जनता दरबारमा जनता नै ठुला हुन्छन्। सोझै सबैका अगाडि आफ्नो समस्या राख्न सक्छन्।

समस्याको सोझै समाधान गर्ने प्रयास हुन्छ। जुन कार्यालयसित सम्बन्धित समस्या हुन्छ, त्यहाँ सोझै समाधानका लागि भनिन्छ। यदि प्राविधिक विषय रहेछ भने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। कतिपय समस्या नगरपालिकाको क्षेत्राधिकारभन्दा बाहिर हुन्छ। त्यस्तामा कानुनअनुसार गर्ने सुझाव दिइन्छ।

मुख्य गरी विकास, निर्माण, शिक्षा तथा प्रशासनिक विषयमा जनता दरबारमा समस्या आएका हुन्छन्।

प्रकाशित: ९ माघ २०८० ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App